समाचारमा नाम नखुलेको स्रोतको प्रयोग (अप्रिल १ – जुन ३०,२०२१)

South Asia Check / शुक्रबार, आषाढ १८, २०७८

सन् २०२१ को अप्रिल १ देखि जुन ३० सम्म काठमाडौंबाट प्रकाशित हुने पाँचवटा दैनिक पत्रिकामध्ये नाम नखुलेको स्रोतलाई उद्धृत गरेर प्रथम पृष्ठमा समाचार छाप्ने मामिलामा नागरिक सबैभन्दा अगाडि रह्यो । उसले २०१ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरेको थियो ।

साउथ एसिया चेकले कान्तिपुर, अन्नपूर्ण पोस्ट्, नागरिक, रिपब्लिका, द काठमाण्डु पोस्ट् र द हिमालयन टाइम्स गरी ३ वटा नेपाली दैनिक र ३ वटा अङ्ग्रेजी दैनिकको पहिलो पृष्ठमा प्रकाशित समाचारको अध्ययन गर्ने गरेको छ । तर कोभिड-१९ बाट सिर्जित परिस्थितिका कारण रिपब्लिकाले छापा संस्करण र इपेपर बन्द गरेको कारणले हामीले हाल ३ वटा नेपाली दैनिक र २ वटा अङ्ग्रेजी दैनिकलाई मात्र समेटेका छौं।

नागरिकपछि नाम नखुलेको स्रोत बढी उद्धृत गरेर समाचार बनाउनेमा क्रमश: कान्तिपुर, द काठमाण्डु पोस्ट्,  अन्नपूर्ण पोस्ट् र हिमालयन टाइम्स छन् । यस अवधिमा नाम नखुलेका स्रोत सबैभन्दा कम उद्धृत गर्ने (हामीले अध्ययन गरेकामध्ये) द हिमालयन टाइम्स हो । यसले १६ ठाउँमा नाम नखुलेको स्रोत उद्धृत गरेको थियो ।

यस अवधिमा ५ वटा पत्रिकाका प्रथम पृष्ठमा प्रकाशित समाचारमा ५४८ ठाउँमा त्यस्ता स्रोत उद्धृत गरिएका थिए ।

सबै पत्रिकाले राजनीतिलाई प्राथमिकता दिएका थिए । पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार  राजनीति सम्बन्धी थिए । राजनीति सम्बन्धी समाचारमा नाम नखुलेका स्रोतलाई सबैभन्दा बढी (२९५ ठाउँमा) प्रयोग गरिएको थियो । नागरिक र कान्तिपुरमा प्रकाशित राजनीति सम्बन्धी समाचारमा त्यस्ता स्रोतलाई सबैभन्दा बढी (क्रमश: १६९ र ५५ ठाउँमा) उद्धृत गरिएको थियो ।

कोभिड-१९ ले सिर्जित विश्वव्यापी स्वास्थ्य संकटकालका कारण राजनीतिपछि पहिलो पृष्ठमा प्रकाशित अधिकांश समाचार स्वास्थ्य सम्बन्धी थिए भने नाम नखुलेको स्रोत पनि राजनीतिपछि स्वास्थ्य सम्बन्धी समाचारमा बढी (११२ ठाउँमा) प्रयोग भएका थिए ।

समाचारमा नाम नखुलेको स्रोत उपयोग गर्नै हुँदैन भन्ने छैन । नेपाल प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) को बुँदा नं ४.८(१) मा भनिएको छ, ‘समाचारको विश्वसनीयताका लागि स्रोत उल्लेख गर्नुपर्दछ । स्रोत उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्दछ ।’

स्रोत र सम्वाददाताको सुरक्षाका लागि स्रोतको नाम/परिचय नखुलाउने चलन पत्रकारितामा छ । तर यस अवधिमा प्रकाशित केही समाचारमा आवश्यकता नभएको ठाउँमा पनि स्रोतलाई गोप्य राखिएको छ ।

उदाहरणका लागि नेपाली भाषामा प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित ‘खुल्यो भन्दैमा खेलाँची नगरौं’ शीर्षकको समाचारमा भनिएको छ: स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सडक प्रदर्शन बढ्दै गए संक्रमणको तेस्रो लहरलाई निमन्त्रणा दिए सरह हुनेछ ।’

नेपाली भाषामा प्रकाशित अर्को दैनिक पत्रिकामा प्रकाशित ‘९७% मा अत्याधिक संक्रामक ट्रिपल म्युटेन्ट’ शीर्षकको समाचारमा भनिएको छ: “स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सिक्वेन्सिङका लागि सातवटै प्रदेशबाट संक्रमणले मृत्यु भएका र निको भएका व्यक्तिहरुको नमुना संकलन गरिएको थियो ।

माथिका समाचारहरुमा स्रोतको परिचय खुलाउँदा उनीहरुको सुरक्षामा आँच आउने देखिँदैन।

यस विषयमा साउथ एशिया चेकले संकलन गरेको तथ्यांक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री