जनवरी १ देखि मार्च ३१ सम्मको नाम नखुलेका स्रोत

South Asia Check / मंगलबार, चैत्र २४, २०७७

सन् २०२१ को जनवरी १ देखि मार्च ३१ सम्म काठमाडौंबाट प्रकाशित हुने पाँचवटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामिलामा नागरिक सबैभन्दा अगाडि रह्यो । उसले २१० ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्सका पहिलो पृष्ठमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ । तर कोभिड- १९ बाट सिर्जित परिस्थितिका कारण रिपब्लिकाले छापा संस्करण र इपेपर बन्द गरेको छ । उक्त दैनिक पूरा अवधि प्रकाशित नभएकाले हामीले त्यसलाई समेटेका छैनौँ।

नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमश: कान्तिपुर, द काठमाण्डु पोस्ट्,  अन्नपूर्ण पोस्ट् र हिमालयन टाइम्स छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले १२ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको छ।

यस अवधिमा ५ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ६८५ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए।

सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएका थिए । पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार राजनीति सम्बन्धी थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (४०८ ठाउँमा) प्रयोग गरिएको थियो । नागरिक र द काठमाडौं पोस्टमा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: १६४ र १०४ ठाउँमा) उद्धृत गरिएको थियो ।

राजनीतिपछि स्वास्थ्य सम्बन्धी समाचारमा नाम नखुलेको स्रोतलाई सबैभन्दा बढी (६४ ठाउँमा) प्रयोग गरिएको थियो ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित कतिपय समाचारमा आवश्यकता नभएको ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि नेपाली भाषाको एक दैनिक पत्रिकामा प्रकाशित ‘कोभिसिल्ड खोप नेपाललाई अनुकूल’ शीर्षकको समाचारमा भनिएको छ: “२ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने प्रमुख विशेषतासँगै सिरम इन्स्टिच्युटको खोप हामीले वर्षौंदेखि उपयोग गर्दै आएकाले यसको विश्वसनीयतासँग अवगत छौं,’ कोभिड–१९ विरुद्धको खोपसम्बन्धी दूत कार्य योजना तयारी समितिका एक पदाधिकारीले भने, ‘सिरमको उत्पादन क्षमताले समेत बढी आशावादी छौं।”

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णय गरेपछि प्रकाशित नेपाली भाषाको अर्को दैनिक पत्रिकामा ‘कसरी बढ्छ अबको प्रक्रिया’ शीर्षकको समाचारमा भनिएको छ:“संविधानमा धेरै कुरा अस्पष्ट छन् । त्यसलाई आफू अनुकूल प्रयोग गर्न खोज्दा आगामी दिनको यात्रा पनि सीधा देखिँदैन,” एक कानुनविद्ले भने।

नेपाली भाषाको अर्को दैनिक पत्रिकामा प्रकाशित ‘सरकार र चुनावमा सहकार्य गरौं’ शीर्षकको समाचारमा भनिएको छ: “स्रोतको अनुसार जसपालाई अहिले एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएको छ।”

माथिका समाचारहरुमा स्रोतको परिचय खुलाउँदा उनीहरुको सुरक्षामा आँच आउने देखिँदैन ।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री