प्रधानमन्त्री ओलीका काेराेना भाइरसबारे पाँच गलत र भ्रामक दावी

South Asia Check / आइतबार, बैशाख ७, २०७७

तस्बिर स्रोत: सुनौलो नेपालको युट्युब भिडियोको स्क्रिनसट

दीपक अधिकारी/साउथ एसिया चेक

गत चैत २९ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सातै प्रदेशका मुख्य मन्त्रीहरुसित जारी बन्दाबन्दी र कोरोना भाइरसको रोकथामबारे भिडियो कन्फ्रेन्सको माध्यमबाट छलफल गरेका थिए । उक्त छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही समय कोभिड–१९ बाट बच्न अपनाउनु पर्ने उपायका बारेमा बोलेका थिए ।

एक साता पुरानो उक्त भिडियो बैशाख ६ गते ट्वीटर र फेसबुकमा भाइरल भएको थियो । मुलुकको प्रधानमन्त्रीले व्यक्त गरेका विचारलाई अधिकांश देशवासीले पछ्याउने अनि पत्याउने भएकाले उनले दिएका सल्लाह र गरेका दावीको हामीले तथ्यजाँच गरेका छौँ ।

पहिलो दावी 

“भाइरस भनेको निर्जीव तत्व हो । यो निर्जीव तत्वमा जुन बोसो हुन्छ, त्यसले जीवित तत्वको रुपमा सक्रिय गराइदिन्छ ।”

पृथ्वीमा अनगिन्ति भाइरसहरु छन् । तीमध्ये अधिकांशले कुनै हानि गर्दैनन् भने केहीले मानिसलाई बिरामी बनाउँछन् । नोभल कोरोना भाइरसजस्ता केही चाहिँ घातक हुनसक्छन् । वैज्ञानिकहरुका अनुसार यो भाइरस न निर्जीव हो न सजीव नै । यो कुरा बुझ्न भाइरसको विकासक्रम र यो कसरी फैलिन्छ भन्ने बुझ्नुपर्छ । मानिस वा जनावरको शरीरमा नहुँदा भाइरस निर्जीव जस्तो हुन्छ । तर मानिस वा जनावरको शरीरमा प्रवेश पाएपछि यो सक्रिय हुनथाल्छ र यसले आफ्नो संख्या वृद्धि गर्छ । डा पुष्पमणि खरालको भनाइमा कोरोना भाइरस बीचको ‘ग्रे एरिया’ मा पर्दछ । “भाइरसको बारेमा धेरै अध्ययन भएका छन् । शुरुमा यसलाई जैविक रसायन भनियो । पछि निर्जीव भनियो । तर वास्तविकता के हो भने यो बीचको वस्तु हो,” उनले साउथ एसिया चेकलाई बताए । “कुनै पनि जीवित वस्तु (अर्थात् लिभिङ अर्गानिजम जसलाई हामी होस्ट भन्छाैँ) मा प्रवेश गरेपछि यसले आफ्नो संख्या बढाउँदै लैजान्छ भने निर्जीव वस्तुमा रहुञ्जेल यो निष्क्रिय रहन्छ ।”

वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस परिवारको पछिल्लो यो भाइरस कति घातक छ भन्ने कुरा त्यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतासँग कसरी लड्छ, कतिको संख्या वृद्धि गर्छ र फैलिन्छ भन्ने कुरामा भर पर्छ ।

तर अहिलेसम्म पनि याे भाइरस निर्जीव हाे या सजीव भन्ने बहसकै विषय रहेकाे छ । इन्टरनेशनल जर्नल अफ करेन्ट माइक्रोबायोलोजी एण्ड अप्लाइड साइन्समा प्रकाशित एक लेखमा यसलाई जीवितको संज्ञा दिइएकाे छ भने अमेरिकाकाे नेशनल लाइब्रेरी अफ मेडिसिन नेशनल इन्स्टिच्युट्स् अफ हेल्थमा प्रकाशित एक लेखले यसलाई निर्जीव हुनसक्ने जनाएकाे छ।

चिकित्सक र वैज्ञानिकहरुका यी भनाइ र शाेधका आधारमा प्रधानमन्त्री ओलीको यो दावी भ्रामक छ ।

दोस्रो दावी 

“तातोपानी खाने, बाफ लिने गर्यो भने ठीक हुन्छ ।”

तातोपानी खाँदा वा बाफ लिँदा कोभिड–१९ को संक्रमण हुँदैन भन्ने कुराको हालसम्म कुनै वैज्ञानिक आधार छैन । विश्व स्वास्थ्य संगठनले समेत निर्जलीकरण (डिहाड्रेसन) हुनबाट बच्न बारम्बार पानी पिउने सल्लाह दिएको छ । तर तातोपानीले कोरोना भाइरसलाई निर्मुल पार्छ भन्ने कुरा प्रमाणित नभएको उसले जनाएको छ । डा खरालको विचार पनि मिल्दोजुल्दो छ । “प्रशस्त तातोपानी पिइयो भने घाँटीमा रहेको भाइरस पखालिएर पेटमा जानसक्ने भएर त्यसो भनिएको हुनसक्छ,” उनले भने, “तर धेरै तातो पानीले उल्टै क्षति गर्नसक्छ ।” त्यस्तै रुघाखोकीको औषधिका रुपमा लिइने बाफले कोभिड–१९ को संक्रमणबाट बच्न सकिन्छ भन्ने प्रमाणित तथ्य नभएको उनले बताए ।

तेस्रो दावी

“(यसबाट बच्न) चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने ।”

प्रधानमन्त्री ओलीको यो सुझाव त्यतिखेर आएको छ, जतिबेला मुलुकमा बसन्त याम सकिएर गर्मी लाग्न शुरु हुँदैछ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबारे फैलिएका मिथ्यालाई चिर्नका लागि प्रकाशित गरेको सामग्रीमा आइसक्रिम बारेको भ्रामक सूचना पनि समावेश छ । उसले अहिलेसम्म आइसक्रिम खाँदा कोरोना भाइरस फैलिन्छ भन्ने कुराको कुनै प्रमाण नभएको जनाएको छ । “आइसक्रिम खानै नहुने हैन । यसबाट कोरोना भाइरस सर्छ भन्ने कुरा गलत हो,” डा खरालले बताए । आइसक्रिम चिसो हुने भएकोले यो खाँदा घाँटीको तापक्रम कम हुने कुरा साँचो भएपनि त्यसले कोरोना भाइरस सार्ने दावी सही नभएको उनले बताए ।

चौथो दावी

“तातोपानीले हात धुने, मनतातो पानीले धुने । यो ठूलो विधि हो । भाइरस छ भने तातो पानीले हात धुने बित्तिकै त्यसको बाहिरी लेयरमा बोसो हुन्छ, त्यो त निर्जीव हो । मर्ने हैन, त्यो समाप्त हुन्छ ।”

प्रधानमन्त्रीको यो दावीमा छुटेको महत्वपूर्ण सामग्री हो साबुन । तातोपानी र साबुनले कम्तिमा २० सेकेन्डसम्म हात मिची मिची धोएमा यो भाइरसको संक्रमणबाट जोगिन सक्ने कुरा अब आम भइसक्यो । यसका पछाडि केही वैज्ञानिक आधार छन् । साबुन पानीले हात धुनु किन प्रभावकारी हुन्छ भन्ने बारेमा रसायनशास्त्रका अस्ट्रेलियाका प्राध्यापक पली थोर्डर्सनले ट्वीटरमार्फत सर्वप्रथम व्याख्या गरेका थिए । साबुनले हात धुँदा यो भाइरसविरुद्ध घर भत्काउने कामदारले भवन भत्काउँदा झै गर्ने उनले अमेरिकाको डिजिटल पत्रिका भक्सलाई बताएका छन् । डा खराल पनि भाइरसविरुद्धको लडाइँमा साबुन एक महत्वपूर्ण हतियार भएको स्वीकार्छन् । “साबुनको दुई तह हुन्छ । यसलाई पानीमा मिसाएपछि एकातिरको अणुले भाइरसमा रहेको प्रोटिनको खोललाई नष्ट गर्छ भने अर्कोतिरको अणु त्यसको प्रोटिनतर्फ आकर्षित हुन्छ जसलाई पानीले छिन्नभिन्न पार्छ,” खरालले बताए । साबुनको यही विशेषताका कारण कोरोना भाइरस समाप्त गर्न यसकाे अहम् भुमिका रहेकाे ठहर छ । अमेरिकाको रोगसम्बन्धी संघीय निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले यसबाट बच्न साबुनपानी र अल्कोहल मिश्रित ह्याण्ड स्यानिटाइजरले हात सफा गर्न सुझाएको छ ।

प्रधानमन्त्री ओलीको सुझावको एक अंश सही भएपनि साबुन बिना भाइरसलाई तातोपानीले मात्र समाप्त पार्न सकिँदैन । उनको दावीमा उल्लेखित भाइरसको बोसो (उनको शब्दमा बोसिय तत्व) सम्बन्धी दावी पनि भ्रामक रहेको पाइएको छ । अंग्रेजीमा ‘लिपिड लेयर’ भनिने कोरोना भाइरसको आवरणलाई बोसो भनेर सामान्यीकरण गर्नु गलत रहेको विज्ञहरुको ठहर छ ।

पाँचौ दावी

“मास्क मात्रै लगाएर पर्याप्त हुँदैन । मास्कसहित चश्मा पनि लगाउनुहोस् । सबैभन्दा छिटो मुखबाट, त्यसपछि दोस्रो आँखाबाट सर्छ । त्यसपछि मात्रै नाकबाट सर्छ ।”

प्रधानमन्त्री ओलीले अहिलेसम्म वैज्ञानिकहरु निष्कर्षमा पुग्न नसकेको यस सरुवा रोगको प्रसारबारे भ्रामक अभिव्यक्ति दिएका छन् । कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा तिनका थोप्लाबाट र उक्त भाइरसबाट संक्रमित वस्तुलाई छोएर आँखा, नाक वा मुखमा हात लगेमा सर्छ भन्ने हालसम्मका अध्ययनमा देखिएको छ । तर आँखा, नाक र मुखमध्ये केबाट सबैभन्दा बढी सर्छ भन्ने ठोकुवा गर्न सकिने स्थिति छैन । “यो भाइरस मानिसको श्वास प्रश्वास प्रणालीबाट सर्ने भएकाले सबैभन्दा पहिला नाक अनि मुखबाट सर्नसक्ने अनुमान छ,” डा खराल भन्छन्, “यो भाइरस भएको हातले आँखालाई छोएमा यो सर्नसक्छ । तर आँखा यसको संक्रमणको दोस्रो प्रमुख अंग हो भन्ने वैज्ञानिक आधार छैन ।”

त्यसैले गर्दा प्रधानमन्त्री ओलीको यो दावी पनि तथ्यहीन पाइएको छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री