पत्रकार हुन परीक्षाः कतै दिनुपर्छ, कतै पर्दैन

South Asia Check / बिहीबार, मंसिर १९, २०७६

 

प्रेस काउन्सिल नेपालले भर्खरै तयार पारेको प्रतिवेदनले पत्रकार बन्नका लागि अनिवार्य रूपमा परीक्षा दिनुपर्ने व्यवस्था सिफारिस गरेपछि सो व्यवस्थाको समर्थन र विरोधमा सामाजिक सञ्जालमा व्यापक छलफल भएको छ ।

प्रतिवेदन बनाउने कार्यदलका सदस्यहरूले भने यस्तो व्यवस्था अरू देशहमा पनि रहेको भन्दै सो नियमनको बचाउ गरेका छन् ।

हामीले अरू देशमा पनि यस्तो व्यवस्था छ कि छैन भनेर विभिन्न देशका पत्रकारहरूलाई उनीहरू त्यस्ता नियमन छ कि छैन भनी सोध्यौं ।

दक्षिण एशियामा भारत, पाकिस्तान, बाङ्गलादेश, श्रीलङ्का, भुटान कहिँ पनि पत्रकार हुनको लागि अनिवार्य रुपमा परीक्षा दिनुपर्ने व्यवस्था छैन । विगतमा भारतमा पनि पत्रकारहरूका लागि परीक्षा अनिवार्य गर्नुपर्ने कुराहरू उठे पनि त्यस्तो व्यवस्था लागू गरिएन।  सन् २००७ मा त्यहाँको सर्वोच्च अदालतले सो अदालतबाट रिपोर्टिङ् गर्न चाहिने प्रवेशपत्र प्राप्त गर्न पत्रकारले कानुन पढेको हुनुपर्ने र ३.५ वर्ष वा सो भन्दा बढी पत्रकारिताको अनुभव हुनुपर्ने लगायतका नियम बनाएको थियो, जुन भर्खरै फेरबदल गरिएको थियो ।

त्यसैगरी अमेरिकामा पनि प्रेस पास प्राप्त गर्न अनिवार्य परीक्षाको व्यवस्था छैन। तर प्रेस पास कसले पाउँछ भन्ने बारे गरिएको एक अध्ययन अनुसार अमेरिकामा प्रेस पास पाउन सजिलो चाहिँ छैन ।

बेलायतमा पत्रकारिता पेशा अपनाउन परीक्षामा दिनुपर्ने चलन छैन। त्यहाँ स्थित नेशनल काउन्सिल फर द ट्रेनिङ् अफ जर्नलिस्टस् बाट प्रशिक्षण लिएका पत्रकारलाई केहि सञचारगृहले प्राथमिकता दिए पनि सो संस्थाबाट प्रशिक्षण लिनैपर्छ भन्ने छैन।

इटलीमा भने पत्रकार (फ्रोफेशनल जर्नलिस्ट्) हुन, पहिले १८ महिनाको इन्टर्नसीप गर्नुपर्छ । त्सपछि लिखित र मौखिक परीक्षामा पास भएपछि मात्र अर्डर अफ जर्नलिस्ट्सको सदस्यता पाएर व्यवसायिक पत्रकारका रूपमा काम गर्न पाइन्छ । इटलीमा आर्थिक मन्दि बढेसँगै यो लामो र झन्झटिलो प्रक्रिया धेरैं समाचारकक्षमा अनिवार्य रूपमा लागू भएको छैन ।

इक्वेडरमा भने परम्परागत मिडियामा (अनलाइनबाहेक) पत्रकार हुनका लागि अनिवार्य परीक्षा नचाहिए पनि, पत्रकारिता पढेको चाहिँ हुनुपर्छ।

साउथ अफ्रिका, सिंगापुर, मलेसियामा पनि पत्रकारहरूका लागि अनिवार्य परीक्षाको व्यवस्था छैन ।

 

भृकुटी राई / सोमबार, साउन ३१, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री