खाँडका झुट कुरा

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेपाली कांग्रेसका नेता तथा निर्वाचन परिचालन समिति सदस्य बालकृष्ण खाँडले कात्तिक ८ गते कान्तिपुर एफएमसँगको अन्तर्वार्तामा भनेका निम्न कुरा सही छन्/छैनन् भनि साउथ एशिया चेकले जाँचेको छ।

पहिलो भनाइः पछिलो पटक उहाँहरूले कम्युनिष्ट गठबन्धन गर्दा उहाँहरूले जुन खालको उद्घोष गर्नुभएको छहामी नेपालमा कम्युनिष्ट शासन व्यवस्था लिएर आउँछौँ र हामीले संविधान पनि आमूल परिवर्तन गरेर अव हामीले एकदमै निरंकुश खालको संविधान बनाएर लान्छौँ भनेर जुन खालको उद्घोष गर्नुभएको छ…

नेकपा–एमाले र नेकपा (माओवादी केन्द्र)बीच भएको चुनावी गठबन्धनको आलोचना गर्ने क्रममा नेता खाँडले यस्तो बताएका हुन्।

नेकपा–एमाले, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालले २०७४ असोज १७ गते संयुक्त कार्यक्रम गरेर अहिले चुनावी गठबन्धन र चुनावपछि पार्टी एकता गर्ने घोषणा लिखित रूपमै गरेका थिए। घोषणामा नेता खाँडले भनेजस्तो कुरा कतै उल्लेख छैन।

तसर्थ, यो भनाइ गलत छ।

दोस्रो भनाइः २ नम्बर प्रदेशको चुनाव हुने बित्तिकै नेपाली कांग्रेस नै एक नम्बरको अवस्थामा छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोस्रो अवस्थामा छ ।

निर्वाचन आयोगबाट प्रकाशित स्थानीय निकायका लागि तीन चरणमा भएको निर्वाचन परिणामअनुसार मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष र वडाध्यक्ष पदमा नेकपा (एमाले) पहिलो स्थानमा छ ।

दुई पार्टीले जितेका सिट

पद नेकपा (एमाले) नेपाली कांग्रेस
मेयर १२३ १०५
उपमेयर १३७ ८४
गाउँपालिका अध्यक्ष १७१ १६१
गाउँपालिका उपाध्यक्ष १९४ १३९
वडाध्यक्ष २५६० २४२५

तसर्थ, खाँडको यो भनाइ पनि गलत छ ।

तेस्रो भनाइः हाम्रो पार्टीका नेता पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा हामीले स्थानीय निकाय निर्वाचनहरू सम्पन्न गरेका छौँ ।

यहाँ खाँडले स्थानीय निकायका लागि सबै चरणमा भएका निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा भएका हुन् भन्ने भान पार्ने गरी बोलेका छन् । स्थानीय निकायको पहिलो चरणको निर्वाचन हुँदा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।

तसर्थ, उनको यो भनाइ आंशिक रूपमा मात्र सही छ ।

सुजित मैनाली / बुधबार, कार्तिक ८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री