बिजुक्छेले गरे भारतीय पूर्व जासुसको पुस्तक उद्धृत गर्दै गलत दाबी

Dilip Dhakal / शनिबार, पौष ११, २०७७

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे स्राेत: युट्युब

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गत पुस ६ गते एभरेष्ट अनलाइन नामक युट्युब च्यानलसँगको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको विघटन गरेपछि उत्पन्न राजनीतिक घटना बारे छलफल गरे । उक्त अन्तरवार्ताका क्रममा उनले भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् २०१२–१४ भित्रमा नेपाललाई भारतमा गाभ्ने योजना बनाएको तर विभिन्न कारणले त्यो असफल भएको र भारतले अझै पनि नेपाललाई सिक्किम बनाउने उद्देश्य राखेको दाबी गरेका छन् ।


बिजुक्छेले अन्तरवार्तामा भनेका छन्, “रअ (भारतीय जासुसी निकाय रिसर्च एण्ड एनालिसिस विङ) कै एकजना (आर के) यादव भन्नेले लेखेको छ । इन्दिरा गान्धीले नेपाललाई सन् २०१२–१४ सम्ममा सिक्किम बनाउने भन्ने नै थियो । अब त्यसबेला त भएन विभिन्न कारणले । यसको अर्थ के हो भने इण्डियाले अहिले पनि नेपालको विषयमा आफ्नो लक्ष्यलाई, सिक्किम बनाउने विषयमा उसले छोडेको छैन ।” (१२ मिनेट ४० सेकेन्डमा सुन्नुहोस्)

तथ्य जाँच

बिजुक्छेले उद्धृत गरेको पुस्तक भारतीय पूर्व गुप्तचर अधिकारी आर के यादवले लेखेको र सन् २०१४ मा प्रकाशित “मिसन रअ” हो । उक्त पुस्तकमा यादवले सो जासुसी संस्थाको भित्री पाटो उजागर गरेका छन् ।

भारतकाे वाह्य जासुसी निकाय रअ का पूर्व अधिकारी आर के यादवले लेखेकाे “मिसन रअ” नामक पुस्तककाे पेज २६३

उक्त पुस्तकको २६३ पृष्ठमा यादवले लेखेका छन्, “(रअका संस्थापक रामेश्वर नाथ) कावले मलाई भने कि उनी सिक्किमलाई भारतमा विलय गराएपछि नेपालको तराई क्षेत्रलाई विघटित गर्न चाहन्थे । किनभने त्यहाँ चीनको उपस्थिति बढिरहेकोप्रति इन्दिरा गान्धी असन्तुष्ट थिइन् । अहिले भारतमाथि गम्भीर सुरक्षा चुनौती बनेको माओवादीको खतरा उनले सन् १९७३ मै देखेका थिए । सिक्किम भारतमा गाभिएको केही समय पछि नै सन् १९७५ मा इन्दिरा गान्धीले भारतमा इमर्जेन्सी लगाइन् जसबाट उत्पन्न राजनीतिक उथलपुथलका कारण तराईलाई भारतमा विलय गराउने कुरा पछि धकेलियो । सन् १९७७ मा भएको चुनावमा दुर्भाग्यवश इन्दिरा गान्धी पराजित भइन् जसले गर्दा उनको दलले सरकार बनाउन सकेन । फलतः कावले तराईलाई भारतमा गाभ्ने लगायतका जिम्मेवारी पुरा गर्न पाएनन् ।”

यादवले आफ्नो पुस्तकमा नेपालको तराईलाई विघटित गर्ने भारतीय योजनाबारे उल्लेख गरेका छन् । तर पुस्तकमा भारतकाे यो योजना पुरा गर्ने समयसीमा बारे केही उल्लेख छैन । त्यसैले बिजुक्छेले उक्त पुस्तकलाई गलत तरिकाले उद्धृत गरेका छन् । उनले तराईलाई भारतमा सन् २०१२–१४ सम्ममा विलय गराउने भनी गरेको दाबी पनि केवल उनको प्रक्षेपण मात्र सिद्ध भएको छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री