कांग्रेस सरकारको पालामा मारिएका आन्दोलनकारीको संख्या बढाए केपी ओलीले

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

नेकपा–एमालेका अध्यक्ष केपी ओलीले २०७४ साल असार १२ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भनेः

‘विसं २०४८ सालमा हामीले २०४६ को आन्दोलनबाट बहुदलीय व्यवस्था ल्याएपछि चुनाव भयो। २०४८ मा हामी प्रमुख प्रतिपक्षी भयौं…नेपाली कांग्रेसले शान्तिपूर्ण जुलुशमा १२२ जना मान्छेको हत्या गर्‍यो, त्यो साढे तीन वर्षको अवधिमा।’

विसं २०४८ मा गठन भएर साढे तीन वर्षजति टिकेको नेपाली कांग्रेसको सरकारले शान्तिपूर्ण प्रदर्शनमा संलग्न १२२ जनालाई मारेको थियो भन्ने अध्यक्ष ओलीको दाबी सही छ/छैन भनि साउथ एशिया चेकले जाँचेको छ।

२०४६ को आन्दोलनपछि भएको पहिलो आम निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्यो। २०४८ वैशाखमा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।

कोइराला प्रधानमन्त्री बनेपछि सरकारविरुद्ध सरकारी कर्मचारीले गरेको आन्दोलनमा एमालेलगायत प्रतिपक्षी दलहरूले साथ दिए। प्रमुख प्रतिपक्षी दल नेकपा–एमाले र साना वाम दलहरूले विभिन्न विषयमा सरकारविरुद्ध आन्दोलन गरे। गिरिजा सरकारले गरेको टनकपुरसम्बन्धी सम्झौताको विरोधमा र रहस्यमय गाडी दुर्घटनामा एमाले नेता मदन भण्डारीको मृत्यू भएपछि घटनाबारे छानविन हुनुपर्ने माग गर्दै भएको आन्दोलनको नेतृत्व पनि एमाले नै गर्‍यो।

यी आन्दोलनमध्ये टकपुरसम्बन्धी सम्झौता र मदन मण्डारीको मृत्यूपछि भएको आन्दोलन बढी चर्किएको थियो। टनकपुर सम्झौताको विरोधमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १२ जनाको मृत्यू भएको थियो। त्यस्तै मदन भण्डारीको मृत्यूबारे छानविन हुनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २४ जना मारिएका थिए (जोन ह्वेल्पटन, अ हिस्ट्री अफ नेपाल, २००७, पृ १८९–९०, क्याम्ब्रिज युनिभर्सिटी प्रेस, संयुक्त अधिराज्य)

मानवअधिकारसम्बन्धी काम गर्ने संस्था इन्सेकले त्यतिबेला निकालेको वार्षिक प्रतिवेदन र त्यतिबेला प्रकाशित पत्रपत्रिकाहरू अध्ययन गर्दा पनि कोइराला सरकारका पालामा प्रहरीको गोली लागेर १२२ जनाको मृत्यू भएको देखिँदैन। त्यस अवधिमा प्रहरीको गोली लागेर ६० जना जति नागरिकको ज्यान गएको थियो।

तसर्थ, अध्यक्ष ओलीको दाबी गलत छ।

 

सुजित मैनाली / सोमबार, आषाढ १९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री