नपत्याउनुहोस्, दुई दिन विश्वभरि इन्टरनेट बन्द हुँदैछैन

Injina Panthi / बुधबार, बैशाख १०, २०७७

नेपाली अनलाइन संचारमाध्यममा विश्वभर दुई दिन इन्टरनेट बन्द हुने समाचार वैशाख ६ गतेदेखि फैलिएको छ।  दर्जन बढी अनलाइन मिडियाले यो खबरलाई संवाददाताको नाम उल्लेख नगरी प्रकाशित गरेका छन् । दुई दिन बन्द हुने भनिए पनि मिति खुलाइएको छैन। यो समाचार प्रकाशित गर्ने दर्जन अनलाइनमध्ये सुत्र न्युज डटकमको समाचार सबैभन्दा धेरै १६६०० पटक सेयर भएको छ। आगामी दुई दिन इन्टरनेट सेवामा बाधा आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको भन्दै रसिया टुडेलाई उद्धृत गरेर समाचार प्रकाशित गरिएको छ ।

साउथ एसिया चेकले यो समाचारको तथ्य जाँच गरेको छ।

एक दर्जनभन्दा बढी अनलाइन मिडियाले यो खबर छापे पनि  सत्यसमाचार डट कम र सुत्रन्युज डट कम नामक साइटले मात्र रसिया टुडेको लिङ्क राखेका छन् । समाचारमा दिइएको आरटी डट कमको लिङ्कमा क्लिक गर्दा यससम्बन्धी समाचार भेटिँदैन ।

आरटी डट कमको साइटमा “इन्टरनेट सटडाउन” भनेर खोज्दा २ वर्ष अघिको समाचार आउँछ ।  सन् २०१८ अक्टोबर ११ (२०७५ आश्विन २५) मा ‘ग्लोबल इन्टरनेट कुड् क्र्यास् इन् नेक्स्ट् फोर्टी एट् आवर्स्’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा मुख्य डोमेन सर्भर र योसँग जोडिएको वेबलाई नियन्त्रण गर्ने नेटवर्कको पूर्वाधार केही समयका लागि बन्द हुने हुनाले इन्टरनेट बन्द हुनसक्छ भनेर लेखिएको छ।

विज्ञहरुको भनाइ समेटिएको उक्त समाचारमा केही पुरानो सिस्टम प्रयोग गर्ने प्रयोगकर्तालाई असर पर्नसक्ने र इन्टरनेट पेज ढिलो खुल्ने जस्ता समस्या आएपनि इन्टरनेट बन्द नहुने कुरा स्पष्ट पारिएको थियो । सन् २०१८ मा आरटी डट कमलाई स्रोत बनाएर धेरै संचारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।

सन् २०१८ अक्टोबर १२ मा माई रिपब्लिकाले कुनै स्रोत नखुलाई एजेन्सी लेखेर ‘ग्लोबल इन्टरनेट् कुड् क्र्यास् इन् नेक्स्ट् फोर्टी एट् आवर्स्’ शीर्षकमा आरटी डटकमको समाचार प्रकाशित गरको थियो।

हिन्दुस्तान टाइम्सले पनि सन् २०१८ अक्टोबर १२ मा रसिया टुडेलाई  उद्धृत गर्दे ‘ग्लोबल इन्टरनेट् सट्डाउन् लाइक्ली ओभर नेक्स्ट् फोर्टी एट् आवर्स’ शीर्षकमा रसिया टुडेको समाचार साभार गरेको थियो ।

त्यस समयमा प्रकाशित भएको समाचारको शीर्षकले इन्टरनेट प्रयोगकर्तामा त्रास र अन्यौल सिर्जना गरेपछि केही संचार माध्यमले भ्रम चिर्ने प्रयास गरेका थिए । इन्डिया टूडेले अक्टोबर १३, २०१८ मा इन्टरनेट बन्द हुँदा ९९ प्रतिशत प्रयोगकर्तालाई असर गर्दैन भनेर समाचार प्रकाशित गरेको थियो ।

नेपालको एउटा प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिङ्कका महाप्रबन्धक किरण गौतमले इन्टरनेट सेवा बन्द हुने बारे कुनै सूचना प्राप्त नभएको साउथ एसिया चेकलाई बताए ।

सन् २०१८ मा प्रकाशित समाचारलाई नेपाली अनलाइन मिडियाले अहिलेको समाचार भन्दै प्रकाशित गरेर भ्रम फैलाएका छन् ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री