कोरोना भाइरस बारे भ्रामक सूचनाको तथ्यजाँच

South Asia Check / बिहीबार, फाल्गुण २९, २०७६

ललितपुरको पुल्चोकमा विहिबार विहान मास्क लगाई हिँडेका मानिस                तस्बिर: साउथ एसिया चेक

कुनै पनि महामारी सँगसँगै भ्रामक सूचना र हल्ला–अफवाहको पनि महामारी फैलिने गर्छ । फागुन २८ गते विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरेको छ । नोभल कोरोना भाइरसको संक्रमण विश्वव्यापी बन्दै गर्दा यसबारे गलत सूचना (विश्व स्वास्थ्य संगठनको भाषामा ‘इन्फोडेमिक’) पनि उत्तिकै द्रुत गतिमा फैलिएको छ । फेसबुकजस्ता सामाजिक सञ्जाल र ह्वाट्सएप, म्यासेन्जरजस्ता च्याट समुह अनि यूट्यूब च्यानलहरुमा कोरोना भाइरसको बारेमा गलत सूचना फैलिरहेका छन् । त्यसरी फैलिएका केही भ्रामक सूचनालाई हामीले चिर्ने प्रयास गरेका छौँ ।

भिटामिन सीको सेवन गरेमा कोरोना भाइरसबाट बच्न सकिन्छ ?

भिटामिन सीले सामान्य रुघाखोकी निको पार्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । केही अध्ययनहरुले यसले जीवाणु र भाइरससँग लड्न मद्दत गर्ने पत्ता लगाएका छन् । तर यसकोे सेवनले कोरोना भाइरस निको हुन्छ भन्ने तथ्य प्रमाणित होइन

तस्बिर: सिडिसि/अनस्प्ल्यास

यो भाइरस सर्प र चमेराका कारण उत्पन्न भएको हो ?

कोरोना भाइरस ठ्याक्कै केबाट मानिसमा सर्‍यो भन्ने कुरा अहिलेसम्म रहस्यकै गर्भमा छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) का अनुसार जनावरबाट यो भाइरस मानिसमा सर्ने सम्भावना विरलै हुन्छ । चीनको वुहान शहरबाट फैलिएकोले त्यहाँको समुद्री खाना र जनावरको बजारमा रहेका सालकबाट मानिसमा सरेको अनुमान गरिएको थियो । तर त्यसको पनि पुष्टि हुन सकेको छैन । पछिल्लो समय संक्रमितहरुको त्यस्ता पशु बजारसँग सम्पर्क नभएको पाइएको छ । अनुसन्धाताहरुले ‘जिरो प्यासेन्ट’ भनिने सबैभन्दा पहिले संक्रमित व्यक्तिको खोजी जारी राखेका छन् । उनीहरुका अनुसार बिरामीमाथिको निरन्तर परीक्षणपश्चात यस कुराको टुंगोमा पुग्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस परिवारकै अन्य दुइथरि भाइरसमध्ये सार्स एकथरि जंगली बिरालोबाट र मर्स ऊँटबाट मानिसमा सरेको थियो ।
एक अध्ययन अनुसार ४ वटा नयाँ वा देखा पर्दैगरेका रोगमध्ये ३ वटा जनावरबाट मानिसमा सर्ने गरेका छन् ।

बेसार, बोझो र लसुन प्रयाग गरी यसबाट बच्न सकिन्छ ?

नेपालमा घरेलु ओखतीका रुपमा यिनको प्रयोग सदियौँदेखि हुँदैआएको छ । तर हालसम्म औषधि वा खोप पत्ता नलागेको कोभिड-१९ भनिने यो रोग बेसार, लसुन वा बोझोको प्रयोगबाट निको हुने प्रमाणित तथ्य होइन । विश्व स्वास्थ्य संगठनले यसखाले भ्रम चिर्न प्रकाशित गरेको लेखमा भनिएको छ, “लसुन स्वास्थ्यवर्धक खानेकुरा हो र यसमा केही सुक्ष्म जीवाणुनासक तत्व हुन्छन् तर यसले कोरोना भाइरसबाट बचाउँछ भन्ने पुष्टि भएको छैन ।”

रक्सी खायो भने यो निको हुन्छ ?

घर वा कार्यालयको वातावरण स्वच्छ राख्न प्रयोग गरिने ‘ह्याण्ड स्यानिटाइजर’ मा अल्कोहल (रक्सी) को केही मात्रा हुने भएकाले रक्सीको सेवन गर्‍यो भने यो रोग निको हुने अफवाह सामाजिक सञ्जालमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन र अमेरिकाको सिडिसीका अनुसार ह्याण्ड स्यानिटाइजरले सतहमा रहेका जीवाणुलाई मार्छ । तर रक्सीको सेवन गर्दा यसबाट बच्न नसकिने जनाइएको छ।

यसबाट बच्ने उपायहरु के छन् ?

यसबाट संक्रमित व्यक्तिबाट आफुलाई टाढा राख्ने र आफुलाई संक्रमण भए अरुलाई नसार्नु नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भएको चिकित्सकहरुको ठहर छ । उनीहरुले सार्वजनिक ठाउँमा गएर फर्केपछि वा भेटघाट पछि हात साबुन पानीले राम्रोसित धुने र हात नधोई आँखा, नाक र मुखमा नछुने सुझाव दिएका छन् । मास्क लगाउँदैमा यो पूर्णरुपमा नरोकिने पनि बताइएको छ तर संक्रमितले आफुबाट अरुलाई नसार्नका लागि यसको प्रयोग सुझाइएको छ । अत्यावश्यक बाहेकका यात्रा वा भेटघाट नगर्ने सुझाव छ । यो रोग श्वाप्रश्वासमार्फत र संक्रमित स्थल वा व्यक्तिलाई छोएमा सर्ने भएकोले हाछ्युँ गर्दा छोपेर गर्ने र हात बारम्बार धुने सुझाव स्वास्थ्यकर्मीहरुले दिएका छन् ।

थप सूचना सामाग्री:

जोन्स हप्किन्स विश्वविधालय

विश्व स्वास्थ्य स‌ंगठन

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री