तस्बिरमा जो बाइडेनले जर्ज फ्लोयडकी छोरीसँग माफी मागेका हुन् ?

Sanjog Shiwakoti / सोमबार, पौष २०, २०७७

फेसबुक र ट्वीटरमा शेयर भएको उक्त तस्बिरको स्क्रिनसट

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन एक बच्चाको अगाडि घुँडा टेकिरहेको तस्बिर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्तामाझ केही दिनयता व्यापक रुपमा शेयर भएको छ । “अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन अमेरिकी पुलिसबाट मारिएका जर्ज फ्लोयडकी छोरीसँग माफी माग्दै” भन्ने दाबीका साथ उक्त तस्बिर फेसबुक र ट्वीटरमा धेरैले शेयर गरेका छन् । २०७७ साल जेठ १२ गते अमेरिकी प्रहरीको हातबाट मारिएका ४६ वर्षिय अश्वेत नागरिक जर्ज फ्लोयडको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त घटनापछि कोरोना भाइरसको त्रासका बीच अमेरिकाका विभिन्न शहरमा रंगभेद विरोधी जुलुस भएका थियो । उक्त आन्दोलनको समर्थनमा जुलुस बेलायत लगायतका देशमा पनि निस्किएका थिए ।

तिनै फ्लोयडकी छोरीसँग बाइडेनले माफी मागेका भनी सामाजिक सञ्जालमा गरिएको दाबी गलत छ । उक्त तस्बिर जो बाइडेनको आधिकारिक इन्स्टाग्राममा भाद्र ३०, २०७७ मा राखिएको छ, जसमा ती बालिका फ्लोयडको छोरी भएको वा उनले माफि मागेको केही उल्लेख छैन । राष्ट्रपतिय चुनाव अभियानका क्रममा खिचिएको उक्त तस्बिर मिसेल ओबामाले पनि कार्तिक १८, २०७७ मा ट्वीटरमा शेयर गरेकी छिन् ।

श्रोत: बाइडेनको इन्स्टाग्राममा राखिएको उक्त तस्बिरको स्क्रिनसट

“Routines of Nepal Banda” नामक फेसबुक पेजले शेयर गरेको उक्त तस्बिर र दाबी ५८ पटक शेयर भएको छ भने त्यसमा १३०० भन्दा बढी प्रतिक्रिया छन् । यसैगरी क्रिस्टीना पुरी नामक ट्वीटर ह्यान्डलबाट शेयर गरिएको सोही दाबी १५ पटक रिट्वीट भएको छ भने १७१ पटक प्रतिक्रिया जनाइएको छ । उक्त तस्बिर उज्यालो रेडियो नेटवर्कको आधिकारिक फेसबुक पेजले पनि शेयर गरेको छ । उनीहरु जस्तै कैयौं अन्य पेजहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त तस्बिर र दाबी शेयर गरेका छन् ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त तस्बिरको ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्ने क्रममा उक्त तस्बिरको मूल संस्करण अन्तर्राष्ट्रिय फोटो एजेन्सी गेट्टी इमेजजको वेबसाइटमा फेला पारेको छ । गेट्टी इमेजजको वेबसाइटमा राखिएको उक्त तस्बिर फोटोग्राफर चिप सोमोदेभिल्लाले अमेरिकी राज्य मिसिगनको डिट्रोइट शहरमा भाद्र २४, २०७७ गते खिचेको उल्लेख गरिएको छ । गेट्टी इमेजजले सि.जे. ब्राउन नाम गरेका बालकसँग कुरा गर्न बाइडेन घुँडा टेकेर बसेको बताएको छ । उक्त तस्बिर सँगै तिनै फोटोग्राफरका अन्य तस्बिरहरु (जस्तै सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउनसँग बाइडेनकोको तस्बिर) पनि गेट्टि इमेजजको वेबसाइटमा छन् ।

गेट्टी इमेजजमा राखिएको समाचार एजेन्सी एएफपीका फोटोग्राफर जिम वाट्सनको तस्बिरमा घुँडा टेकेर बसेका बाइडेन, सि.जे. ब्राउनका साथै बाइडेनका पछाडि उभिएका सि.जे. ब्राउनका बुबा क्लिमेन्ट ब्राउन पनि रहेका छन् ।

त्यस बेलाको विभिन्न तस्बिरहरु र त्यहाँ उल्लेख गरिएको क्याप्सनको आधारमा हेर्दा बाइडेनले घुँडा टेकेर बोल्दै गरेको बालक जर्ज फ्लोयडकी छोरी नभइ थ्रि थर्टिन स्टोर नामक पसलका साहु क्लिमेन्ट ब्राउनका छोरा सि.जे. ब्राउन रहेको पुष्टि हुन्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री