भूकम्पः सहयोग गर्ने वाचा

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

भवन मात्रै भत्केको त, एकापसमा सहयोग गर्ने हाम्रो मन त भत्केको छैन नि ! धादिङको जोगीमाराको स्कूलका विद्यार्थी ।

भूकम्पः सहयोग गर्ने वाचा

 

परोपकारी संस्था फूलकुमारी महतो मेमोरियल ट्रस्ट

गैरआवाशीय नेपाली अर्बपति उपेन्द्र महतोले भूकम्प पीडितहरुको राहत तथा पुनःस्थापनाका निम्ति १५ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए । यसमध्ये १२ करोड रुपैयाँ भूकम्पको ठूलो मारमा परेका ठाउँका भत्किएका स्कूल बनाउन र बाँकी रकम राहत सामग्रिमा खर्च गरिने उनले बताएका थिए । यी सबै काम महतोले आमाको नाममा स्थापना गरेको परोपकारी संस्था फूलकुमारी महतो मेमोरियल ट्रस्टमार्फत गरिने उनले उल्लेख गरेका थिए ।

नेपाल उद्योग परिसंघ

नेपाल उद्योग परिसंघले भूकम्पका कारण घरवारविहिन मानिसका निम्ति एक लाखवटा घर बनाउने घोषणा गरेको थियो । ह्याबिट्याट फर ह्युम्यानिटीसँगको समन्वयमा यी घर निर्माण गर्ने परिसंघले जनाएको थियो ।

चौधरी ग्रुप

चौधरी ग्रुपले भूकम्पका कारण घरवारविहीन भएकाहरूका लागि एक हजारवटा अस्थायी घर बनाउने घोषणा गरेको थियो । यसका लागि उसले एक करोड रुपैयाँ छुट्याएको जनाएको थियो ।

साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वयमा चौधरी ग्रुपले घरवारविहीन भएकाहरूका लागि थप नौ हजार वटा घर बनाउने घोषणा गरेको थियो । उसले भूकम्पले भत्काएका एक सय वटा सार्वजनिक विद्यालय पुनःनिर्माण गर्ने आश्वासन दिएको थियो । यी सब काम गर्न २५ करोड रुपैयाँ छुट्याइएको उसले जनाएको थियो ।

गोल्छा अर्गनाइजेसन

गोल्छा अर्गनाइजेसनले ह्याबिट्याट फर ह्युम्यानिटीसँग समन्वय र सहकार्य गरी भूकम्पबाट घरबारविहीन भएकाहरूका लागि एक हजारवटा घर बनाइदिने घोषणा गरेको थियो । यसका लागि उसले ५३ करोड रुपैयाँ छुट्याइएको जनाएको थियो । साथै, अन्य निकायहरूसँगको सहकार्यमा भूकम्प पीडितहरूका निम्ति थप योजना ल्याउनेसमेत उसले जनाएको थियो ।

नेपाल सरकार

प्रधानमन्त्री सुशील कोइरालाले ०७२ बैशाख २५ गते बसेको व्यवस्थापिका–संसद्को आकस्मिक अधिवेशनको बैठकलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका थिएः

  • आफन्त गुमाएका परिवारलाई नेपाल सरकारले तात्कालीन राहत स्वरूप मृतकहरूको अन्तिम संस्कार गर्न प्रतिमृतक ४० हजार रुपैयाँ दिने ।
  • मृतकका परिवारलाई प्रतिपरिवार राहतस्वरूप एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने ।
  • भूकम्पका कारण घाइते भएका सबैलाई सरकारी तथा गैरसरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।भूकम्पग्रस्त जिल्लाका अभिभावक गुमाएका र आश्रयविहीन बनेका बालबालिकाका लागि आश्रय र निःशुल्क शिक्षाको व्यवस्था गर्ने ।
  • आफ्नो घर मर्मतसम्भार गरी घरमा बस्न चाहनेलाई तत्कालका लागि प्रतिपरिवार २५ हजार रुपैयाँ अनुदान दिने।
  • वर्षे बालीका लागि भूकम्प पीडित क्षेत्रका किसानलाई बिउबिजन निःशुल्क र मलखाद सहुलियतपूर्ण ढंगले उपलब्ध गराउने । साथै, भूकम्प पीडित क्षेत्रमा मालपोत मिनाहा गरिने ।
  • आर्थिक अवस्था र क्षति हेरी भूकम्पग्रस्त क्षेत्रका ऋणीको ५० हजार रुपैयाँसम्मको साँवा र ब्याज मिनाहा गर्ने ।
  • सरकारले तोकेको मापदण्डको आधारमा आफैले घर निर्माण गर्न चाहनेहरुका लागि कार्यविधिको आधारमा सरकारले दुई लाखसम्म सहयोग गर्ने ।
  • क्षतिग्रस्त घर पुनर्निर्माण गर्न चाहने पीडित परिवारले ऋण लिन चाहेमा दुई प्रतिशतको सहुलियत ब्याजदरमा उपत्यकाभित्र २५ लाख रुपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म घरकर्जा उपलब्ध गराउने ।
  • भूकम्पबाट भत्किएका ऐतिहासिक, धार्मिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको मौलिकता संरक्षण हुने गरी बढीमा पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने ।

नेपाल सरकार

अर्थमन्त्री रामहरण महतले आर्थिक वर्ष २०६२/६३ को बजेट वक्तव्य सार्वजनिक गर्ने क्रममा भूकम्पपछिको राहत र पुननिर्माणलाई लक्षित गरेर निम्न घोषणा गरेका थिए :

  • आगामी पाँच वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने दृढ अठोटका साथ सरकार अघि बढिरहेको छ ।
  • विशेष अधिकारसहितको उच्चतम नेतृत्व, सुनिश्चित आर्थिक स्रोत, निर्दिष्ट कार्यक्षेत्र, नागरिक पृष्ठपोषणको व्यवस्था, चुस्त व्यावसायिक संरचनाको रुपमा स्थापित पुनर्निर्माण प्राधिकरणलाई छिट्टै पूर्णता दिइनेछ ।
  • राष्ट्रिय योजना आयोगले गरेको विपद्पछिको आवश्यकता पहिचान अध्ययनको आधारमा पुनर्निर्माणको पहिलो चरणको लागत करिब रु. ६ खर्ब ७६ अर्ब हुने देखिएको छ । पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन यस्तो खर्च ‘राष्ट्रिय पुनर्निर्माण कोष’बाट व्यवस्थापन गरिनेछ । यस कोष अन्तर्गत आन्तरिक र बाह्य स्रोतबाट सञ्चालित हुने परियोजना र नगदका साथै पुनर्निर्माण कार्यमा आम नागरिकको सहभागिता र अपनत्व बढाउन पुनर्निर्माण ऋणपत्र जारी गरी सङ्कलित रकम जम्मा गरिनेछ । आर्थिक वर्षको मध्यमा प्राप्त हुने रकमसमेत यसैमा जम्मा हुने व्यवस्था मिलाएको छु । आगामी आर्थिक वर्षका लागि यस कोषमा रु. ७४ अर्ब विनियोजन गरेको छु । यसमध्ये आवासका लागि रु. ५० अर्ब, सार्वजनिक भवनका लागि रु. ३ अर्ब, पुरातात्विक संरचनाका लागि रु. २ अर्ब, अन्य भौतिक पूर्वाधारका लागि रु. ७ अर्ब, उत्पादन क्षेत्रका लागि रु. ६ अर्ब र सामाजिक क्षेत्रका लागि रु. ६ अर्ब खर्च गरिनेछ ।
  • पुनर्निर्माण प्राधिकरणको काम सुरू नगरेसम्म व्यक्तिगत घर, सरकारी भवन, विद्यालय तथा स्वास्थ्य संस्था, पुरातात्विक र सांस्कृतिक सम्पदा एवं भौतिक पूर्वाधारको पुनर्स्थापना र पुनर्निर्माणको कार्य विषयगत मन्त्रालय र निकायहरूबाट हुने व्यवस्था मिलाएको छु । राष्ट्रिय पुननिर्माण कोषबाट हुने खर्चबाहेक यसका लागि रु. १७ अर्ब विनियोजन गरेको छु ।
  • भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घर निश्चित मापदण्डका आधारमा आफैले निर्माण गर्न चाहनेहरूका लागि स्वीकृत कार्यविधिका आधारमा रु. २ लाखसम्मको सहायता सहज रुपमा उपलब्ध गराउने व्यवस्था गरेको छु । यस्तै, क्षतिग्रस्त घर पुनर्निर्माण गर्न चाहने पीडित परिवारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन चाहेमा सरल प्रक्रिया अपनाई नेपाल राष्ट्र बैंकले तर्जुमा गरेको कार्यविधिको आधारमा २ प्रतिशतको सहुलियत ब्याजदरमा काठमाडौं उपत्यकाभित्र २५ लाख रुपैयाँसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म भूकम्प पीडित विशेष आवास कर्जाको व्यवस्था यसअघि नै गरिसकिएको छ ।
  • भूकम्पबाट असर परेको आवासीय घर, कृषि, व्यवसाय तथा पर्यटनलगायत क्षेत्रलाई पुनर्कर्जा उपलब्ध गराउन तथा ब्याज सहुलियत प्रदान गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत आर्थिक पुनरुद्वार कोष स्थापना गरिनेछ । भूकम्प प्रभावितहरूका लागि कर्जा नोक्सानी व्यवस्था, कर्जाको पुनर्तालिकीकरण, आम्दानी खर्च लेखाङ्कनको समायावधि थप र पूँजी गणनाका सम्बन्धमा गरिएको घोषणालाई निरन्तरता दिइनेछ ।
  • भूकम्प प्रभावित क्षेत्रमा खानेपानीका मुहानमा परेको असरलाई सम्बोधन गरी खानेपानी तथा सरसफाइका क्षतिग्रस्त संरचना तत्काल पुनर्निर्माण र पुनस्थापना गर्न आवश्यक बजेट बिनियोजन गरेको छु । भूकम्प अतिप्रभावित जिल्लामा पुनर्निर्माण, पुनस्थाापना वा नयाँ निर्माण गर्नुपर्ने खानेपानी तथा सरसफाइ आयोजनाहरूमा स्थानीय उपभोक्ताको योगदान बापत व्यहोर्नुपर्ने लागतको ३० प्रतिशत खर्च सरकारले व्यहोर्ने व्यवस्था मिलाएको छु ।
  • क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सीप विकास तालीम केन्द्रहरूबाट आधारभूत विषयमा जिल्ला तहमा नै ५० हजार युवालाई सिकर्मी, डकर्मीलगायत धारा तथा बिजुली सम्बन्धी तालीम प्रदान गरिनेछ । यस्तो सीप तथा ज्ञानको प्रमाणीकरण गरिनेछ । गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने यस्ता कार्यक्रम पनि सीप विकास तालीम केन्द्रहरूबाटै मूल्याङ्कन गर्ने व्यवस्था मिलाइनेछ ।
  • भूकम्पका कारण आफ्नो थातथलोबाट विस्थापित भई अन्यत्र बसोबास गरिरहेका जनसमूदायको पुनःस्थापना र पुनर्वासको तत्काल प्रबन्ध गरिनेछ । यस सम्बन्धी विस्तृत अध्ययन गरी उपयुक्त नीति र योजनासहित जोखिमपूर्ण भू–बनोट भएका स्थानबाट सम्भव भएसम्म नजिकको सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
  • भूकम्पले क्षति गरेका ऐतिहासिक सम्पदा, मठमन्दिर, गुम्बा, मस्जिद र संरचनालाई तिनको मौलिक तथा सांस्कृतिक स्वरुप कायमै राख्ने गरी आधुनिक प्रविधिका साथ निर्माण गरिनेछ । यसमा उपलब्ध भएसम्म स्वदेशी वस्तु तथा श्रमको उपयोग गरिनेछ । यिनको निर्माणमा ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ अभियान सञ्चालन गरिनेछ । यसका लागि राष्ट्रिय पुनर्निर्माण कोषअन्तर्गत छुट्टै सम्पदा कोष व्यवस्था गरी स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले रकम जम्मा गर्न सक्ने व्यवस्था गरिनेछ । सम्पदा कोषमा आम नेपालीको अपनत्व र योगदान बढाउन दूरसञ्चार सेवा दस्तूरमा १ प्रतिशत थप गरी उक्त रकम जम्मा गर्ने प्रबन्ध गरेको छु । नेपाल सरकारले स्वीकृत गरेको ढाँचा, स्वरुप र गुणस्तर कायम हुने गरी स्वदेशी तथा विदेशी संस्थाले यस्ता सांस्कृतिक सम्पदाको निर्माण गर्न चाहेमा निर्माण अनुमति दिइनेछ । क्षतिग्रस्त पुरातात्विक तथा सांस्कृतिक सम्पदास्थलको वरिपरि रहेका व्यक्तिगत घरहरूलाई समेत सो स्थलको सांस्कृतिक महत्त्व झल्किने किसिमले पुनर्निर्माण गर्न प्रोत्साहन गरिनेछ ।

साउथ एशिया चेक / बुधबार, साउन २७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री