पुनर्निर्माण प्राधिकरण बन्यो

प्रतिभा रावल / बिहीबार, पौष ३०, २०७२

_MG_8070

साङ्घा चोक, सिन्धुपाल्चोक (तस्बीरः भृकुटी राई)

सरकारले यही पुस १० गते पुनर्निर्माण आयोगको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्‍यो। यसभन्दा अघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए।

त्यसैगरी पुस २१ गते सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतका परिषद र समिति गठन गर्‍यो।

यी काम हुँदा भूकम्प गएको ८ महिना भइसकेको थियो ।

प्राधिकरणले यही माघ २ गते राजधानीमा पुनर्निर्माण महाअभियान सुरु गर्ने घोषणा गरेको छ। घर बनाउनका लिग दिइने अनुदान भने विस्तृत सर्वेक्षण पछिमात्र परिचालन हुने कुरा ज्ञवालीले पुस २६ गतेको व्यवस्थापिका संसदको विकास समितिमा भने। आगामी एक महिनाभित्र भूकम्पले असर पारेका सबै जिल्लामा सर्वेक्षण गरी सम्पन्न भएका गाविसहरूबाट क्रमशः घर बनाउने तयारी भइरहेको ज्ञवालीले बताए । (हेर्नुस् प्रस्तावको पूर्ण सूची)

“माघ २ देखि वैशाख १२ सम्मको पुनर्निर्माण महाअभियानमा हामीले भूकम्प प्रभावित जिल्लाहरूको हरेक गाउँमा पुनर्निर्माण कार्य थालनी गर्ने लक्षय राखेका छौं। तर अहिलेको ‍चुनौति भनेको हाम्रो सङ्गठन संरचनाको यस्तो तयारी गर्नु हो जसले गर्दा गाउँको तहसम्म आवास निर्माण गर्ने प्रमुख काम अगाडि बढ्न सकोस्,” सुशील ज्ञवालीले साउथ एशिया चेकलाई बताए ।

बल्ल पुग्दै न्यानो कपडा

गृह मन्त्रालय अनुसार पुस १५ गते सम्ममा भूकम्प पीडित परिवारलाई कपडा किन्न सरकारले रू २ अर्ब २५ करोड ७३ लाख १० हजार वितरण गरिसकिएको छ । एक परिवारलाई रू १०,००० का दरले वितरण गरिएको हो । हालसम्म १९ जिल्लाका २,२५, ७३१ पीडित परिवारलाई यस्तो सहयोग बाँडिएको हो। थप परिवारलाई सहायता बाँड्ने काम जारी रहेको गृह मन्त्रालयले जनाएको छ।

सिन्धुपाल्चोकका प्रशासकीय अधिकृत भरतप्रसाद आचार्यको अनुसार २०६८ सालको जनगणनामा सिन्धुपाल्चोकमा ६८ हजार (२०६८ को जनगणना अनुसार सिन्धपाल्चोकमा ६६,६३५ घरधूरी छन्) परिवार भएपनि त्यहाँ ८४,६०० परिवारले राहत पाएका छन्। “नक्कली पीडित र थप घर भत्किएको दाबी बारे हामीले ४८२ उजुरी परेको छ र त्यसबारे छानबिन भइरहेको छ,” आचार्यले भने।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री