प्रधानमन्त्री ओलीका तीन भ्रामक र गलत दाबी

South Asia Check / बिहीबार, जेठ २९, २०७७

तस्बिर स्रोत : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा गरेको सम्बाेधनकाे भिडियाे स्क्रिनसट

दीपक अधिकारी/साउथ एसिया चेक

प्रधानमन्त्री के पी शर्मा ओलीले सरकारले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को बजेट र कोभिड–१९ नियन्त्रणका लागि सरकारको प्रयास लगायतका विषयमा गत जेठ २८ गते  प्रतिनिधिसभामा आफ्ना भनाइ राखेका  थिए । त्यस क्रममा झण्डै १ घन्टा उनले आफ्नो मन्तव्य राखेका थिए भने ४५ मिनेट सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

आफ्ना विचार राख्ने क्रममा उनले अपुष्ट र अप्रमाणित दाबी पेश गरेका थिए । उनका त्यस्ता दाबीमाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रश्न उठाएका थिए भने पत्रपत्रिकामा समाचार प्रकाशित भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा बोल्ने क्रममा गरेका दाबीमध्ये तीन वटा गलत र भ्रामक रहेको पाइएको छ । ती दाबीको हामीले तथ्य जाँच गरेका छौ ।

पहिलो दाबी

“अहिले पनि अन्यत्रभन्दा पिसिआर (पोलिमरेस चेन रियाक्सन) टेस्ट भएन भनेर साथीहरुले कुरा उठाइरहनुभएको छ । प्रति दश लाख टेस्टमा भुटानभन्दा पछि छौ । भुटानको जनसंख्या पनि थोरै छ । उसले सीमा लकडाउन गरेको छ । उसका मान्छे बाहिर कम थिए । त्यसबाहेक अरु देशभन्दा अगाडि छौ अहिले पनि ।”

प्रधानमन्त्री ओलीको यो भनाइ त्यतिबेला आएको छ, जतिखेर काठमाडौँ लगायका शहरमा पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने सहितका माग गर्दै व्यापक प्रदर्शन भइरहेको छ । सांसदहरुले समेत पिसिआर परीक्षण बढाउनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री ओलीले नै संसदमा पेश गरेको तथ्यांक अनुसार जेठ २८ गतेसम्म १ लाख ६ हजार ३ सय ३० पिसिआर विधिबाट र १ लाख ६६ हजार १ सय ५८ र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ । आरडिटी विधिबाट गरिने परीक्षण भरपर्दो नभएकोले पिसिआर परीक्षण पनि गर्नुपरेका विवरणहरु आएका छन् । नेपालको दैनिक परीक्षण दर अहिले पनि ४/५ हजार हाराहारी छ ।

प्रधानमन्त्री ओलीले गरेको दाबी दक्षिण एसियाली मुलुकमध्येमा मान्ने हो भने पनि नेपालको भन्दा माल्दिभ्सको परीक्षण दर उच्च रहेको छ । यससम्बन्धी तथ्यांक राख्ने वल्डओमिटरका अनुसार प्रति दश लाखमा नेपालको परीक्षण दर ९७४५ छ भने भुटानको २६,४५५ छ । तर अर्को दक्षिण एसियाली मुलुक माल्दिभ्सको प्रति दश लाखमा परीक्षण दर ५३,५९६ रहेको छ । त्यसैले ओलीको उक्त दाबी गलत छ ।

दोस्रो दाबी

“हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । मरुभुमिजन्य ठाउँबाट तातो हावा आयो भने हिमालमा पुग्नु अघि त्यो चिसो भइसक्छ । हिमालमा ठोक्किनुभन्दा अघि त्यो कायल भइसक्छ । हिमालमा ठोक्किसक्दाखेरी त्यो बरफ भएर बग्ने स्थितिमा पुग्छ । त्यो फर्किएको हावामा सास फेरेका नेपालीहरु … । यो वैज्ञानिक कुरा हो ।”

भूगोल, मरुभुमि, वायु प्रणाली र जलवायुजस्ता जटिल र अन्तरसम्बन्धित विषयलाई सामान्यीकरण गरेर प्रधानमन्त्री ओलीले भ्रामक दाबी गरेको विज्ञहरुले बताएका छन् । भूगोल बारे थाहा पाउनुपर्ने र वैज्ञानिक कुरा जस्ता शब्दावली प्रयोग गर्दै ओलीले दाबी गरेपनि उनमा यस विषयको आधारभूत जानकारी नभएको एक विज्ञले बताए । उनका अनुसार नेपालमा करीब ४ महिना वर्षा हुनका लागि मनसुनमा भर पर्नुपर्छ जुन अरब समुद्र र बंगालको खाडिबाट यहाँ भित्रिन्छ । नेपालका विभिन्न ठाउँको तापक्रमलाई हावाको स्रोत, त्यसको भूबनोट (उचाइसहित) जस्ता कुराले असर गर्छ । यसैले गर्दा नेपालमा ठाउँ अनुसार फरक- फरक तापक्रम पाइन्छ ।  हिउँदमा नेपालको पश्चिमबाट आउने हावाले पानी पार्नुका साथै हिउँ पार्छ । “पहिलो कुरा त हावा त्यसरी मरुभूमिबाट सिधै हिमाल पुग्दैन,” उनले भने । “पहिले त्याे चुरेमा ठोकिन्छ  । त्यसपछि महाभारत लेक अनि मध्य पहाडमा पुग्छ। र, अन्त्यमा हिमालमा पुग्छ,” उनले भने, “तातो हावा सिधै हिमालमा ठोक्किँदैन । अनि, तापक्रम त्यस ठाउँको उचाइमा भर पर्छ । जहाँसम्म बरफ बन्ने कुरा छ, हिउँ पग्लिएर पानी बन्छ र त्यो बगेर जान्छ ।”

उनका अनुसार प्रधानमन्त्री ओलीको भनाइमा विज्ञान बारेको बुझाइको कमी र वैज्ञानिक शोधबारे अबुझपन झल्किन्छ ।

वायुमण्डलसम्बन्धी वैज्ञानिक अशोक पोखरेलले पनि प्रधानमन्त्री ओलीको दाबी आधारहीन भएको बताए । “मरुभुमिको तातो हावा भनेपछि त्यो सुख्खा हुने भयो जसमा आर्द्रता हुँदैन । त्यस्तो हावाले पानी पार्ने सम्भावना हुँदैन । बरफ भएर बग्छ भन्नु गलत हो,” अमेरिकाको वेदर एक्स्ट्रीम नामक कम्पनीमा कार्यरत वैज्ञानिक पोखरेलले साउथ एसिया चेकलाई बताए ।

तेस्रो दाबी

“नेपालीहरुको भान्सामा पाउरोटीमा बटर दलेर खाने हैन । दाल, चामल, मकै, भटमास, यी अनेक चिज हुन्छन् र बेसार अनिवार्य । जिरा, धनिया, प्याज, लसुन अनिवार्य हुन्छ । नुन अनिवार्य हुन्छ, खुर्सानी अनिवार्य हुन्छ । हरेक दिन ‌औषधि खाएर प्रतिरोध क्षमता बढाएको नेपाली । यसको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वत: सिद्ध हुन्छ ।”

प्रधानमन्त्री ओलीले केही समययता नेपालीको प्रतिरोधी क्षमताका कारण कोभिड–१९ बाट संक्रमित हुनेको संख्या कम भएको दाबी गर्दै आएका छन् । दिनहुँ बढिरहेको संक्रमण दरले उनको दाबी झुठो सावित गरेको छ । तर प्रधानमन्त्रीले हालसम्म प्रमाणित नभएको कुराको स्रोतबारे प्रश्न गर्दा त्यो दाबीको स्रोत आफैँ भएको बताएका छन् । नेपालीको खानपानमा पाइने उल्लेखित चिज स्वास्थ्यबर्धक भएपनि तिनले कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउँछन् भन्ने कुनै आधार नभएको विज्ञहरु बताउँछन् ।

“यसले इम्युनिटी पावर बढाउँछ भन्न मिल्दैन किनभने यसको कुनै वैज्ञानिक आधार छैन,” डा पुष्पमणि खरालले साउथ एसिया चेकलाई बताए, “सागसब्जी र फलफुलमा भिटामिन सी र एन्टी अक्सीडेन्ट (शरीरका कोशिकालाई हानि गर्नबाट रोक्ने पदार्थ) हुने भएता पनि लसुन, प्याज खाँदा रोगसँग लड्ने क्षमता बढ्छ भन्ने वैज्ञानिक आधार छैन ।” नेपालका एक बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नेपाल लाइभसँगको एक अन्तरवार्तामा त्यस्तो दाबी गलत र भ्रमपूर्ण भएको बताएका छन् । “हामीसँग त्यस्तो नौलो, विशिष्ठ गुण छैन कि कोरोनाले नछोओस्,” उनले भने ।

विश्व स्वास्थ्य संगठनले समेत लसुनजस्ता खानेकुराको सेवनबाट कोभिड–१९ को संक्रमणलाई राेक्न नसकिने बताएको छ । उसले भनेको छ, “लसुन स्वास्थ्यवर्धक खानेकुरा हो र यसमा केही सुक्ष्म जीवाणुनासक तत्व हुन्छन् तर यसले कोरोना भाइरसबाट बचाउँछ भन्ने पुष्टि भएको छैन ।”

ओलीको याे दाबी गलत हाे भन्ने अरु दुई आधार पनि छन् । अधिकांश नेपालीले विदेशमा रहँदा पनि नेपाली खानपान नै गर्छन् । तर हालसम्म कम्तिमा १ सय २१ नेपालीको विदेशमा कोभिड–१९ का कारण मृत्‍यु भइसकेको छ । नेपालकै जस्ताे खानपान भएका नेपालका छिमकी भारत र चीनमा समेत ठूलो संख्यामा कोभिड–१९ का कारण मृत्‍यु भएकाले ओलीले उल्लेख गरेका खानेकुराले नेपालीको रोग प्रतिरोधी क्षमता बढाएको भन्ने कुनै आधार देखिँदैन ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री