स्वास्थ्य बीमा कसले ल्यायो ?

South Asia Check / सोमबार, मंसिर २३, २०७६

एपी वान टिभीबाट भदौ ४ गते प्रसार भएको कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’मा प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा कार्यक्रम आफ्नो पार्टीले ल्याएको दाबी गरे ।

कार्यक्रममा अन्तर्वार्ताकारले स्वास्थ्य बीमा कार्यक्रम नेपाली कांग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री भएका बेला आएको उल्लेख गरेपछि प्रधानमन्त्री ओलीले भने, ‘कुन सरकारले सुरु गर्यो रे ?’

अन्तर्वार्ताकारले गगन थापा स्वास्थ्यमन्त्री भएका बेला नमुनाका रूपमा सो काम गरिएको बताएपछि प्रधानमन्त्री ओलीले भने,  ‘ढुक्क हुनुहुन्छ यो कुरामा ?’

‘ढुक्क नभइ कसरी भन्नु त ?,’ अन्तर्वार्ताकारले जवाफ दिएपछि ओलीले भने, ‘होइन…खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा हामीले सुरु गरेका हौं ।’

साउथ एशिया चेकले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात र प्रगतिबारे जानकारी खोजेको छ ।

खगराज अधिकारी वि.सं. २०७० माघदेखि २०७२ साल असोजसम्म स्वास्थ्यमन्त्री थिए । त्यतिबेला नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री थिए । नेपाल सरकारअन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदनअनुसार त्यतिबेला सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (गठन) आदेश, २०७१ जारी गर्यो । यसमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख थियो ।

यही योजनाअनुसार वि.सं. २०७२ चैत २५ गतेबाट कैलालीमा र वि.सं. २०७३ असार १५ गतेबाट बाग्लुङ र इलाममा स्वास्थ्य बीमा कार्यक्रम नमुनाका रुपमा सुरु गरियो । त्यतिबेला स्वास्थ्यमन्त्री मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका नेता रामजनम चाैधरी र प्रधानमन्त्री केपी ओली थिए ।  सोही योजनामा आर्थिक वर्ष २०७३/०७४ मा स्वास्थ्य बीमा कार्यक्रम थप २२ वटा जिल्लामा विस्तार गरिने लक्ष राखिएको थियो । यसैअनुरूप केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेटमा आर्थिक वर्ष २०७३/०७४ मा स्वास्थ्य बीमा कार्यक्रम २५ जिल्लामा विस्तार गर्न दुई अर्ब ५० करोड बिनियोजन गरे (हेर्नुस् त्यस वर्षको बजेट भाषणको बुँदा नं २४०) ।

त्यतिकैमा केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि तत्कालिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अर्को सरकार गठन भयो, जसमा गगन थापा स्वास्थ्यमन्त्री बने ।

दाहाल नेतृत्वको सरकारपछि नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाको नेतृत्वमा अर्को सरकार गठन भयो । नयाँ सरकारमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री बने । पोखरेल स्वास्थ्यमन्त्री छँदै संसद्बाट स्वास्थ्य बीमा ऐन, २०७४ पारित भयो, जसमा ‘प्रत्येक नेपाली नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनु पर्नेछ’ भनियो (बुँदा नं ३(१)) ।

अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ ।

खजराग अधिकारी स्वास्थ्यमन्त्री भएका बेला स्वास्थ्य बीमा कार्यक्रमबारे महत्वपूर्ण कदम चालिएको भए पनि स्वास्थ्य बीमाको प्रसंग त्यसअघिदेखि नै उठ्दै आएको थियो । सन् २०१२ मा प्रकाशित प्रतिवेदन ‘रिभ्यु अफ कम्युनिटी–बेस्ड हेल्थ इन्सुरेन्स इनिसियटिभ्स इन नेपाल’मा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका तत्कालिन निर्देशक आनन्दकुमार श्रेठले जनाएअनुसार स्वास्थ्य बीमासम्बन्धी योजना सानो स्तरमा सन् २००३/०४ मै लागू भएको

थियो । त्यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायका आधारित स्वास्थ्य बीमा योजनाको परीक्षणका रूपमा लागू  गरेको थियो । सोही प्रतिवेदनका अनुसार सन् २०१२ को जनवरीमा प्रधानमन्त्री कार्यालयले सबै नेपालीलाई समेट्नेगरि बीमा नीति तयार गरि लागू गर्नस्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको थियो । त्यतिबेला माओवादीका (हाल नयाँ शक्ति नेपालका संयोजक) नेता बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।

सुजित मैनाली / शुक्रबार, भाद्र ८, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री