फेवा ताल मान्छेले बनाएको होइन

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नागरिक र रिपब्लिकालगायतका सञ्चारमाध्यमले पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरामा फेवा तालको क्षेत्र मिचेर रिसोर्ट सञ्चालन गरेको भन्दै समाचार प्रकाशित गरेपछि शाक्यले एउटा वक्तव्य जारी गरी आफूमाथि लागेको आरोप झुटो रहेको बताए। वक्तव्यमा उनले अन्तर्राष्ट्रिय दृष्टिले समेत महत्वपूर्ण फेवाताल मानवनिर्मित रहेको दाबीसमेत गरे।

उनले भने, ‘बुझ्नुपर्ने कुरा के हो भने वास्तवमा फेवाताल राणाकालमा बाँध बनाउँदा बनेको कृत्रिम ताल हो।’

साउथ एशिया चेकले शाक्यको भनाई सही छ/छैन भनी जाँचेको छ।

भूगोलविद् डा. हर्क गुरुङले गरेको अध्ययन ‘पोखरा भ्यालीः अ जोग्राफिकल सर्भे’का अनुसार पोखरामा हिमपहिरो आउनुभन्दा अघिको पानीको निकासलाई हिमपहिरोले बगाएर ल्याएको ढुंगामाटोले थुनिदिएपछि पानी जमेर पोखरामा ताल बनेका हुन् (सन् १९६५, पृ १०)। डा. गुरुङको यो अध्ययन उनले स्कटल्यान्डस्थित एडिम्बरा विश्वविद्यालयलाई सन् १९६५ मा बुझाएको पिएचडी थेसिसमा आधारित छ।

डा. गुरुङका किताब ‘मैले देखेको नेपाल’ र ‘विषय विविध’मा राणा शासनका संस्थापक जंगबहादुर राणाका पालामा फेवा तालको पानी मेशिनले उकालेर सिँचाइ गर्ने योजना बनाएको तर त्यो असफल भएको उल्लेख छ।

‘मैले देखेको नेपाल’मा ब्रिटिश लेखक पर्सिभल ल्यान्डन (१८६७–१९२७)ले लेखेको निम्न अनुच्छेद उद्धृत गरिएको छः

‘तालको माथिल्लो तह उपत्यकाको तल्लो तहभन्दा यति तल छ कि ठूलाठूला पम्पहरूबाट मात्र सिँचाइ सम्भव छ। पम्पहरू जडान गर्ने जंगबहादुरको योजना थियो र यसबाट वार्षिक ३० देखि ४० हजार पाउन्ड आम्दानी हुने उनले आशा राखेका थिए। तर यसका लािग एक जना युरोपेली इन्जिनियर त्यहाँ हुन जरुरी थियो। युरोपेलीहरूप्रतिको परम्परागत घृणालाई जंगबहादुरले समेत चुनौती दिन सकेनन् (मैले देखेको नेपाल, पृ १२२, हिमाल बुक्स, काठमाडौं)।’

डा. गुरुङको अर्को किताब ‘विषय विविध’मा ल्यान्डनले उल्लेख गरेको ताल फेवा हो भनिएको छ।

तसर्थ, कर्ण शाक्यको दाबी पूरै गलत छ।

सुजित मैनाली / शुक्रबार, साउन २७, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री