प्रचण्डको भनाइ भन्दै भाइरल टिकटक भिडियो भ्रामक

Sanjog Shiwakoti / बिहीबार, चैत्र ५, २०७७

नेपालका भूतपूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले फाल्गुन २९ गते काठमाडौंमा गरेको भाषणको भिडियो क्लिप केही दिन यता विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा पौडेल आर्यन (@paudelaryan) को टिकटकको लोगो देख्न सकिन्छ भने केही प्रयोगकर्ताले उक्त लोगो नदेखिने बनाएका छन् । छाेटा र खासगरी गीतसम्बन्धी भिडियो बनाई शेयर गर्न सकिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताले आफै बोलेर, अभिनय गरेर, अरुको आवाजमा अभिनय गरेर वा उपलब्ध फोटो वा भिडियो प्रयोग गरी छुट्टै भिडियो बनाउन सक्छन् । ती सामग्री टिकटकका साथै फेसबुक, ट्वीटर आदिमा पनि शेयर गर्न सकिन्छ ।

उक्त २१ सेकेण्डको लामो भिडियोमा “कति नी लाज न भाको हेर्नु त जनता खराब रे लास्टमा त यो प्रचण्डको भनाई कामचोर लोभी पापी रे जनतालाई त” भन्ने वाक्य छ । भिडियोमा प्रचण्डको यस्तो भनाइ राखिएको छ :

“नेता होइन, जनता नै खराब भाको हुनाले नेता नि खराब भएका । तपाईहरु सबै असल हुनुस् त, नेता असल नभई सुख पाउँछ त? तपाईहरु चाहिँ कामचोर, कहीँ न कहीँ अल्छी, अलि लोभी, अलि पापी धेरै हुनु भो । नेता पनि त्यस्तै भए ।”

पौडेल आर्यनले टिकटकमा राखेको उक्त भिडियो  ३ लाख ३५ हजार पटक भन्दा बढी हेरिएको छ भने विभिन्न सामाजिक सञ्जालमा २०७४ पटक शेयर भएका छन् । उक्त भिडियोमा १७००० ‘लभ रियाक्ट’ आएका छन् भने १८०० भन्दा धेरै प्रतिक्रिया । सोही भिडियो फेसबुकमा पनि धेरै जनाले शेयर गरेका छन् । भानु सिपिएन (Bhanu Cpn) नामक फेसबुकमा चैत्र ३ गते पोष्ट गरिएको उक्त भिडियो ३४०० पटक शेयर भएको छ भने १ लाख ११ हजार पटक हेरिएको छ । यसैगरी रुद्र थापा सरु (Rudra Thapa Saru) ले ‘सस्तो घर जग्गा नेपाल काठमाडौं’ नामक फेसबुकको पब्लिक ग्रुपमा शेयर गरेको उक्त भिडियो ९१ पटक शेयर गरिएको छ । यस्तै ‘नेपाली मन नेपाली पन’ नामक पेजले शेयर गरेको भिडियो १३०० पटक हेरिएको छ भने २६ पटक शेयर गरिएको छ ।

उक्त २१ सेकेण्ड लामो भिडियोमा केही शब्द बदली पौडेल आर्यन (@paudelaryan) को टिकटकको लोगो नदेखिने गरी सोही भिडियो ट्वीटरमा पनि शेयर गरिएको छ । किरण जोशी (@kiranjoshi235) नामक ह्याण्डलबाट पोष्ट गरिएको उक्त भिडियो १६ पटक रिट्वीट भएको छ ।

तथ्य जाँच:

उक्त भिडियोमा सुत्र टिभीको लोगो देखिएको हुनाले हामीले सुत्र टिभीको युट्युब च्यानलमा खोजी गर्दा सोही भिडियोको २६ मिनेट ३२ सेकेण्ड लामो पूर्ण अंश फेला पर्यो । उक्त भिडियो प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले गरेको भाषणको रहेको पत्ता लाग्यो ।

भाइरल बनाइएको भिडियोमा दाबी गरे जस्तै प्रचण्डले ‘नेता होइन जनता नै खराब भाको हुनाले नेता नि खराब भएका…..’ भन्ने अभिव्यक्ति दिएका हुन् । तर उनले ती शब्दहरु नेपाली जनताका सन्दर्भमा प्रयोग गरेका होइनन् । उनले एक प्रसिद्ध चिनियाँ कवि लु सुनलाई उद्धृत गर्दै त्यसो भनेका हुन् ।

प्रचण्डले कार्यक्रममा राखेको पूरा भनाइ यस्ताे छ:  “लु सुन भन्ने एउटा महान कवि तपाईहरु सबैले सुन्नुभएको छ । मानिसहरुले असाध्यै धेरै त्यतिबेला चै एकथरि मान्छेमा आदत भयो, नेतालाई गाली गर्ने । नेतालाई गाली गर्ने । जतिबेला पनि नेताहरु खत्तम भयो भन्या छ, पार्टीलाई गाली गर्या छ, जताकतै । त्यसो गरेको सुनेपछि लु सुनले भन्नुभाथ्यो- नेता होइन, जनता नै खराब भाको हुनाले नेता नि खराब भएका । तपाईहरु सबै असल हुनुस् त, नेता असल नभई सुख पाउँछ त?  तपाईहरु चाहिँ कामचोर, कहीँ न कहीँ अल्छी, अलि लोभी, अलि पापी धेरै हुनु भो । नेता पनि त्यस्तै भए, भन्नुभाछ के लु सुनले ।”

चिनिया कवि लु सुनलाई उद्धृत गर्दै प्रचण्डले दिएको अभिव्यक्तिलाई काटेर बीचको भाग मात्र समावेश गरी भ्रामक भिडियो क्लिप शेयर गरिएको छ ।

त्यसैले सुत्र टिभीको भिडियोलाई केही काँटछाँट गरी बेग्लै अर्थ लाग्ने गरी प्रचण्डकाे भाषणको भिडियोलाई भाइरल बनाइएको हाम्रो ठहर छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री