राम कार्कीको हास्यास्पद दाबी

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की)ले कात्तिक १९ गते सगरमाथा टेलिभिजनबाट प्रसार भएको कार्यक्रम ‘एसटिभी च्याट‘मा केही दाबी गरे। तीमध्ये निम्न दुई दाबी सही छन्/छैनन् भनि साउथ एशिया चेकले जाँचेको छ।

पहिलो दाबीः झापा  नं क्षेत्रमा जति भाषा छन् नित्यति भाषा नेपालमा कहीँ पनि छैनअञ्चलमा पनि छैन  प्रदेशभरिमा पनि छैन 

‘नेपाल पपुलेसन एन्ड हाउजिङ सेन्सस २०११’का अनुसार झापामा जम्मा ७२ वटा भाषा बोलिन्छन्। झापामा बोलिने सबै भाषा झापाको संसदिय निर्वाचन क्षेत्र नं १ मा बोलिन्छ भन्ने मान्ने हो भने पनि भाषाहरूको संख्याका दृष्टिले झापाको निर्वाचन क्षेत्र नं १ नेपालका अन्य जिल्ला अथवा अञ्चलभन्दा समृद्ध छैन। झापामा जस्तै मोरङमा पनि ७२ वटा भाषा बोलिन्छन्। काठमाडौंमा त अझ ८० वटा भाषा बोलिन्छन्।

तसर्थ, कार्कीको यो दाबी गलत छ।

दोस्रो दाबीः दुई हजार बिघाहा जमिनमा राम्ररी धान लाउने हो भने आधा नेपाललाई पुग्छ 

कृषि विकास मन्त्रालयका अनुसार सन् २०१५/१६ मा नेपालमा २३,७४,३८९ मेट्रिक टन धान उत्पादन भएको थियो। त्यस वर्ष नेपालीहरूको पेट भर्न आवश्यक परेको कूल खाद्यान्नको ४३.७५ प्रतिशत हिस्सा धानले ओगटेको थियो (स्टेटिस्टिकल इन्फर्मेसन अन नेप्लिज एग्रिकल्चर, पृष्ठ १३१–३३, २०१५/१६, कृषि विकास मन्त्रालय)

त्यस वर्षको धानको कूल उत्पादनले पूरै नेपालीको चामलको आवश्यकता पूरा गरेको मान्ने हो भने त्यस वर्ष आधा नेपालीलाई ११,८७,१९४.५ मेट्रिक टन धान चाहिएको थियो।

धानको उत्पादकत्व बढी हुने मुलुकमध्येमा अमेरिका पर्छ। त्यहाँ सन् २०१५ मा प्रतिहेक्टर ८.३७ मेट्रिक टन धान उत्पादन भएको थियो।

उन्नत प्रविधि र बीउबिजन प्रयोग गरेर नेपालमा धानको उत्पादकत्व अमेरिकाको जति पुर्‍याउने हो भने दुई हजार बिघाह (अर्थात १३५४.५३ हेक्टर) जमिनबाट ११,३३७.४१ मेट्रिक टन धान उत्पादन गर्न सकिन्छ। यति उत्पादन हुँदा पनि आधा नेपालीको धानको माग धान्न ११,७५,८५७.०९ मेट्रिक टन अपुग हुन्छ।

ठूलै चमत्कार गरेर धानको उत्पादकत्व अमेरिकाको भन्दा सय गुणाले बढाउन सकियो भने पनि ११,३३,७४१.६१ मेट्रिक टन मात्र धान उत्पादन हुन्छ।

यति उत्पादन हुँदा पनि आधा नेपालीको धानको माग धान्न ५३,४५२.८९ मेट्रिक टन धान अपुग हुन्छ।

तसर्थ, कार्कीको यो दाबी पनि गलत छ।

सुजित मैनाली / मंगलबार, कार्तिक २१, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री