थापाको उल्टो कुरा

सुजित मैनाली / शुक्रबार, आषाढ ३०, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले असार ३० गते कान्तिपुर एफएमबाट प्रसार भएको कार्यक्रम ‘द हेडलाइनर्स‘मा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको समर्थन गर्दै भनेः

‘नेपाली पुरुषले विदेशी महिलालाई विवाह गरेपछि आफ्नो पुरानो देशको नागरिकता त्यागेपछि ती महिलाले नेपालको नागरिकता कानुन बमोजिम प्राप्त गर्न सकिनेछ भन्ने व्यवस्था गर्न खोजिएको छ।’

साउथ एशिया चेकले यो भनाई साँचो छ/छैन भनी जाँच्ता के पायो भने थापाले भनेको कुरा लागू गर्न संविधान संशोधन गर्नै पर्दैन। थापाले भनेजस्तो व्यवस्था अहिलेको संविधानमै गरिएको छ।

नेपालको संविधान, २०७२ को धारा ११(६)मा भनिएको छ, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानूनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।’

संसद्मा दर्ता भएको संशोधन विधेयकले थापाले उल्लेख गरेको प्रावधान बदल्न चाहिँ खोजेको छ। विधेयकले संविधानको धारा ११(६) मा निम्न प्रावधान राख्न प्रस्ताव गरेको छ, ‘नेपाली नगरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि संघीय कानून बमोजिम नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्नेछ।’

तसर्थ, अध्यक्ष थापाको भनाई गलत छ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री