गल्ति नै गल्ति

साउथ एशिया चेक / बिहीबार, चैत्र ७, २०७५

अंग्रेजी राष्ट्रिय दैनिक द काठमाडौं पोष्टमा २०७५ चैत्र ५ गते प्रकाशित अच्युत वाग्लेको “हाईएर एजुकेशन इन क्राईसिस” शीर्षकको आलेखमा केही तथ्याङ्क त्रुटीपूर्ण छन्। उनले आलेखमा विभिन्न आंकडा पनि उल्लेख गरेका छन् ।

१. वैदेशिक रोजगारीको तथ्याङ्क अनुसार १९९६ मा माओवादी जनयुद्ध शुरु भएका बेलामा  रोजगारीका लागि विदेश जाने युवाको संख्या ३,६०५ थियो ।

. अहिले विभिन्न अध्ययन अनुसार काम गर्ने उमेरका ४० लाख मानिस विदेशमा छन् । अर्थात्, नेपालको अनुपस्थित जनसंख्या ४० लाख हो ।

. हरेक वर्ष एक लाख विद्यार्थी आफैँ पैसा खर्च गरेर पढ्नका लागि विदेश जान्छन् ।

. नेपालमा नौवटा विश्वविद्यालय छन् ।

ती आंकडा कत्तिको भरपर्दा छन् भनी साउथ एशिया चेकले जाँच गरेको छ ।

१. वैदेशिक रोजगारीको तथ्याङ्क अनुसार १९९६ मा माओवादी जनयुद्ध शुरु भएका बेलामा  रोजगारीका लागि विदेश जाने युवाको संख्या ३,६०५ थियो ।

वैदेशिक रोजगार विभागबाट प्रकाशित प्रतिवेदन लेबर माइग्रेन्ट फर इम्प्लोयमेन्टः स्टाटस रिपोर्ट फर नेपालः २०१३/२०१४ (पेज ६) अनुसार ३,६०५ कामका लागि सन् १९९६ मा विदेश जान अनुमति पाएका नेपालीको होइन सन् १९९३/९४ मा विदेश जान अनुमति पाएका नेपालीको आंकडा हो ।

साउथ एशिया चेकले वैदेशिक रोजगार विभागका विभिन्न प्रकाशनका आधारमा तयार गरेर यस अघि नै प्रकाशित गरेको विवरणका अनुसार सन् १९९६ मा २१३४ नेपाली कामका लागि विदेश गएका थिए

साउथ एसिया चेकले विदेश जाने नेपाली कामदारको संख्या सम्बन्धित तयार पारेको पुरानो रिर्पोट यहाँ हेर्न सक्नुहुन्छ ।

. अहिले विभिन्न अध्ययन अनुसार काम गर्ने उमेरका ४० लाख मानिस विदेशमा छन् । अर्थात्, नेपालको अनुपस्थित जनसंख्या (त्यसमा पनि काम गर्ने उमेरका मात्र) ४० लाख हो ।

अनुपस्थित जनसंख्या कति छ भन्ने कुराको भरपर्दो स्रोत जनगणना हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको अनुपस्थित जनसंख्या १९ लाख २१ हजार हो । यसमा काम नगर्ने उमेरका नेपाली पनि पर्छन् । जनगणना भएपछिका वर्षमा यो संख्या बढेको हुनुपर्छ । निश्चित अध्ययन भनी उल्लेख नभएकाले यो संख्या लेखमा उल्लेख भएअनुसार नै हो भनी पत्याउन सकिने देखिँदैन ।

. हरेक वर्ष एक लाख विद्यार्थी आफैँ पैसा खर्च गरेर पढ्नका लागि विदेश जान्छन् ।

पढ्नका लागि विदेश जानेहरूमध्ये अधिकांशले नो अब्जेक्सन लेटर लिने गर्छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित एजुकेशन इन फिगर २०१७ (एट अ ग्लान्स, (पेज ४६-४७) अनुसार २०७३ माघ १ गतेदेखि २०७४ फागुन ३० गतेसम्मका १४ महिनामा ६७,२२६ जनाले मन्त्रालयबाट ‘नो अब्जेक्शन लेटर’ लिएका थिए ।

त्यसैले लेखमा उल्लेख भएको आंकडा विश्वसनीय छैन ।

. नेपालमा नौवटा विश्वविद्यालय छन् ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रतिवेदन (पेज ८९) अनुसार हाल नेपालमा ११ वटा  विश्वविद्यालय र ६ वटा विश्वविद्यालय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् ।

एघार वटा विश्वविद्यालयमा त्रिभूवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय हुन् ।

त्यसैले नेपालमा नौवटा विश्वविद्यालय छन् भन्ने कुरा गलत छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री