प्रधानमन्त्रीले भनेजस्तो तामाङले स्वर्ण पदक जितेकी हैनन्

Sanjog Shiwakoti / बुधबार, माघ २१, २०७७

प्रधानमन्त्री ओली तस्बिर स्राेत: युट्युब

राष्ट्रिय खेलकुद परिषदले गत माघ २० गते काठमाडौँमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभिगताबारे उल्लेख गरे ।

आफ्नाे मन्तव्यका क्रममा उनले भने, “सरकारले साउथ कोरिया टिम पठायो, खेल्नका लागि । एउटी बालिकाले म माथि अन्याय पर्‍यो, म व्यक्तिगत तवरमा गएर खेल्छु । म स्वर्ण पदक ल्याउने मान्छेलाई खेल्न नदिएर, नपठाएर अरु-अरुलाई छानियो मलाई रोकियो । म आफ्नो तर्फबाट जान्छु भनेर खेल्न गइन् र उनले स्वर्ण पदक जितेर ल्याइन् ।”

साउथ एसिया चेकले प्रधानमन्त्री ओलीको भनाइको तथ्य जाँच गरेको छ ।

ओलीले उल्लेख गरेको सन्दर्भ सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा  आयोजित १७ औं एसियाली खेलकुदको हो । त्यस बेला नेपालमा रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाल कराँते महासंघहरू खेलाडीको छनोट, सहभागिता आदिलाई लिएर विवादमा परेका थिए । यही विवादका कारण १८ वर्षिय कराते खेलाडी बिमला तामाङ छनोटमा परेकी थिइनन् ।

स्राेत: विमला तामाङको फेसबुक

उनका गुरु ध्रुवविक्रम मल्लको सहयोगमा निजी खर्चमा उनी उक्त प्रतियोगितामा भाग लिन गइन् । तामाङको परिवारको आर्थिक स्थिति कमजोर रहेकोले खर्च धान्न नसक्ने हुनाले उनका गुरु मल्लले निजी खर्चमा उनलाई दक्षिण कोरिया पठाएका थिए

तामाङले उक्त प्रतियोगितामा कास्य पदक जितेर कीर्तिमान राखेकी थिइन् । १७ औं एसियाली खेलकुदमा नेपाललाई उनले पदकविहीन हुनबाट जोगाएकी थिइन् । उक्त प्रतिस्पर्धामा नेपालबाट २५ वटा विधामा २०४ जना खेलाडी सहभागी थिए । तामाङले महिला एकल कातामा कास्य पदक जितेकी थिइन् ।

आफ्ना गुरुको आर्थिक सहयोगमा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिई कास्य पदक जितेकी बिमला तामाङले दक्षिण कोरिया पुगेर स्वर्ण पदक जितिन् भनी प्रधानमन्त्री ओलीले गरेको दाबी गलत ठहर्छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री