नेकपाको २०१० को प्रतिवेदनबारे राजेन्द्र श्रेष्ठको दाबी आंशिक सही

South Asia Check / सोमबार, मंसिर २३, २०७६

संघीय समाजवादी फोरमका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले २०७५ जेठ २ गते एसटिभी च्याटसँगको कुराकानीमा भने–

‘त्यो डकुमेन्ट हेर्ने हो भने आज उठेका मुद्दा छन् त्यसमा । जस्तो समानुपातिक प्रतिनिधित्व, प्रदेश संरचना, नेपालमा प्रदेशहरूको आवश्यकता, जातीय आत्मनिर्णयको अधिकार र भाषिक समानता । सबै भाषालाई सम्मान गर्नुपर्छ, मातृ भाषाबाट सबैले पढन पाउनुपर्छ र सरकारी कामकाज गर्न पाउनुपर्छ, बहुदलीय दृष्टिकोणले नै समानुपातिक प्रतिनिधित्व, जसले जति प्रतिशत मत ल्याउँछ त्यसले प्रतिनिधित्व पाउनुपर्छ । राज्यका अंगहरूमा यी कुरा १३ वटा विशेषताको रूपमा पुष्पलालले लेखेका थिए ।’

यो भनाई सही छ/छैन भनेर साउथ एसिया चेकले जाँचेको छ ।

श्रेष्ठले भनेको दस्तावेज २०१० माघमा भएको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनमा पार्टी महासचिव मनमोहन अधिकारीले प्रस्तुत गरेका थिए । ‘नेपाल कम्युनिष्ट पार्टीको कार्यक्रम’ शीर्षकको प्रतिवेदनके ‘राज्यको स्वरुप’ उपशीर्षकमा यी बुँदा उल्लेख छन्:

  • जनताको हातमा सार्वभौमिक सत्ता रहोस्, अर्थात् पूरा शक्ति जनताको हातमा सुम्पियोस् । पूरा सार्वभौमिकता जनतामा चुनिएको पार्लियामेन्टमा रहोस् । चुनाव क्षेत्रको बहुमतद्वारा प्रतिनिधिहरूलाई फर्काउने माग गर्न सकियोस् ।
  • स्थानीय तथा इलाकीय सरकारको चुनाव त्यहीँका मानिसहरूबाट गरियोस् र स्थानीय स्वायत्त शासनको आधारमा यिनीहरुलाई स्थानीय तथा क्षेत्रीय शासन दिइयोस् । माथिबाट अफिसरहरू बहाली गर्ने चलन खत्तम गरियोस् ।
  • सबै जातजातिहरूलाई आत्मनिर्णयको अधिकार होस् । सबै जातिको पक्षमा, जातिहरूकाबीच परस्पर सद्भावनाको आधारमा एउटा सँयुक्त जनवादी नेपालको गठन होस् ।
  • मातृभाषामा शिक्षा पाउने अधिकार होस् । जनता र सरकारी संस्थाहरूमा आफ्नो भाषाको प्रयोगको अधिकार होस् । कुनै पनि अनिवार्य राष्ट्रभाषा नहोस्, प्रत्येक भाषामा बराबरीको अधिकार होस् ।

उक्त दस्तावेजमा प्रदेश संरचना र समानुपातिक प्रणाली बारेमा उल्लेख छैन्। तीबाहेकका विषयमा श्रेष्ठको भनाइ सही छ ।

सन्दर्भ सामग्री

टेक बहादुर बस्नेत । माघ २०६९ । नेपाल कम्युनिष्ट आन्दोलन र जनक्रान्तिकमा ऐतिहासिक दस्तावेजहरु ग्रन्थ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी): पृ. ३–८ ।

बेदुराम भुषाल । साउन २०७० । नेपाल कम्युनिष्ट पार्टी दस्तावेज संग्रह । पुष्पलाल स्मृति प्रतिष्ठान: पृ.६८–७८ ।

इन्जिना पन्थी / शुक्रबार, जेठ ४, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री