डाबर र युनिलिभरबारे कमल थापा गलत

सुजित मैनाली / सोमबार, चैत्र २६, २०७४


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले चैत २३ गते ‘रेडियो कान्तिपुर’लाई दिएको अन्तर्वार्तामा भनेः

‘१९९६ को ट्रेड ट्रिटी जुन भारतसँग भएको थियो…जसले गर्दा नेपालमा भारतीय कम्पनीहरू, चाहे त्यो अहिले रहेको नेपाल लिभरको कुरा होस्, कोल्गेट पाल्मोलिभको कुरा होस्, कोड्याकको कुरा होस्, धेरै मल्टिनेसनल कम्पनीहरू नेपालमा खुल्न आए । डाबर पनि त्यहि बेलामा आएको हो ।’

अन्तर्वार्तामा थापाले नेपाल र भारतबीच सन् १९९६ मा व्यापार सन्धी भएपछि नेपाल लिभर र डाबर नेपालमा स्थापना भएका हुन् भनी गरेको दाबी गलत छ ।

नेपाल लिभर अहिले युनिलिभर नेपाल लिभिटेडको नाममा क्रियाशिल छ । यो सन् १९९२ मा स्थापना भएको थियो । यसले सेप्टेम्बर ४, २०१७ मा २५ औं वर्षिकोत्सव मनाएको थियो । त्यस्तै डाबर नेपाल प्रा.लि. पनि सन् १९९२ मा स्थापना भएको हो । सन् २०१७ को जुनमा यसले २५ औं वार्षिकोत्सव मनाएको थियो ।

नेपाल–भारत व्यापार सन्धी भएपछि विभिन्न बहुराष्ट्रिय कम्पनी नेपालमा आकर्षित भए भन्ने अध्यक्ष थापाको आशय चाहिँ सही छ । नेपालमा उत्पादित सामाग्रीमा भारतले भन्सार शुल्क नलगाउने र त्यस्ता सामाग्री भारतीय बजारमा जति पनि विक्री गर्न पाइने प्रावधान सन्धीमा थियो ।

यस्तो प्रावधानबाट लाभ लिन थुप्रै बहुराष्ट्र कम्पनी नेपालमा स्थापना भएका थिए ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री