समाचारमा नाम नखुलेका स्रोतको प्रयोग (अक्टोबर-डिसेम्बर २०१८)

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

सन् २०१८ को अक्टोबर १ देखि डिसेम्बर ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने ६ वटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामलामा अन्नपूर्ण पोस्ट् दैनिक सबैभन्दा अगाडि रह्यो । उसले ११७ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डौं पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पेजमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ ।

अन्नपूर्ण पोस्ट्पछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमशः द काठमाण्डौं पोस्ट्, नागरिक, कान्तिपुर र रिपब्लिका छन् । यस अवधिमा स्रोत नखुलेको सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले ६८ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ ।

यस अवधिमा ६ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ५६९ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए ।

सबै पत्रिकाले राजनीतिलाई बढी प्राथमिकता दिएर पहिलो पृष्ठमा राजनितिसम्बन्धी समाचार बढी छापेका थिए । शासनसम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (१४७ ठाउँमा) उद्धृत गरिएको थियो । द काठमाण्डौं पोस्ट् र कान्तिपुरमा प्रकाशित शासनसम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमशः ४६ र ३४ ठाउँमा) उद्धृत गरिएको थियो ।

शासनपछि भ्रष्टाचारसम्बन्धी समाचारमा त्यस्ता स्रोत बढी (१३२ ठाउँमा) उद्धृत गरिएको थियो । त्यस्ता परिचय नखुलेको स्रोत बढी उल्लेख गर्ने मामलामा नागरिकले सबैलाई उछिनेको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसहिंता, २०७३ को बुँदा नं ८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । तर, त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र रिपोर्टरको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यक नभएका ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि, नेपाली भाषामा प्रकाशित हुने एउटा दैनिक पत्रिकामा प्रकाशित ‘रोकियो ओलीको प्रतिवेदन’ शीर्षकको समाचारमा भनिएको छ–

“सरकारका सबै मन्त्रीले राम्रो काम गरेका छन् । यो सरकार एकदम चोखो छ । समृद्धिको लक्ष्य पूरा गर्ने ढंगले काम गरेको छ,” ओलीको भनाइ एक स्थायी समिति सदस्यले उद्धृत गरे, “यो सरकारले भ्रष्टाचार गरेको छैन । अपराधी काम कुनै मन्त्रीले गरेका छैनन् । अझ प्रभावकारी ढंगले काम गर्छ ।”

यहाँ स्रोतको पहिचान खुल्दा उसमाथि गम्भीर क्षति हुने देखिँदैन ।

अनावश्यक ठाउँमा नाम विनाका स्रोत उपयोग गर्दा उसले दिएका जानकारीका साथै पत्रिकाप्रति पाठकको विश्वास गुम्छ ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।

 

साउथ एशिया चेक / शुक्रबार, चैत्र १५, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री