डेढ महिना अघिको फोटोमा भारतीय झण्डा राखी यसरी भाइरल बनाइयो

Sanjog Shiwakoti / बुधबार, माघ २८, २०७७

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा माघ २८ गते नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाका तस्बिरहरु विभिन्न अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शेयर गरेका छन् । यिनै तस्बिरहरुमध्ये जुलुसको बीचमा भारतीय झन्डा बोकेको एक तस्बिर फेसबुक, ट्वीटर लगायतका सामाजीक सञ्जालमा व्यापक रुपमा शेयर भइरहेका छ । उक्त तस्बिरकै आधारमा केही अनलाइनले समाचार पनि प्रकाशित गरेका छन् ।

जनता टाइम्स अनलाइनले ‘प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा, यसरी खुल्यो नेपालविरोधी हर्कतको रहस्य’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । तर उक्त अनलाइनले आफ्नो समाचारलाई सच्याएर “प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा !” शीर्षक राखेको छ । उसले वास्तविक तस्बिर पनि प्रकाशित गरेको छ ।

यसैगरी चक्रपथ अनलाइनले ‘प्रचण्ड–माधवको जुलुसमा भारतीय झण्डाको प्रयोग !’ शीर्षकमा उक्त फोटोसहित समाचार प्रकाशित गरेको छ ।

उक्त तस्बीर ट्वीटर र फेसबुकमा प्रयोगकर्तामाझ व्यापक शेयर भएको छ । ट्वीटरमा विशाल दत्त भट्ट (@iambishalbhatta) नामक ह्यान्डलले ‘प्रचण्ड-माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा भारतीय झण्डा बोकेर प्रधानमन्त्री केपी ओलि विरुद्ध नारा लाउने भेटिएका छन् ।’ भन्दै शेयर गरेको उक्त फोटो ४९ पटक रिट्वीट भएको छ । यसैगरी विशाल भट्टले फेसबुकमा पनि शेयर गरेको सोही क्याप्सन सहितको तस्बिर १५६ पटक शेयर भएको छ ।

माइलो (@khadga_acharya) नामक ट्वीटर ह्यान्डलबाट शेयर भएको उक्त फोटो १० पटक रिट्वीट भएको छ ।

यसैगरी गणेश बस्नेतले शेयर गरेको जनता टाइम्सको समाचारको लिङ्क ४८९ पटक शेयर भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको फेसबुकको पब्लिक ग्रुपमा धेरै प्रयोगकर्ताले उक्त तस्बिर शेयर गरेका छन् ।

उक्त तस्बिर र दाबीको साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

यो तस्बिरलाई गुगल रिभर्स इमेज सर्चमा खोज्दा उक्त तस्बिर अन्नपूर्ण पोस्टमा झण्डै डेढ महिना अघि प्रकाशित भएको ‘संसद् विघटनविरुद्ध नेकपाको विरोधसभा (फोटो फिचर)’ शीर्षकको समाचारमा पाइएको छ । यो तस्बीर माघ २८ गते आयोजित विरोध सभाको नभई २०७७ पौष १४ गते संसद् विघटनविरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोध सभाको तस्बीर रहेको फेला परेको छ । उमा विष्ट/सुनिता डंगोलले खिचेको अन्नपूर्ण पोस्टमा प्रकाशित तस्बीरहरुमध्ये सामाजिक सञ्जालमा आज शेयर गरिएको तस्बिर पनि समावेश छ ।

भाइरल भएको भारतीय झण्डा सहितको तस्बिरसँग हुबहु मिल्ने उक्त तस्बिरमा भारतीय झण्डा रहेको छैन । साढे एक महिना अघिको विरोध सभाको तस्बिरलाई सम्पादन गरी भारतीय झण्डा राखी भाइरल बनाइएको छ ।   

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री