दोस्रो संविधान सभाको चुनावमा राप्रपा-नेपालले झापामा भन्दा काठमाडौंमा राम्रो गरेको थियो

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिबेशनमा बोल्दै गएको निर्वाचनमा राप्रपा नेपालले सबैभन्दा बढी मत झापाबाट पाएको बताएका छन् ।

उनले भने, ‘राप्रपा को सबैभन्दा बढी भोट झापाबाट आएको छ 

राप्रपा भनेर देउवाले राप्रपा-नेपालतर्फ संकेत गरेक हुन् ।

उनले उक्त कुरा नेकपा एमालेका अध्यक्ष केपी ‍ओलीलाई शतर्क गराउँदै भनेका हुन्, जसको गृह जिल्ला झापा हो ।

साउथ एशिया चेकले शेरबहादुरको सो भनाइ सही छ कि छैन भनी जाँचेको छ ।

देउवाले राप्रपा-नेपालले प्रत्यक्ष निर्वाचन र समानुपातिक निर्वाचनमध्ये कुनमा सबैभन्दा बढी मत झापाबाट पाएका हुन् भनी खुलाएका छैनन् । त्यसैले साउथ एशिया चेकले यी दुबै निर्वाचनका आंकडा केलाएको छ ।

गएको संविधानसभाको निर्वाचनमा राप्रपा-नेपालले सबैभन्दा राम्रो गरेका जिल्ला झापा र काठमाडौँ हुन् । त्यसैले यहाँ यी दुईवटा जिल्लाका निर्वाचन परिणामका आधारमा देउवाको यो भनाइ सही हो कि होइन भनी जाँचिएको छ । यी दुई जिल्लाका निर्वाचन क्षेत्र र तिनमा खसेको मत परिणाम फरक फरक भएकाले मत संख्या होइन, मत प्रतिशतलाई आधार मानिएको छ ।

प्रत्यक्ष निर्वाचन

झापामा राप्रपा-नेपालले सो निर्वाचनमा प्रत्यक्षतर्फ कूल सदर मतको १०.४९ प्रतिशत पाएको थियो भने काठमाडौँमा ८.९७ प्रतिशत पाएको थियो । यस हिसाबले देउवाको उक्त भनाइ सही देखिन्छ ।

समानुपातिक निर्वाचन

समानुपातिक निर्वाचनतर्फ राप्रपा-नेपालले झापामा १३.९ प्रतिशत मत ल्याएको थियो भने काठमाडौँमा २५.२८ प्रतिशत मत ल्याएको थियो। यस हिसाबले भन्दा देउवाको उक्त भनाइ गलत देखिन्छ ।

समानुतपातिकतर्फको काठमाडौँको निर्वाचन परिणामको अर्को पाटोले पनि राप्रपा-नेपाल झापामा भन्दा काठमाडौँमा बलियो देखिन्छ ।

प्रत्यक्षतर्फ राप्रपा-नेपालले काठमाडौँमा एक सिट पनि जितेको थिएन । तर समानुपातिकतर्फ उसले ६ वटा निर्वाचन क्षेत्रमा अरू पार्टीभन्दा बढी मत हासिल गरेको थियो । तीनवटा निर्वाचन क्षेत्रमा ऊ दोस्रो स्थानमा थियो । एउटा निर्वाचन क्षेत्रमा मात्र उसले चौँथो स्थानमा झर्नु परेको थियो ।

झापामा उसले यस्तो सफलता पाएको थिएन ।

काठमाडौँमा प्रत्यक्षतर्फ निर्वाचन जितेका कांग्रेस र एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षतर्फको भन्दा कम मत ल्याएका थिए ।

मोहन मैनाली / सोमबार, फाल्गुण ९, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री