श्वेतपत्रबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको दाबी कति सही ?

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंमा हालसालै आयोजित एउटा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले चैत १६ गते जारी गरेको श्वेतपत्रको आलोचना गर्दै भने–

“श्वेतपत्रले विगतका राम्रा कुरालाई बेवास्ता गरेर नराम्रा कुरा मात्र राख्यो ।”

आफ्नो भनाई पुष्टि गर्न उनले भने, ‘अर्थमन्त्री के भन्नुहुन्छ भने अन्तर्राष्ट्रिय परिदृश्यमा नेपालमा लगानीको वातावरण राम्रो छैन । उहाँले विश्व बैंकको ‘डुइङ विजनेश इन्डेक्स’को प्रतिवेदनमा नेपाल १०५ औं नम्बरमा छ भन्ने तथ्यांक राख्नुभएको छ, जुन सही छ । तर हामी ओरालो लागेर होइन, पछिल्लो दुई वर्षअगाडिको १०७ औं स्थानबाट उकालो लागेर १०५ औंमा पुगेका हौं भन्ने कुरा उहाँले बिर्सिनुभएको छ ।’

प्रवक्ता शर्माले यहाँ दिएको तथ्यांक सही छ । विश्व बैंकले जारी गरेको सन् २०१८ को ‘डुइङ विजनेश इन्डेक्स’ प्रतिवेदनमा नेपाल व्यापार गर्न योग्य मुलुकमध्ये १०५ औं स्थानमा छ । दुई वर्षअघि सन् २०१६ मा जारी भएको सन् २०१७ को प्रतिवेदनमा नेपाल १०७ औं स्थानमा थियो ।

तर नेपालमा लगानीको वातावरण निरन्तर सुधार हुँदै आएको भने होइन । सन् २०१६ को प्रतिवेदनमा नेपाल ‘डुइङ विजनेश इन्डेक्स’को ९९ औं स्थानमा थियो । अर्थात्, नेपालमा लगानीको वातावरण २०१६ को प्रतिवेदनमा उल्लेख भएभन्दा खस्केको छ ।

त्यस्तै शर्माले नेपालमा भ्रस्टाचारको अवस्थाबारे श्वेतपत्रमा गरिएको उल्लेखबारे टिप्पणी गर्ने क्रममा भनेका छन्, ‘करप्सन पर्सेप्सन इन्डेक्स भन्ने वल्र्ड बैंकको अर्को प्रतिवेदनमा नेपाल १२२ औं ठाउँमा छ भनी अर्थमन्त्रीले भन्नुभएको छ । १२२ औं स्थानमा नेपाल भएको कुरा सत्य हो । अघिल्लो वर्ष १३२ औंबाट नेपाल १२२ औंमा आएर दश स्थानको प्रगति गरेका कुरा उहाँले बिर्सिनुभएको छ ।’

यहाँ शर्माले केही तथ्यगत त्रुटी गरेका छन् । ‘करप्सन पर्सेप्सन इन्डेक्स’ प्रतिवेदन विश्व बैंकले होइन, ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशन गर्छ । सन् २०१७ मा जारी भएको प्रतिवेदनले नेपाललाई १२२ औं भ्रष्ट मुलुकमा पारेको थियो । अघिल्लो वर्ष नेपाल १३१ औं स्थानमा थियो ।

तर विगत १० वर्षको ‘करप्सन पर्सेप्सन इन्डेक्स’ हेर्दा के देखिन्छ भने नेपालको अहिलेको अवस्था विगतमा भन्दा खस्केको हो । सन् २००८ मा नेपाल १२१ औं स्थानमा थियो भने अहिले १२२ औं स्थानमा छ । यसबीचमा सन् २०११ मा नेपाल १५४ औं स्थानमा पुगेको थियो भने सन् २०१३ मा घटेर ११६ औं स्थानमा पुगेको थियो ।

सुजित मैनाली / बिहीबार, बैशाख १३, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री