लेखक वाग्लेको भनाइ भन्दै शेयर गरिएको मिम गलत

Sanjog Shiwakoti / मंगलबार, माघ १३, २०७७

फेसबुक र ट्वीटरमा शेयर भएको उक्त मिमको स्क्रिनसट

चर्चित पत्रकार तथा लेखक नारायण वाग्लेको फोटो समेत राखी बनाइएको एक मिम नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ता माझ माघ १२ गतेदेखि व्यापक शेयर गरिएको छ । वाग्लेले भनेकाे भन्दै यस्ताे भनाइ व्यापक बनाइएकाे छ: “संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यसैले मन्दिर बनाउने, पूजा गर्ने काम बन्द हुनुपर्छ । धर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनुपर्छ । पूजापाठ बन्द गरिनुपर्छ ।” उक्त मिममा उनको फोटो सहित उनलाई “नारायण वाग्ले, लेखक, अभियन्ता” भनिएकाे छ । फोटो फर्म्याटमा बनाइएको उक्त मिम सामाजिक सञ्जालमा सयभन्दा बढीले शेयर गरेका छन् ।

कुसुम ज्ञवाली नामक ट्वीटर ह्यान्डलबाट माघ १३ गते बिहान ६:२१ बजे ट्वीट भएको उक्त मिम ३६ पटक रिट्वीट भइसकेको छ । यसैगरी बिनु पोखरेल नामक ट्वीटर ह्यान्डलबाट माघ १३ बिहान ६:४६ बजे ट्वीट भएको उक्त मिम ४१ पटक रिट्वीट भइसकेको छ । यसैगरी उक्त मिम फेसबुक प्रयोगर्ताहरुमाझ पनि शेयर भइरहेको छ ।

उक्त मिमबारे नारायण वाग्लेले माघ १३ गते बिहान ७:५१ बजे यस्ताे ट्वीट गरे, “मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो? किन? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरू भएको यो चालबाट सावधान रहनु होला है!” उनको उक्त ट्वीट ४१७ पटक शेयर भएको छ भने त्यसमा ९५० भन्दा धेरै प्रतिक्रिया आएका छन् ।

साउथ एसिया चेकले उक्त मिमको तथ्य जाँच गरेको छ ।

तस्बिर स्राेत : सुनौलो नेपाल टिभी युट्युब च्यानलमा प्रसारित भिडियाेकाे स्क्रिनसट

गत २०७७ साल माघ १२ गते सोमबार बृहत् नागरिक आन्दोलनको आह्वानमा प्रतिनिधिसभा विघटनको विरोधमा बालुवाटारमा भएको विरोध प्रदर्शनका क्रममा वाग्लेले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । आफ्नो मन्तव्यमा उनले मन्दिर र संविधान बारे केही टिप्पणी गरेका थिए । उनले भनेका थिए, “जो बालुवाटारमा बस्याछन्, यिनले देशभरि पहिला मन्दिर बनाउँछु भन्दै हिँडे । अब पूजा-आरती गर्दै हिँड्दैछन् । यिनले संविधान पढेका छन् कि छैनन्?  त्यो संविधानमा के लेखेको छ? त्यो संविधानमा लेखेको छ, धर्म निरपेक्षता । यिनले त खलबलाउन खोजेकै संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व सहितको लोकतन्त्र नै हो ।”

उनको यही भनाइलाई तोडमरोड गरी उनको मन्तव्यको भोलिपल्ट नै मिम बनाइ ट्वीटरमा व्यापक बनाइएको छ । हामीले उक्त भिडियाेकाे अध्ययन गर्याै । वाग्लेले आफ्नो मन्तव्यमा मन्दिर बनाउने, पूजा गर्ने काम बन्द गर्नुपर्ने तथा मन्दिर भत्काउनुपर्ने जस्ता भनाइ नराखेको पाइएको छ ।

सरकार र प्रधानमन्त्री केपी शर्मा ‌ओलीले चालेका कदमको आलोचना गर्ने क्रममा वाग्लेले राखेको मन्तव्यलाई मोडेर गलत अर्थ लाग्ने गरी बनाइएको उक्त मिम गलत रहेको पुष्टि हुन्छ ।     

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री