काम गर्ने कुलमान…

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जेठ १० गते कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘टफ टक‘मा भनेः

तीन वर्षअगाडि मैले पेश गरेको बजेटमा हेर्नुस्आगामी तीन वर्ष भित्र लोडसेडिङ कम्प्लिट हुन्छ किनभने हाम्रो इन्डियासँगको ट्रान्समिसन लाइन फुलफ्लेज कम्प्लिट हुन्छ  फुलफ्लेज कम्प्लिसन भएपछि इम्पोर्ट गर्न सक्छौँ।…तीन वर्षको टाइम फ्रेममा हुनसक्ने काम यति तीन वर्षको टाइमफ्रेममा हुन्छयति नयाँ आयोजनाबाट विजुली थपिन्छमेरो त्यो बखतमा पढ्नुभयो भने त्यही अनुसार भएको  

तीन वर्षअघि आफूले ल्याएको योजनाअनुसार अहिले मुलुक लोडसेडिङमुक्त भएको हो भन्ने डा. महतको दाबी पुरै गलत छ। आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार चालु आर्थिक वर्षमा विजुलीको कुल माग धान्नका लागि नभइ नहुने थप ४८२.९ मेगावाट विजुलीको आपूर्ति अझै हुन सकेको छैन। देशबाट लोडसेडिङ पूरै हटेको छैन, घटेको मात्रै छ।

डा. महतले ल्याएका निम्न दुई योजनाकै कारण अहिले लोडसेडिङ कम भएको चाहिँ हो/होइन भनी साउथ एशिया चेकले जाँचेको छः

पहिलो योजनाः अन्तरसीमा ट्रान्समिसन लाइनमार्फत भारतबाट विजुली ल्याएर लोडसेडिङ कम गर्ने।

दोस्रो योजनाः विजुलीको आन्तरिक उत्पादन बढाई लोडसेडिङ कम गर्ने।

तत्कालिन अर्थमन्त्री डा. महतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७१/७२ को बजेटमा ‘उर्जाः उज्यालो नेपाल समृद्ध नेपाल’ अभियानका साथ आगामी तीन वर्षभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसका लागि उनले बजेट भाषणमा अघि सारेका माथि उल्लेखित दुई योजनाकै कारण अहिले लोडसेडिङ कम भएको हो/होइन भनी हेरिएको छ।

पहिलो योजनाः अन्तरसीमा ट्रान्समिसन लाइनमार्फत भारतबाट विजुली ल्याएर लोडसेडिङ कम गर्ने।

डा. महतको योजनाः ढल्केवर–मुजाफ्फरपुरलगायत अन्तरदेशीय प्रशारण लाइनको निर्माण सम्पन्न गर्ने र यी प्रशारण लाइनमार्फत विद्युत आयात गरी खासगरी सुख्खा मौसममा लोडसेडिङ अन्त्य गर्ने योजना अघि सारिएको छ। (बजेट भाषणको बुँदा नं ५७)

हालको अवस्थाः अर्थमन्त्रालयले हालसालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण, २०७३/७४ अनुसार अहिले लोडसेडिङ कम हुनमा अन्तरसीमा प्रशारण लाइनमार्फत भारतबाट आयात गरिएको विजुलीको पनि हात छ (पृ १८९)।

तसर्थ, डा. महतको यो दावी सही छ।

दोस्रो योजनाः विजुलीको आन्तरिक उत्पादन बढाई लोडसेडिङ कम गर्ने।

डा. महतको योजनाः सार्वजनिक क्षेत्रबाट माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, चमेलिया र माथिल्लो त्रिशुलीबाट कूल ५६० मेगावाट विद्युत उत्पादन गर्ने। (बुँदा नं ५६)

हालको अवस्थाः आर्थिक सर्वेक्षण, २०७३/७४ अनुसार डा. महतले सम्पन्न हुने भनेका योजना माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, चमेलिया र माथिल्लो त्रिशुली विद्युत परियोजनाको निर्माण अझै सम्पन्न भइसकेको छैन। डा. महतले योजनामा पारेका यी परियोजनाबाट एक थोपा पनि विजुली उत्पादन भएको छैन। ( पृ १९०)

तसर्थ, डा. महतको यो दावी शतप्रतिशत गलत छ।

डा. महतको योजनाः निजी क्षेत्रबाट निर्माणाधीन ४२ वटा आयोजनाबाट ६२८ मेगावाट विद्युत उत्पादन गर्ने। (बुँदा नं ५६)

हालको अवस्थाः आर्थिक सर्वेक्षण, २०७३/७४ अनुसार गत वर्षको फागुन मसान्तसम्म निजी क्षेत्रबाट सञ्चालित जलविद्युत परियोजनाबाट उत्पादित ४२९.७ मेगावाट विजुली मात्रै नेसनल ग्रिडमा जोडिएको छ।

तसर्थ, लोडसेडिङ कम गर्न डा. महतको यो योजनाले भनिए जति काम गरेको छैन।

डा. महतको योजनाः काठमाडौं उपत्यकामा लोडसेडिङ कम गर्न २५ मेगावाट क्षमताको सौर्य उर्जा प्लान्ट जडान गर्ने। (बुँदा नं ५९)

हालको अवस्थाः आर्थिक सर्वेक्षणका अनुसार गत फागुन मसान्तसम्ममा नेपालमा १०० किलोवाट मात्र सौर्य उर्जा नेसनल ग्रिडमा जाेडिएकाे छ। (पृ १८९)

तसर्थ, डा. महतको यो योजनाले पनि लोडसेडिङ कम गर्न सहयोग पुगेको छैन।

विजुलीको आन्तरिक उत्पादन बढाउने डा. महतको योजनाका कुनै पनि काम सम्पन्न भइसकेका छैनन्। तसर्थ, उनको दाबी गलत छ।

 

सुजित मैनाली / बुधबार, जेठ १७, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री