नझुक्किनुस्, दार्चुलाको भनिएको पहिरोको त्यो तस्बिर पेरुको हाे

South Asia Check / मंगलबार, साउन ६, २०७७

दीपक अधिकारी/साउथ एसिया चेक

‘अपडेट: दार्चुलामा पहिरोमा परेर दुई जनाको मृत्‍यु, विद्यालय भवनसमेत ७ घर पुरिए’ शीर्षकको समाचार र तस्बिरलाई गत साउन ५ गते फेसबुक र ट्वीटरमा कैयौँ प्रयोगकर्ताले शेयर गरेका थिए । कालापानी टाइम्स नामक अनलाइनले उक्त समाचार र फोटो गत साउन ५ गते प्रकाशित गरेको थियो । त्यसैगरी जनबोली नामक अनलाइनले पनि सोही समाचार र फोटोलाई ‘फाइल फोटो’ भनी प्रकाशित गरेको थियो । समाचारमा उल्लेखित विवरण साँचाे भएपनि साे सँगै प्रकाशित तस्बिर भ्रमपूर्ण भएको पत्ता लागेको छ ।

ती अनलाइनहरुबाट साभार गरी ट्वीटर र फेसबुकमा उक्त समाचार र तस्बिर व्यापक रुपमा शेयर गरिएको थियो । १,०६३,४७७ सदस्य रहेको ‘सिधा कुरा नेपाली न्युज’ नामक फेसबुक ग्रुपमा पनि कालापानी टाइम्सको उक्त समाचार शेयर गरिएको थियो । त्यसैगरी चाँदनी पोस्टमा पनि उक्त समाचार प्रकाशित गरिएको छ जसलाई तीन लाखभन्दा बढी सदस्य भएको सिधा कुरा जनतासँग र १८,००० सदस्य भएको ‘नेत्रावती दब्जोङ_३ गैराबासी’ नामक फेसबुक पेजमा शेयर गरिएको छ ।

ट्वीटरमा आफ्नो बायोमा गुन्द्रुक खबर अनलाइनको प्रधान सम्पादक उल्लेख गरेका संजीव वाग्लेले ‘निरन्तरको वर्षा र त्यसले ल्याएको त्रासदी’ भन्दै उक्त फोटो शेयर गरेका छन् । उनको ट्वीटमा प्रतिक्रिया जनाउँदै ट्वीटर प्रयोगकर्ताले त्यसबारे थप जिज्ञासा राख्दा उनले यस्तो स्पष्टिकरण दिएका छन्, ‘वर्षा र पहिरोको त्रासदीको अवस्था देखाउन खोजेको हो। त्यो समाचार मेरो होइन। मैले हालेको होइन।’ उनले साउन ५ गते राति ९:४८ बजे गरेको ट्वीट २२ पटक रिट्वीट र कमेन्ट आएको छ भने ७८ पटक लाइक गरिएको छ।

तथ्य जाँच

हामीले गुगल इमेज, याण्डेक्स लगायत तस्बिर सर्चका साधन प्रयोग गरेर हेर्दा उक्त तस्बिर दार्चुलाको नभई दक्षिण अमेरिकी मुलुक पेरुको कुस्को भन्ने ठाउँमा गएको पहिरोको भएको फेला परेको छ । सन् २०१८ मार्च महिनामा पेरुको लुट्टो कुटुटो भन्ने गाउँमा एक हप्तासम्म भुक्षय भई सो पहिरो गएको थियो । साता दिनभरिमा उक्त घटना भएको र पहिरो गएको ठाउँमा वस्ती नभएकोले मानवीय क्षति नभएको जनाइएको छ । तर उक्त पहिरोले १०० वटा घरमा क्षति पुर्याएको बेलायतको शेफिल्ड विश्विविद्यालयका प्राध्यापक डेभ पिट्लीले आफ्नो ल्याण्डस्लाइड ब्लगमा उल्लेख गरेका छन् । पेरुको सोही तस्बिर युगाण्डा र रुवाण्डाका केही अनलाइनले त्यहाँ सन् २०१९ को जुनमा गएको पहिरो भन्दै प्रकाशित गरेका थिए । ‘ल्याण्डस्लाइड इमेज’ टाइप गरेर गुगलमा खोज्दा पेरुको उक्त तस्बिर सबैभन्दा माथि देखापर्छ ।

जलाधार संरक्षण विज्ञ मधुकर उपाध्यले बाढी पहिरोले यतिखेर मुलुक आक्रान्त भइरहेका बेला यस्ता भ्रामक समाचार सम्प्रेषण हुने गरेको बताए । “हरेक वर्ष बाढी पहिरो सँगै यस्ता अफवाह फैलिने गर्छन् । यसमा एकातिर सरकार वा सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने प्रयास देखिन्छ भने अर्कोतिर न्युज ब्रेक गरेँ भनेर आत्म तुष्टीका लागि पनि गरेको देखिन्छ । नेपालको पहाडमा त्यस्तो (तस्बिरमा देखिएको जस्तो) ठाउँ हुन्छ भनी पत्याउन गार्हो छ,” उनले साउथ एसिया चेकलाई बताए ।

यसर्थ पेरुमा गएको पहिरोको तस्बिरलाई नेपालको दार्चुला जिल्लाको भनी भ्रामक सूचना फैलाइएको ठहर्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री