हाम्रा बारे

हाम्रा बारे

साउथ एशिया चेकले सार्वजनिक छलफल र सञ्चार माध्यमका सामग्रीमा यथार्थ प्रवर्द्धन गर्ने प्रयास गर्छ । हामी नेपालका (कहिलेकाहिँ दक्षिण एशियाका अरू देशका समेत) सार्वजिनक पद धारण गरेका व्यक्तिका भनाइ र दाबी कति सही छन् भनी जाँच्छौं र हामीले पाएका कुरा यस साइटमा प्रकाशित गर्छौं । यो अरूमाथि दोष थोपर्ने प्रयास होइन बरू राजनीति र सञ्चार माध्यममा स्वच्छता, सत्यतथ्य र उत्तरदायित्व बढाउने कोशिश हो ।
साउथ एशिया चेक दक्षिण एशिया र संसारका अन्य देशमा १९९७ देखि कार्यरत गैरनाफामुखी सञ्चार विकास संस्था पानस साउथ एशियाको एउटा प्रयास हो । यो काम सम्पादकीय दृष्ट्रिले स्वतन्त्र जाँचकीको टोलीले गर्छ ।
हामी मूलतः यी काम गर्छौः
तथ्य जाँच
हामी राजनीतिज्ञ, सार्वजनिक पद धारण गरेका व्यक्ति (मन्त्री, कर्मचारी र कुटनीतिज्ञ), बहुपक्षीय संस्था तथा सार्वजनिक सरोकारका विषयमा अध्ययन/अनुसन्धान गर्ने संस्थाका मानिसका भनाइ र दाबी सत्य हुन् कि होइनन् भनी जाँच्छौं । हामी सूचनाको मूल स्रोतमै गएर ती भनाइ र दाबी उनका हुन् कि होइनन् भनी जाँच्छौं । त्यसपछि ती भनाइ र दाबी सत्य छन् कि छैनन् भनी हेर्छौं ।
आश्वासन निगरानी
सार्वजनिक निकाय तथा सार्वजनिक ओहदामा बसेका मानिसहरूले नीति वक्तव्य तथा कार्यक्रम अनि भाषणमार्फत् विभिन्न किसिमका आश्वासन दिने गरेका छन् । तीमध्ये कति आश्वासन पूरा गरिँदैनन् । यस स्तम्भमा हामी यस्ता वाचा पूरा भए कि भएनन् भनी हेर्छौं ।
साझा सरोकार
यस खण्डमा हामी सार्वजनिक चासोका विषयका स्टोरी राख्छौं । यी स्टोरी कसैका भनाइ वा दाबीमा आधारित हुँदैनन् । समाचार, अनुसन्धान, प्रतिवेदन, तथ्यतथ्यांक जस्ता सार्वजनिक जानकारीका आधारमा स्टोरी तयार गरिनेछन् । हामी राष्ट्रिय महत्वका अन्य समसामयिक विषयमा पनि स्टोरी तयार गर्छौं । 
सञ्चार माध्यम
सञ्चार माध्यमले वाचडगको भूमिका निर्वाह गर्नुपर्छ । हामी यस कुरालाई आत्मसात गर्छौं । दक्षिण एसियाका सञ्चार माध्यमले यो भूमिका धेरै हदसम्म निर्वाह गरेका छन् । हामी सञ्चार माध्यमलाई आफ्नो यो भूमिकाको रक्षा गर्ने काममा सहयोग गर्न चाहन्छौं । सञ्चारमाध्यम हाम्रा साथी हुन् । यस स्तम्भ अन्तर्गत हामी सुरूमा नेपाली र अंग्रेजी भाषाका मुख्य दैनिक र साप्ताहिक पत्रिकाका निश्चित ठाउँका सामग्रीमा अज्ञात स्रोतको कति उपयोग भएको छ भनी हेर्छौं । हामी आवश्यकता अनुसार हाम्रो कार्यक्षेत्र विस्तार गर्छौं ।
पानोस साउथ एशिया नेपाल र दक्षिण एशियामा प्रजातन्त्रलाई सुदृढ बनाउन राजनीति र पत्रकारितालाई बढी उत्तरदायी बनाउनु पर्छ भन्ने कुरामा विश्वास राख्छ ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूले गरेका दाबी प्रति उत्तरदायी हुनु जरुरी हुन्छ । सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई उत्तरदायी बनाउने भूमिका बोकेका सञ्चार माध्यम पनि पूर्वाग्रही हुनसक्छन् । कहिलेकाहिँ त सञ्चारमाध्यमले तथ्यको गलत ब्याख्या पनि गर्छन् ।
तथ्य जाँचकीहरू पूर्ण रुपमा निष्पक्ष र स्वतन्त्र हुनुपर्छ । त्यसैले हाम्रा तथ्य जाँचकीहरू कुनै पनि राजनीतिक दल र ती दलसँग आवद्ध कुनै पनि संस्था अथवा पेशागत संगठनका सदस्य हुनुहुँदैन । अरुका आँखामा पूर्वाग्रही अथवा पक्षपाती देखिने अथवा कुनै व्यक्ति वा संगठनलाई बदनाम गर्ने वा हानि पुर्‍याउने वा भेदभाव गर्ने खालको देखिनु हुँदैन ।
सार्वजनिक पदमा बसेका मानिसका भनाइमा भएका तथ्य जाँच गर्न र सार्वजनिक चासोका विषयका खोजमूलक सामग्री तयार गर्नु भनेको संवेदनशील काम हो । त्यसैले तथ्य जाँच गर्न र खोज गर्न उच्चस्तरीय पेशागत मापदण्ड अपनाउनुपर्छ ।
यी काम गर्दा हामीले अपनाउने आचारसंहिता निम्न वमोजिम छ । हामी यसलाई आवश्यकता अनुसार परिमार्जन गर्नेछौँ ।

तथ्यजाँचकीले पालना गर्ने आचारसंहिता
तथ्यजाँचकीले निम्न आचारसंहिता सधैँभरि पालना गर्नुपर्छड्ड
१. सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका* भनाइमा भएका तथ्य जाँच गर्दा निष्पक्ष र स्वतन्त्रता ढंगले गर्नुपर्छ । यसो गर्दा कसैको दवाव वा लोभलालचमा पर्नुहुँदैन ।
२. तथ्य जाँचका काममा कुनै पनि किसिमको पूर्वाग्रह देखाउनु हुँदैन ।
३. फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा कुनै पनि किसिमको पक्षधरता वा पूर्वाग्रह देखिने खालका विचार व्यक्त गर्नुहुँदैन । यो कुरा सधैँभरि ख्याल राख्नुपर्छ ।
४. कुनै पनि किसिमको सार्वजनिक मञ्चमा राजनीतिक अथवा विचारगत टिप्पणि गर्नुहुँदैन ।
५. कुनै पनि किसिमको घृणा वा जातीय द्वेष फैलाउने काम गर्नुहुँदैन ।
६. कुनै पनि सञ्चारमाध्यम अथवा अरु खालका संस्थाको पूर्णकालीन कर्मचारी हुनुहुँदैन ।
७. पाठकबाट प्राप्त सल्लाह र स्टोरी आइडिया ग्रहण गर्नका लागि तयार हुनुपर्छ ।
८. प्रकाशित सामग्रीका बारेमा आलोचना वा टिप्पणि स्वीकार गर्नुपर्छ । त्यसका आधारमा प्रकाशित सामग्रीमा सुधार गर्नु आवश्यक छ कि भनेर ध्यान दिनुपर्छ । सुधार गर्नु पर्ने त्यसका लागि कदम चाल्नुपर्छ ।
९. गल्ति हुनै नदिन सबै खालका प्रयास गर्नुपर्छ । तर आफैँ वा पाठकले गल्ति पत्ता लगाएका खण्डमा गल्ति भएको कुरा स्वीकार गरी त्यसलाई तत्काल सच्याउनुपर्छ । प्रकाशित सामग्री कुनै पनि हालतमा मेट्नु हुँदैन ।

* सार्वजनिक पद धारण गरेका व्यक्ति भन्नाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सर्वोच्च र पुनरावेदन अदालतका न्यायाधीश, कर्मचारी, कुटनीतिज्ञ, व्यवसायी, सेलिब्रेटी (मुभी स्टार, गायक, संगीतकार आदि) पर्दछन् ।
हामीले प्रकाशित गरेका सामग्रीमा भूल भएमा हामी तुरुन्तै भूलसुधार गर्छौँ । यसका लागि हामी भूल सुधार गरिएका ठाउँमा चिन्ह दिन्छौँ र रिपोर्टको अन्त्यमा के गल्ति सुधार गर्‍यौँ भनी स्पष्टीकरण दिन्छौँ । व्याकरणसँग सम्बन्धित सामान्य खालका भूल सुधार्दा भने जानकारी दिँदैनौँ । तथ्यजाँचको निर्णय फेरबदल गर्नुपर्ने खालका भूल अहिलेसम्म हामीले गरेका छैनौँ ।
निर्वाचित भएका तथा नभएका सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले रेडियो, टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा भायरल भएका फोटो र अफबाहको तथ्य जाँच गर्छौँ ।
कसैको तथ्ययुक्त अभिव्यक्ति जाँच गर्ने कि नगर्ने भन्नका लागि हामी निम्न कुरा हेर्छौः
पहिलो कदम
त्यो अभिव्यक्ति उसले साँच्चै दिएको हो कि उसले दिएको भनी अरूले यसै राखिदिएको हो ? यसका लागि हामी त्यस्तो अभिव्यक्तिको अडियो अथवा भिडियो खोज्दछौँ । अभिव्यक्ति दिनेले उसको सामाजिक सञ्जालको अकाउन्टबाट त्यस्तो अभिव्यक्ति दिएको रहेछ भने त्यसलाई पनि उसले दिएको अभिव्यक्ति मान्छौँ । आवश्यक परेमा अभिव्यक्ति दिएको भनिएको व्यक्तिलाई सम्पर्क गरेर त्यस्तो अभिव्यक्ति दिएको हो कि होइन भनी सोध्न पनि सकिन्छ ।
अभिव्यक्ति दिएको हो भन्ने निश्चित भइसकेपछि त्यो अभिव्यक्तिमा प्रयोग भएका आंकडा कति महत्त्वपूर्ण वा कति संवेदनशील छन् भनी हेर्छौँ । महत्त्वपूर्ण र संवेदनशील छ भने त्यसको तथ्य जाँच गर्छौँ ।

दोस्रो कदम
अभिव्यक्तिमा प्रयोग भएका आंकडा सही छन् कि छैनन भन्नका लागि हामी निष्पक्ष र ख्यातिप्राप्त संस्थाका विश्वसनीय र सार्वजनिक रुपमा उपलब्ध प्रकाशन अध्ययन गर्छौँ । उदाहरणका लागि, पहिले प्रकाशित सरकारी आंकडा, जनगणना, किताब तथा जर्नल आदि ।
सार्वजनिक रुपमा उपलब्ध कागजात/तथ्यांक/प्रमाणका आधारमा कसैको अभिव्यक्ति सही वा गलत भनी भन्न नसकिने भएका खण्डमा हामी तथ्य जाँच गर्दैनौँ । तथ्य जाँच गर्दा सही ठहरियो भने पनि हामी सामान्यतया तथ्यजाँच प्रकाशित गर्दैनौँ । यदि त्यस्तो अभिव्यक्ति गलत हो भन्ने आम मानिसको धारणा छ भन्ने लागेमा भने हामी अभिव्यक्ति सही ठहरियो भने पनि तथ्यजाँच प्रकाशित गर्छौँ ।

तेस्रो कदम
एकजनाले तथ्य जाँच गरिसकेपछि उसको तथ्य जाँच सही छ कि छैन भनी अर्को जनाले जाँच गर्छौँ । त्यस जाँचमा सही ठहरियो भने मात्र हामी तथ्य जाँच प्रकाशित गर्छौँ ।

पाठकले जाँच्न सक्ने
हामीले गरेका तथ्य जाँच सही छन् कि छैनन भनी जाँच गर्न पाठकलाई सजिलो होस भनेर हामीले सन्दर्भ र प्रमाणका रुपमा लिएका सामग्रीको उल्लेख तथ्यजाँचमा दिने गरेका छौँ ।

पाठकबाट सहयोगको अपेक्षा
सार्वजनिक पद धारण गरेका व्यक्तिले दिएका अभिव्यक्तिको तथ्य जाँच गर्नुपर्छ जस्तो लागेमा पाठकले हामीलाई फ्याक्ट चेकका लागि अनुरोध गर्न सक्नुहुनेछ । यस्तो अनुरोध mohanmainali@gmail.com मा गर्न सकिन्छ ।

मोहन मैनाली
सम्पादक
सम्पादक मोहन मैनालीले विभिन्न सञ्चारमाध्यममा २० वर्षभन्दा बढी समय बिताइसकेका छन् । उनले धेरैवटा भिडियो डकुमेन्ट्री बनाउनुका साथै पुस्तक पनि लेखेका छन् । उनको पुस्तक 'मान्ठा डराएको जुग' ले २०७१ सालको पद्मश्री पुरस्कार पाएको थियो । उनको इमेल mohanmainali@gmail.com हो ।

इन्जिना पन्थी
रिपोर्टर
पन्थीले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिमा स्नातकोत्तर गरेकी छिन । उनी त्रिभूवन विश्विद्यालयमा स्नातकोत्तर तहमा अध्यापन पनि गर्छिन । साउथ एशिया चेकमा आउनु अघि उनी स्वतन्त्र पत्रकारका रूपमा महिलाका विषयमा फिचर लेख्ने गर्थिन । उनको इमेल ठेगाना injina2011@gmail.com हो ।

दिलिप ढकाल
कपी इडिटर
ढकालले नेपालका मुख्य सञ्चारमाध्यममा १५ वर्षभन्दा बढी समय काम गरिसकेका छन् । २०१२ देखि २०१५ सम्म उनले पानोस साउथ एशियाको मिडिया अनुगमन टोलीको नेतृत्व गरेका थिए । उनले त्रिभूवन विश्ववद्यालयबाट एमबीए गरेका छन् । उनको इमेल ठेगाना dkdhakal@gmail.com हो ।

उज्ज्वल आचार्य
डिजिटल मिडिया परामर्शदाता
आचार्यले नेपालका प्रिन्ट र अनलाइन सञ्चार माध्यममा लामो समय काम गरिसकेका छन् । उनी नेपालका अग्रणि ब्लगर र अनलाइन पत्रकारमा पर्दछन् । उनले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् । उनको इमेल ठेगाना ujjwal.acharya@gmail.com हो ।
 

प्राप्त सहयोग
अमेरिकी डलर ७६७९ (२०१३, एफओएसआई)
अमेरिकी डलर ४०,००० (२०१६, एनईडी)
अमेरिकी डलर ४१,४०० (२०१७, एनईडी)
अमेरिकी डलर ३१,७५५ (२०१६, ओएसएफ)