ब्रसेल्सबाट सार्वजनिक प्रतिवेदनमा मधेसीको संख्या बढाइचढाइ

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

ब्रसेल्सस्थित ‘इन्टरनेसनल क्राइसिस ग्रुप’ले ४ अप्रिल २०१६ मा सार्वजनिक गरेको ‘नेपालको विभाजनकारी संविधानः अस्तित्वको संकट‘ शीर्षकको प्रतिवेदनले मधेसी र थारु समुदाय नेपालको कुल जनसंख्याको एक–तिहाइभन्दा बढि रहेको दाबी गरेको छ।

‘आन्दोलनरत मधेसी र तराईको सानो जनजाति थारु समूदाय, जो नेपालको कुल जनसंख्याको एक–तिहाइभन्दा बेसी छन्…’ प्रतिवेदनमा भनिएको छ।

साउथ एसिया चेकले प्रतिवेदनमा गरिएको यो दाबी सही छ/छैन भनि जाँचेको छ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो जनगणनाअनुसार मधेसी (१९.३ प्रतिशत) र थारु (६.६ प्रतिशत) नेपालको कुल जनसंख्याको २५.९ प्रतिशत छन्।

इन्टरनेसनल क्राइसिस ग्रुपको प्रतिवेदनमा थारुहरू नेपालको कुल जनसंख्याको सात प्रतिशत छन् भनिएको छ, जुन लगभग सही छ।

तराईका मुसलमान समुदाय पनि मधेस आन्दोलनमा छन्। पहाडी क्षेत्रमा पनि मुसलमान समुदायको बसोबास छ। तर पनि नेपालका प्रायः मुसलमान तराई क्षेत्रमा बस्छन्।

मधेसी र थारुको संख्यामा नेपालका सबै मुसलमानको संख्या (४.४ प्रतिशत) थप्दा पनि आन्दोलनरत समुदायको संख्या ३०.३ प्रतिशत मात्रै पुग्न जान्छ, जुन नेपालको कुल जनसंख्याको एक–तिहाईभन्दा कम हो।

प्रतिवेदनले मधेसीलाई ‘जातपातमा आधारित तराईवासी हिन्दु, जो समथल भागमा बोलिने मैथिली, भोजपुरीजस्ता भाषा बोल्छन् र सीमापारी उत्तर भारतसँग जसको वृहत आर्थिक, सामाजिक र पारिवारिक सम्बन्ध छ’ भनेको छ।

यो परिभाषाले तराईमा बस्ने मुसलमान समुदायलाई मधेसी समुदायबाट अलग गरेको छ। किनभने मुसलमानहरू जातपातमा आधारित वर्णव्यवस्थाअन्तर्गतका हिन्दु होइन।

तसर्थ, इन्टरनेसनल क्राइसिस ग्रुपको प्रतिवेदनले मधेसी समुदायको संख्या बढाइचढाइ गरेको छ।

 

 

सुजित मैनाली / बिहीबार, चैत्र २५, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री