काष्ठमण्डपको पूनर्निर्माण

इन्जिना पन्थी / शुक्रबार, फाल्गुण २४, २०७५

तस्विरःकाष्ठमण्डप पुनर्निर्माण समिति

नेपाल सरकारको निति तथा कार्यक्रममा वि.सं.२०७२ सालको भूकम्पले पूर्ण क्षतिग्रस्त ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण तीन वर्षभित्र सम्पन्न गरिनेछ भनिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले सकेसम्म सरकारले तोकेको समयभन्दा अघिनै निर्माण सम्पन्न गर्ने योजना बनाएको छ ।

साउथ एसिया चेकले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यसँग काष्ठमण्डपको पनर्निर्माणका बारेमा  कुरा गरेको थियो । सो कुराकानीको सारः

११ महिनामा के के काम भए ?

२०७५/१/१८        काष्ठमाण्डप पुनर्निर्माण समितिको गठन

२०७५/१/२३   कार्य विभाजन । विज्ञ समूह, संरक्षण समिति, सल्लाहकार समिति सबैलाई समेटने गरी कार्य विभाजन ।

२०७५ वैशाख २७, २८, २९     काष्ठमण्डपका यत्रतत्र छरिएका काठ व्यवस्थित ।

२०७५ वैशाख ३१     क्षमा पूजापछि काम शुरू ।

२०७५/२/२९   काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समिति बिच समझदारी पत्रमा हस्ताक्षर । महानगरपालिकाबाट रु. पचास लाख अनुदानको चेक हस्तान्तरण ।

२०७५/४/१    प्राविधिक कार्यलय स्थापना ।

२०७५/५/१२   काष्ठमण्डपमा रहेका भग्नावषेशको सफाइ शुरु  ।

२०७६/६/२७   महानगरपालिकाबाट थप पाँच करोड प्राप्त ।

२०७५/७/२२   कार्य सिद्घि पूजामार्फत कार्य शुभारम्भ ।

२०७५/८/ २७  पुरातत्व विभागद्वारा काष्ठमण्डपको नक्शा पास ।

२०७५/१०/२७  श्रीपञ्चमीको अवसर पारेर संकल्प पुजा गरि पराम्परागत शैलीमा बाँसको प्रयोग गरि चार वटा थाम ठड्याइयो । माघ महिनाभरि १६ ओटा मेठ र चार ओटा निदाल उठाइए ।

२०७६ अषाढ   पहिलो तल्ला निर्माण गर्ने योजना ।

अनुमानित बजेट र अहिलेसम्म भएको खर्च

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष शाक्यका अनुसार यस कामको बजेट अनुमान गरिएको छैन ।  तर महालेखापरीक्षकको पचपन्नौं वार्षिक प्रतिवेदन, २०७४ अनुसार, पुरातत्व विभागले तयार पारेको रु. १९ करोड ८८ लाख ११ हजारको लागत अनुमान महानगरपालिकाले २०७३।४।३० मा स्वीकृत गरेको थियो । काष्ठमण्डप लगायतका संरचना निर्माण गर्न आवश्यक पर्ने ८ लाख क्यूबिक फीट सालको काठ टिम्बर कर्पोरेशन अफ नेपालले पुरातत्व विभागको सिफारिसमा सम्बन्धित आयोजनालाई ५ वर्ष भित्र सरकारी मूल्यमा उपलब्ध गराउने निर्णय गरेपछि काठ बाहेकको रु. ७ करोड १३ लाख २६ हजारको लागत अनुमान स्वीकृत भएको थियो ।  काष्ठमण्डप पुनर्निर्माण समितिले त्रैैमासिक खर्चको विवरण सार्वजनिक गर्ने गरेको छ । पुस मसान्तसम्म ९१ लाख खर्च भएको छ र २७ लाख जति पेश्की दिइएको छ । चैत मसान्तमा अर्को तीन महिनाको खर्चको विवरण सार्वजनिक हुने छ ।

बजेटको स्रोत

हाम्रो सम्पदा हामी आफैँ बनाउँछौँ भन्ने मान्यता बोकेर जनस्तरबाटै परम्परागत विधि र तरिका अपनाउने, जनताको पैसाबाट बनाउने योजना भएकाले कुनै दातृ निकायको सहयोग लिएको छैन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुुन्दर शाक्यले महानगरपालिकाले नै बनाउने प्रतिवद्घता जनाएका छन् ।

विज्ञ

काष्ठमण्डप पुनर्निर्माणका सबै काम नेपाली विज्ञहरूले गरिरहेका छन् ।

कामदार/कालीगढ

दक्ष र अदक्ष दुई प्रकारका कामदारले काम गरिरहेका छन । अधिकांश कालीगढ भक्तपुरका छन जसको नेतृत्व सिकर्मी नाइके लक्ष्मीभक्त राजचलले गरेका छन । अदक्षको कामदार चाहिँ काठमाडौँबाहिरका छन् ।

काष्ठमण्डप निर्माणमा चाहिने सामाग्रीको स्रोत

पुरातत्व विभागका अनुसार यस कामका लागि १,७५८ क्यूबिक फीट काठ चाहिन्छ । काष्ठमण्डपमा १ नम्बर सालको काठ प्रयोग हुन्छ । प्रदेश नं २ को महोत्तरीको बर्दिवासबाट ठूलो काठ र निदालको लागि काठ ल्याइएको छ । अरु काठ हेटौंडा, धनगढी र रौतहटबाट ल्याइएको छ । धेरै ठाउँको माटो परीक्षण गर्दा ताहचलको छाउनी निरको माटो उपयुक्त देखिएकाले त्यहाँको माटो प्रयोग भइरहेको छ ।

अरु निकायसँग सम्बन्ध

अरु निकायसँग समन्वय र सहकार्य निरन्तर भइरहेको छ । नेपाल पुनर्निर्माण प्राधिकरणसँग निरन्तर छलफल भइरहेको हुन्छ । पुरातत्व विभागका प्रतिनिधि काष्ठमण्डप पुनर्निर्माण समितिको विज्ञ समुहमा रहेका छन् ।

तस्विरःकाष्ठमण्डप पुनर्निर्माण समिति

तस्विरःकाष्ठमण्डप पुनर्निर्माण समिति

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री