बाढीका कारण तराईमा खेतियोग्य जमिन घट्दो

South Asia Check / सोमबार, मंसिर २३, २०७६

काठमाडौंबाट विराटनगर जाँदा २०७१ साउन १० गते हवाइजहाजबाट खिचिएको कोशी नदीको तस्बिर । तस्विर: माेहन मैनाली

२०७४ फागुन २८ गते माउन्टेन टेलिभिजनबाट प्रसार भएको अन्तर्वार्तामा राष्ट्रिय जनता पार्टी, नेपालको अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवलाई अन्तर्वार्ताकारले सोधे– ‘केपी ओली नेतृत्वको अहिलेको सरकारलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?’

जवाफमा यादवले दिएको एउटा सुझाव यस्तो थियो– ‘यो देशलाई उठाउनका निम्ति सबैभन्दा पहिले सरकारले एउटा काम गरिदेओस् । यो देशमा प्रतिवर्ष चार लाख हेक्टर उत्पादन हुने [खेतियोग्य] जमिन कटान भइरहेको छ, बालुवाले पुरान भइरहेको छ [पुरिरहेको छ] । यसले गर्दा हाम्रो देशको [कृषि] उत्पादन दिनप्रतिदिन घट्दै गएको छ ।’

बाढीका कारण कति खेतीयोग्य जमिन नष्ट भएको छ भन्ने पछिल्लो तथ्यांक पाउन सकिएन ।

सन् २०१६ मा केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको प्रतिवेदन ‘कम्पेन्डियम अफ इन्भारोमेन्ट स्ट्याटिस्टिक्स, नेपाल २०१५’ सार्वजनिक रूपमा उपलब्ध यससम्बन्धी पछिल्लो दस्ताबेज हो ।

यसमा आर्थिक वर्ष २००१/०२ र २०११/१२ को बीचमा बाढी र भूक्षयका कारण कति जमिन खेती गर्न अयोग्य बने भन्ने तथ्यांक प्रस्तुत गरिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २००१/०२ र २०११/१२ को बीचमा बाढी र भूक्षयका कारण नेपालको ५६,६७१.७० हेक्टर जमिन खेती गर्न अयोग्य हुनेगरि बिग्रिएको थियो (पृ ५६) । यसका आधारमा हरेक वर्ष बाढीका कारण चार लाख हेक्टर खेतियोग्य जमिन नष्ट भइरहेको छ भन्ने यादवको भनाई गलत छ जस्तो देखिन्छ । यद्यपि, यससम्बन्धी पछिल्लो आर्थिक वर्षको तथ्यांक उपलब्ध नभएकाले उनको भनाई सही छ कि गलत भनि ठोकुवा गर्ने आधार चाहिँ छैन ।

बाढी र भूक्षयका कारण तराईमा खेतीयोग्य जमिन सबैभन्दा बढी बिग्रिने गरेको छ । आर्थिक वर्ष २००१/०२ र २०११/१२ को बीचमा हिमाल र पहाडमा जम्मा २२,२७६.८ हेक्टर जमिन खेती गर्न अयोग्य हुने गरि बिग्रिएको थियो । यही अवधिमा तराईमा मात्रै बाढी र भूक्षयका कारण ३४,३९४.९० हेक्टर जमिन खेती गर्न अयोग्य बनेको थियो । नेपालको अन्नभण्डार भनि चिनिने तराईमा बढी जमिन बिग्रिने गरेकाले कृषि उत्पादनमा यसले बढी असर पारिरहेको छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री