इन्टरनेसनल क्राइसिस ग्रुपको नेपालसम्बन्धी रिपोर्टमा सुधार

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

ब्रसेल्सस्थित इन्टरनेसनल क्राइसिस ग्रुपले सार्वजनिक गरेको नेपालसम्बन्धी पछिल्लो प्रतिवेदनमा संसोधन भएको छ। ४ अप्रिल २०१६ मा सार्वजनिक भएको ‘नेपालको विभाजनकारी संविधानः अस्तित्वको संकट‘ शीर्षकको प्रतिवेदनमा मधेसीहरूको जनसंख्यालाई बढाइचढाइ गरिएको थियो। प्रतिवेदनमा मधेसी र थारु समुदाय नेपालको कुल जनसंख्याको एकतिहाइ भन्दा बेसी छन् भनि दाबी गरिएको थियो, जुन गलत थियो। साउथ एसिया चेकले तथ्य जाँच गर्दा के पायो भने मधेसी (१९.३) र थारु (६.६ प्रतिशथ) को संख्यामा नेपालभरका मुसलमान (४.४ प्रतिशत) को संख्या थप्दा पनि मधेस आन्दोलनमा संलग्न समुदायको कुल जनसंख्या नेपालको एक तिहाईभन्दा कमै हुन्छ। यो तथ्य जाँच प्रकाशित भएपछि इन्टरनेसनल क्राइसिस ग्रुपले प्रतिवेदनमा सुधार गर्दै ‘मधेसी र थारु नेपालको कूल जनसंख्याको झण्डै एकतिहाइ छन्’ भनी लेख्यो। साथै, पादटिप्पणीमा ‘मधेसी’ शब्दको परिभाषा पनि बदल्यो। सुधारिएको प्रतिवेदनमा ‘मधेसी’ शब्दलाई ‘जातपातमा आधारित तराईवासी हिन्दू र मुसलमान, जो समथल भागमा बोलिने मैथिली, भोजपुरीजस्ता भाषा बोल्छन् र सीमापारि उत्तर भारतसँग जसको वृहत आर्थिक, सामाजिक र पारिवारिक सम्बन्ध छ’ भनिएको छ। यसअघि प्रतिवेदनले ‘मधेसी’ समूहबाट तराईमा बसोबास गर्ने मुसलमान समुदायलाई अलग गरेको थियो। पुरानो संस्करणमा जस्तै सुधारिएको प्रतिवेदनको ‘शब्दार्थ’ खण्डमा भने ‘मधेसी’ शब्दले मुसलमानलाई बुझाउँदैन। 

 

सुजित मैनाली / सोमबार, बैशाख ६, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री