डेढ महिनामा १६ अर्बको डिजेल वचत ? नचाहिँदो कुरा

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

‘नेपाल विद्युत प्राधिकरणले दसैं र तिहारयता काठमाडौंमा लोडसेडिङ हटाएपछि १४ देखि १६ अर्ब रुपैयाँबराबरको डिजेल बचत भएको’ भनी केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचार भएको छ ।

साउथ एशिया चेकले उक्त भनाइ सही हो कि होइन भनी जाँच्दा सो कुरा सही नभएको पायो ।

ग्राफिक्ः बिक्रम राई

भारतीय नाकाबन्दीले गर्दा पोहर साल डिजेलको आयात राम्ररी नभएकाले परार सालको तथ्यांकलाई आधार मानिएको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालमा ९० करोड १३ लाख ९३ हजार लिटर डिजेल बिक्री भएको थियो ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार नेपालमा खपत हुने डिजलको १५ प्रतिशत काठमाडौँमा खर्च हुन्छ । यसका आधारमा के भन्न सकिन्छ भने परार साल नेपालमा खपत भएको ९० करोड १३ लाख ९३ हजार लिटरमध्ये १५ प्रतिशत अर्थात १३ करोड ५२ लाख ८ हजार ९५० लिटर डिजेल काठमाडौँमा खपत भएको थियो ।

विश्व बैंकले गरेको अध्ययनका अनुसार काठमाडौँमा खपत भएको दुई तिहाइ डिजेल विजुली निकाल्ने काममा लगाइन्थ्यो । यस हिसाबले परार साल काठमाडौँमा खपत भएको १३ करोड ५२ लाख ८ हजार ९५० लिटरको ६६ प्रतिशत अर्थात् ८ करोड ९२ लाख ३७ हजार ९०७ लिटर डिजेल विजुली निकाल्न खपत भएको थियो । लोडसेडिङ नहुँदा वचत हुने डिजेल भनेको यही हो ।

 

काठमाडौँमा सबै महिनामा डिजेलको खपत बराबारी हुँदैन । तर असोज कात्तिकमा खपत उति बढी पनि हुँदैन, घटी पनि हुँदैन । त्यसैले दशैँयताका डेढ महिनामा लोडसेडिङ नहुँदा १ करोड ११ लाख ५४ हजार ७३८ लिटर वचत भयो । एक लिटरको ७३ रुपैया पर्ने हुनाले यसबाट ८१ करोड ४२ लाख ९५ हजार ८७४ रुपैया बराबरको डिजेल वचत भयो ।

यो रकम समाचार र सामाजिक सञ्जालमा दाबी गरिएको १६ अर्बको ५.०८ प्रतिशत मात्र हो ।

परार साल डेढ महिनामा नेपाल आएको जति सबै डिजेलको मूल्य यस वर्षको दरले जोड्दा पनि आठ अर्ब मात्रै हुन्छ । १६ अर्ब रुपैया बराबरको डिजेल जोगिन नेपालमा तीन महिनामा एक थोपा पनि डिजेल खर्च गर्नुहुँदैन ।

(ग्राफिक्स्ः बिक्रम राई)

 

मोहन मैनाली / सोमबार, मंसिर १३, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री