यी तस्बिर नेपालमा लागेको डढेलोका हुन् ?

Sanjog Shiwakoti / मंगलबार, चैत्र १७, २०७७

केही दिनयता मुलुकभरका जंगलमा डढेलो लागेको र पर्याप्त* हावा नचलेको कारण काठमाडौँ, पोखरा लगायतका शहरमा तुवाँलो फैलिएको छ । जसले गर्दा राजधानी लगायतका स्थानमा चैत १७ गतेदेखि चार दिनका लागि सरकारले विद्यालयहरु बन्द गराएको छ । वायु प्रदुषणका कारण उडानहरु प्रभावित भएका छन् भने गत चैत १३ गते काठमाडौँ विश्वकै सबैभन्दा प्रदुषित शहर बन्यो ।

गत चैत १६ गतेदेखि डढेलोबाट नेपालमा भएको क्षतिबारे ध्यानाकर्षण गराउन ट्वीटर र फेसबुकमा #PrayforNepal व्यापक रुपमा शेयर गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले आगलागीका विभिन्न तस्बिर नेपालको डढेलोको भन्दै शेयर गरेका छन् । ट्वीटरमा यहाँ यहाँ र फेसबुकमा यहाँ यहाँ ती तस्बिर शेयर गरिएका छन् । तिनमा केही नेपालका डढेलोका तस्बिर छन् भने अधिकांश विदेशमा भएका आगलागीका तस्बिर भएको फेला परेको छ ।

तीमध्ये चारवटा भ्रामक तस्बिरको हामीले तथ्य जाँच गरेका छौँ ।

पहिलो तस्बिर

आगोको लप्काबाट भाग्दै गरेको मृगको यो तस्बिर अमेरिकाको क्यालिफोर्नियामा सन् २००३ को अक्टोबर २८ तारिखमा खिचिएको अमेरिकी टेलिभिजन च्यानल सिबिएसले जनाएको छ । उक्त तस्बिर अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसबाट लिइएको सिबिएसले जनाएको छ ।

दोस्रो तस्बिर

आगलागी भएको ठाउँको काठका मुढा नजिकै उभिएको गाईको तस्बिर अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जको रहेको नेसनल जियोग्राफिकले जनाएको छ । उक्त तस्बिर युरोपेली फोटो एजेन्सी इपिएका नोआ बर्गरले सन् २०१३ को अगस्ट २४ तारिखमा खिचिएको हो ।

तेस्रो तस्बिर

यो तस्बिर क्यानडाको जंगलमा सन् २०१७ को वर्खामा लागेको डढेलोको भएको पत्ता लागेको छ । डिजिटल जर्नलका अनुसार ब्रिटिस कोलम्बियामा लागेको उक्त डढेलोले ठूलो क्षति गरेको थियो ।

चौथो तस्बिर

नेपालमा लागेको डढेलोको भनी फैलाइएको यो तस्बिर इण्डोनिसियाको आगलागीको भएको द कन्भर्सेसनले जनाएको छ । उक्त तस्बिर अन्तरा फोटो एजेन्सीका फोटोग्राफर रोनी मुहरमानले खिचेको बताइएको छ ।

यसरी नेपालमा यस वर्ष मनसुन अगाडि लागेको डढेलोको तस्बिर भन्दै अमेरिका, क्यानडा र इण्डोनेसियामा यसअघि भएका आगलागीका तस्बिर सामाजिक सञ्जालमा शेयर गरी भ्रम फैलाइएको छ ।

*थपिएकाे ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री