नुनपानीले कुल्ला गर्दा कोभिड-१९ नसर्ने प्रधानमन्त्री ओलीको दाबी गलत

Sanjog Shiwakoti / सोमबार, फाल्गुण १०, २०७७

पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा सम्बोधन गर्दै ओली तस्बिर स्राेत : युट्युब

प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७७ फाल्गुन ९ गते आयोजित पाँचौ इन्द्रदह पर्यटन महोत्सवमा सम्बोधन गर्दै कोरोना भाइरस सम्बन्धी अप्रमाणित र भ्रामक भनी पुष्टी भइसकेको दाबी दोहोर्याएका छन् । विश्व स्वास्थ संगठनले कोभिड-१९ महामारीको सुरुवात ताका नै ‘मिथ बस्टर्स’ अर्थात् ‘कोभिड-१९ विरुद्ध फैलिएका भ्रमहरुबारेको तथ्य’ समेटिएको श्रृंखलामा समावेश गरेको मिथ्या सूचनालाई ओलीले प्रस्तुत गरेका हुन् । करीब एक वर्ष अघि नै कैयौं अन्तर्राष्ट्रिय तथ्य जाँचकीहरुले उक्त दाबीमाथि तथ्य जाँच गरिसकेका छन् । अझ आफुले पहिले यसो भन्दा मानिसले उडाए भनी साेही दाबी दोहोर्याउँदै उनले त्यसको प्रतिवाद गरेका छन् ।

ओलीले उक्त कार्यक्रममा भनेका थिए:

“कोभिड आइरन्छ फेरि गइरन्छ, पस्छ नाकमा । सफा गर्दिएपछि भागिहाल्छ । घाँटीसम्म पुगिहालेछ भने नुन पानीले गार्गल गर्दियो, तातो तातो पानीले गार्गल गर्दिएपछि खत्तम ।“

विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमा प्रस्ट लेखेको छ: “तथ्य : नुन पानीले नाक सफा गर्नाले कोभिड-१९ को रोकथाम हुँदैन।” नुन पानीले कोरोनाभाइरस निर्मुल गर्छ भन्ने कुरा प्रमाणित हैन । नुन पानीले बारम्बार नाक सफा गर्यो भने रुघाखोकी लागेको मानिसलाई चाँडो निको हुन मद्दत गर्ने भएता पनि यसले श्वासप्रश्वाससम्बन्धी संक्रमणलाई नरोक्ने तथ्य विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।

अमेरिकी स्वास्थ्य समाचार संस्था ‘वेबएमडी’ ले पनि नुन पानीले कुल्ला गर्नाले कोरोना भाइरस हट्ने कुनै पनि प्रमाण नरहेको तथ्य उजागर गरेको छ

घाँटी दुखाइको लागि घरेलु उपचारको रूपमा नुन पानीले कुल्ला गर्दा प्रभावकारी हुने सावित भएको छ । यसै कारणले केही अनुसन्धानकर्ताहरुले यस्ले कोभिड-१९ को रोकथाम गर्न सक्ने आंकलन गरेका छन् । बिबिसीका अनुसार बेलायतको एडिनबरा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नुनपानीले कुल्ला गर्दा कोभिड-१९ को संक्रमण रोकिन्छ कि भनी अनुसन्धान गरिरहेका छन् । साउथ एसिया चेकले गरेको खोजीमा कुनै पनि आधिकारिक चिकित्सा संस्थाले कोरोना भाइरसबाट हुने संक्रमण रोक्न नुन पानीको प्रयोग गर्न सुझाव दिएको फेला परेन । यसर्थ नाक सफा गर्नाले र नुन पानीले कुल्ला गर्नाले कोभिड-१९ खत्तम हुन्छ भन्ने ओलीको दाबी गलत छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री