काेरोना भाइरस खोपसम्बन्धी अध्यादेशमा के छ ?

Sanjog Shiwakoti / शुक्रबार, मंसिर ५, २०७७

प्रतीकात्मक तस्बिर स्रोत: फ्रिपिक

कोरोना भाइरस विरुद्धको खोपको यतिखेर विश्वभर प्रतीक्षा छ । हाल फाइजर, मोडर्ना लगायत कम्पनीले कोभिड-१९ विरुद्धको खोपका अन्तिम चरणका परीक्षण गरिरहेका छन् । नेपालीहरु पनि यस महामारीबाट आक्रान्त भएकाले कोभिड-१९ विरुद्धको खोपलाई सहज रुपमा नेपाल भित्र्याउन कानुनको आवश्यकता पर्ने भएकाले सरकारले अध्यादेश मार्फत सम्बन्धित कानुन संशोधन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मसिर ३ गते जारी गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ ले नेपालमा खोपको आयात र परीक्षणका लागि मार्गप्रशस्त गरेको छ । अहिले संसद बैठक नबसेकोले अध्यादेशमार्फत औषधि ‌ऐन संशोधन गरी नयाँ व्यवस्था गरिएको हो । सरकारले महामारी रोकथाम र नियन्त्रणसम्बन्धी कानुनका लागि संक्रामक रोग ऐन २०२० को प्रयोग गर्दै आएको छ ।

राष्ट्रपतिद्वारा जारी गरिएको औषधि अध्यादेश के हो ?

कानुन मन्त्रालयले बनाई मन्त्रिपरिषदबाट पारित २०७७ सालको ७ औँ उक्त अध्यादेश राष्ट्रपति भण्डारीले  मंसिर ३ गते जारी गरेकी हुन् । औषधि ऐन, २०३५ लाई संशोधन गर्न उक्त अध्यादेश ल्याइएको हो ।

यस अध्यादेशले कोरोनाको खोप आयात गर्न सहज पार्ने कानुनी बाटो खुला गरेको छ । यस अघि औषधि व्यवस्था विभागले ‘रेम्डेसिभिर’ नामक कोरोनाको औषधि नेपाल भित्र्याउन स्वीकृति दिएपनि उपयुक्त कानुनको अभावका कारण यसको आयात र बेचबिखनमा समस्या भएको थियो । यसै कारण कोरोनाको खोप उचित र सहज तरिकाले आयात गर्ने उद्देश्यका साथ सरकारले यो अध्यादेश ल्याएको हो ।

नेपालको संविधान २०७२ को धारा ११४ ले अध्यादेशको बारेमा व्याख्या गरेको छ । संघीय संसदको दुवै सदनको अधिवेशन नभएको अवस्थामा सरकारले तत्काल कानुन जारी गर्नुपर्ने भए अध्यादेश ल्याउन सक्छ । हाल संघीय संसदको अधिवेशन नभएकोले खोपको व्यवस्था गर्न र परीक्षणका लागि अनुमति दिन कानुनी उपाय अपनाइएको हो । उक्त औषधि अध्यादेश आगामी संसद् अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ को स्क्रिनसट

यस अध्यादेशले कोरोना खोप आयातका लागि के व्यवस्था गरेको छ ?

यस अध्यादेशले महामारीका रुपमा फैलिने कुनै पनि संक्रामक रोगको उपचारका लागि तयार गरिएको खोप वा औषधि नेपालमा भित्र्याउने बाटो खुल्ला गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले सूचीकृत गरेको या आधिकारिक नियामक निकायले दर्ता या प्रयोगको अनुमति दिएको खोप वा औषधिलाई नेपालको औषधि सल्लाहकार समितिको सिफारिसमा मात्र आपतकालीन रुपमा दर्ता गर्न सक्ने व्यवस्था गरेको छ ।

यसको अर्थ यस अध्यादेशले अबका दिनमा परीक्षण सफल भई विश्व स्वास्थ्य सङ्गठनले सूचीकृत गरेको या आधिकारिक नियामक निकायले दर्ता या प्रयोगको अनुमति दिएको कोरोनाको खोपलाई सहजरुपमा नेपालमा भित्र्याउन अनुमति दिनेछ ।

यसैगरी उक्त अध्यादेशमा त्यस्ता खोप वा औषधि आयात गर्न चाहने कम्पनीले विभागसँग अनुमति लिनुपर्ने र उक्त खोप वा औषधिको बिक्रि, प्रयोग र वितरणमा आवश्यक शर्त तोक्नसक्ने प्रावधान छ ।

क्लिनिकल ट्रायल सम्बन्धी के व्यवस्था छ ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुनै रोगको उपचारहरूको अध्ययन अनुसन्धान र परीक्षणलाई ‘क्लिनिकल ट्रायल’ भनिन्छ । मान्छेको स्वास्थ्यमा ती परीक्षणका परिणामले कस्तो प्रभाव पार्छन् भनी तिनको मूल्याङ्कन हुन्छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरण अनुसार हाल ४८ कम्पनीका खोप क्लिनिकल ट्रायल अर्थात् मानव परीक्षणको तहमा प्रवेश गरेका छन्। तीमध्ये ११ वटा कम्पनीका खोप क्लिनिकल ट्रायल अन्तर्गत तेस्रो चरणमा छन् जसमा तिनको प्रभावकारिताबारे अन्तिम परीक्षण हुन्छ।

क्लिनिकल ट्रायललाई औषधि ऐनको तेस्रो संशोधनले पनि समेटेको छ । उक्त ऐन अनुसार क्लिनिकल ट्रायल भन्नाले कुनै नयाँ औषधि प्रयोगमा ल्याउन उचित छ वा छैन भन्ने कुरा यकीन गर्ने उद्देश्यले अनुमतिपत्रमा तोकिदिए बमोजिम अस्पताल वा यस्तै अन्य चिकित्शालयमा रोगी वा अन्य व्यक्तिको इच्छानुसार निजलाई सेवन गराई परीक्षण गर्ने कार्य हो ।

यस अध्यादेशले विदेशी मुलुकमा निर्मित खोपको क्लिनिकल ट्रायल नेपालमा गर्ने व्यवस्था खुला गरेको छ । यस अध्यादेशमा विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमति बमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा पनि परीक्षण गर्न चाहेमा नेपाल सरकारले सोको लागि अनुमति दिनसक्ने व्यवस्था गरिएको छ ।

काठमाडौ, मनमैजु निवासी दिपक श्रेष्ठको पुरै परिवार (श्रीमती, आमा र नाबालक छोरा) कोभिड-१९ बाट संक्रमित भई हाल निको भइसकेका छन् । खोपसम्बन्धी अध्यादेश जारी भएको खबरले निकै उत्साहित भएको उनी बताउँछन् । “सहज रुपमा खोप उपलब्ध हुन सक्ने यो कानुनले मलाई र अरुलाई पनि आशावादी बनाएको छ,” उनले साउथ एसिया चेकलाई बताए ।  

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री