यी चार तस्बिर यस सालको बाढीका होइनन्

Sanjog Shiwakoti / बिहीबार, आषाढ ३, २०७८

फेसबुक, टिकटक र ट्वीटरका स्क्रिनसट

मेलम्ची नदीमा २०७८ साल असार १* गते मंगलबार साँझदेखि आएको बाढीको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा घरलगायतका संरचनालाई क्षति गर्नुका साथै मानवीय क्षतिसमेत भएको छ । बाढी सुरु भएदेखि नै तस्बिर र भिडियोहरु सामाजिक सञ्जाल प्रयाेगकर्ताले शेयर गरेका छन् । #prayforsindhupalchowk#prayformelamchi ह्यासट्याग सहित सिन्धुपाल्चोकमा गएकाे बाढीका तस्बिर र भिडियो भन्दै शेयर गरिएकाे छ ।

फेसबुकमा यहाँ यहाँ र ट्वीटरमा यहाँ यहाँ ती तस्बिर शेयर गरिएका छन् । टिकटकमा पनि #prayforsindhupalchok ह्यासट्याग सहित यहाँ यहाँ भिडियोहरु शेयर भएका छन् । यसरी शेयर भएका तस्बिरहरु मध्ये अधिका‌‌‌ङ्श हालकै घटनाका भएपनि केही तस्बिर नेपालकै पहिलेका बाढी र पहिरोका भएको साउथ एसिया चेकले फेला पारेको छ ।

हामीले तथ्य जाँच गरेका कैयौं तस्बिरहरुमध्ये चारवटा तस्बिर भ्रामक रहेको फेला परेको छ ।

पहिलो तस्बिर

माथि देखिएको बाढीको तस्बिर सिन्धुपाल्चोककै हो तर यो यस वर्षको बाढीको नभई पोहोर सालको बाढीको तस्बिर हाे । उक्त तस्बिरलाई हामीले गुगल रिभर्स सर्च गरी हेर्दा हिमालयन टाइम्सको एक समाचारमा फेला पार्‍यौँ । २०७७ साल असार २५ गते प्रकाशित उक्त तस्बिर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु बजारको रहेको पाइयो । उक्त तस्बिरको स्रोत राष्ट्रिय समाचार समिति उल्लेख गरिएको छ ।

दोस्रो तस्बिर

यो तस्बिर सिन्धुपाल्चोक जिल्ला हुँदै जाने अरनिकाे राजमार्गमा सँगैकाे भोटेकोशी किनारकाे बस्तीमा गएको पहिरोको रहेछ । हालैको पहिराेकाे तस्बिर भन्दै शेयर गरिएको यो तस्बिर ४ वर्ष अघिको भएको फेला परेको छ । हिमालयन टाइम्स प्रकाशित एक समाचार अनुसार उक्त तस्बिर २०७३ असार २५ गते खिचिएको हो । उक्त तस्बिर तपसि धम्मा (Ttapassi Dhamma) नामक फेसबुक एकाउन्टबाट लिइएको उल्लेख छ ।

तेस्रो तस्बिर

यो तस्बिरलाई हामीले गुगल रिभर्स सर्च गर्दा द काठमाण्डु पोष्टको एक समाचारमा फेला पार्‍यौँ ।  २०७४ असार १४ गते प्रकाशित “दोलखाको पहिरोमा ४ जना बेपत्ता” शीर्षकको समाचारमा यो तस्बिर प्रयोग गरिएको छ । तर उक्त तस्बिरमा विस्तृत जानकारी दिइएको छैन भने स्रोत पनि खुलाइएको छैन ।

चौथो तस्बिर

यो तस्बिरलाई हामीले गुगल रिभर्स सर्चमार्फत सेतोपाटीमा फेला पार्‍यौँ । ‘आजका तस्बिरहरु असार २९’ शीर्षक समाचारमा उक्त तस्बिर तनहुँमा आएको बाढीको रहेको उल्लेख छ । तनहुँको बुल्दीखोलामा आएको बाढीले डुबानमा परेको घरको यो तस्बिर राष्ट्रिय समाचार समितिका कृष्ण न्यौपानेले लिएका हुन् । सेतोपाटीमा असार २९ मात्र लेखेको हुनाले कुन सालको तस्बिर हो यो भनी पत्ता लगाउन ‘किवर्ड सर्च’ गर्दा हामीले उक्त तस्बिर अङ्ग्रेजी दैनिक द राइजिङ नेपालले प्रकाशित गरेको फेला पार्‍यौँ । उक्त तस्बिर २०७७ साल असार २९ को रहेछ ।

यसरी सिन्धुपाल्चोकमा आएको बाढीको तस्बिरहरुमध्ये पहिलेका बाढी पहिरोका तस्बिर समेत राखी सामाजिक सञ्जालमा शेयर गरी भ्रम फैलाइएको छ ।

*यस अघि २०७७ भएकोमा सच्याइएको ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री