नयाँ संविधानको नागरिकता प्रावधान महिलाप्रति विभेदकारी

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

तस्वीर साभार – फस्बुक ग्रुप सिटिज्न्सीप इन् दि नेम अफ् मदर

नयाँ संविधान बन्दै गर्दा सामाजिक सञ्जालमा नागरिकताका सम्बन्धमा संविधानले महिला र पुरुषका लागि असमान ब्यबहार गरेको छ भनी छलफल भइरहेको छ ।

साउथ एशिया चेकले यी छलफल तथ्यमा आधारित छन् कि छैनन भनेर जान्न हालै संविधान सभाबाट पारित विधेयक अध्ययन गर्नुका साथै विशेषज्ञ तथा एक्टिभिस्टसँग कुराकानी गर्‍यो ।

छलफलको बुँदा १

नेपाली आमाबाट विदेशमा जन्मेका (बाबु पत्ता नलागेका वा विदेशी बाबुले अस्वीकार गरेका) बालबालिकाले नेपाली नागरिकता पाउँदैनन् । यसका केही उदाहरणः

क- विदेशमा रहँदा बलात्कृत भई त्यहाँ गर्भपतन गर्न नपाइ जन्मेका बालबालिका ।

ख- विदेशी पुरुषसँग बिहे गरेर विदेशमै बसोबास गरी विदेशमै बच्चा जन्माएकी, विदेशको नागरिकता नलिएकी, कुनै कारणले विदेशमा नबस्ने भइ नेपाल आएकी नेपाली महिलाका बालबालिका ।

संवैधानिक प्रावधान

संविधान सभाले पारित गरेको संविधान विधेयकको धारा ११ को उपधारा ५ मा “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ” भन्ने प्रावधान छ। माथिको परिस्थितिमा विदेशमा जन्मेका बालबालिकाको नागरिकताका सम्बन्धमा संविधानले केही भनेको छैन ।

त्यसैले, नागरिकतासम्बन्धी संघीय कानुनले यस्तो व्यवस्था नगरेमा माथिको अवस्थाका नेपाली आमाका सन्तानले नेपाली नागरिकता पाउँदैनन् भन्ने दाबी सही देखिन्छ ।

छलफलको बुँदा २

 

नेपाली पुरुषले बिहे गरेकी विदेशी महिला र नेपाली महिलाले बिहे गरेका विदेशी पुरुषले नेपाली नागरिकता पाउने प्रावधान समान छैन ।

संबैधानिक प्रावधान

धारा ११ को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ भनिएको छ। तर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको विदेशी पुरूषले नेपालको अंगीकृत नागरिकता लिन सक्ने वा नसक्ने विषयमा यो धाराले केही भनेको छैन।

त्यसैले माथिको भनाइ सही छ ।

(सुजित मैनाली र भृकुटी राई)

साउथ एशिया चेक / बिहीबार, भाद्र ३१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री