नपत्यानुस् है, झुठा हो

मोहन मैनाली / शुक्रबार, साउन १०, २०७६

तस्वीर: विकिमिडीया कमन्स

हिजो र आज धेरै अनलाइन र पत्रपत्रिकामा संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको तिलिचो तालभन्दा अग्लो ठाउँमा अर्को ताल भेटियो भनी समाचार प्रकाशित भएका छन् ।

ती समाचारअनुसार तिलिचो ताल समुद्र सतहको औषत उचाइबाट ४,९१९ मिटर अग्लो ठाउँमा रहेको छ । अनि यो नयाँ ताल चाहिँ ५००२ मिटर अग्लो ठाउँमा भेटियो ।

यसभन्दा अगाडि पनि धेरै पत्रपत्रिका र अनलाइनले तिलिचो ताललाई संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल भनी प्रचार गर्दै आएका थिए ।

सत्य कुरा के हो भने तिलिचो ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन । अनि नयाँ भेटिएको भनिएको ताल पनि संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन । संसारका अरु ठाउँका कुरा छाडिदिउँ, नेपालमै पनि यीभन्दा अग्ला ठाउँमा धेरैवटा ताल छन् ।

हिन्दुकुश हिमालयका क्षेत्रमा लामो समयदेखि अध्ययन गरिरहेको संस्था इसिमोडले नेपालका हिमाली भेगमा रहेका जोखिमयुक्त हिमतालको सूची दिएको छ । त्यस सूचीमा रहेका १२ वटा ताल तिलिचो तालभन्दा अग्ला ठाउँमा रहेका छन् । एघारवटा ताल चाहिँ अहिले भेटिएको भनिएको तालभन्दा अग्ला ठाउँमा छन् । इसिमोडले जोखिमयुक्त हिमतालको मात्र सूची दिएकाले संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको भनिएको तालभन्दा अग्ला ठाउँमा नेपालमै पनि यसभन्दा धेरै ताल हुनसक्छन् ।

हामीले भनेको विश्वास नलागे इसिमोडको यो वेबसाइटमा जानुहोस । http://geoportal.icimod.org/?map=nepalglakes यस  नक्शामा दिइएका ३, ५, ८, १०, ११, १२, १४, १६ ,१७, १८, २० र २१ नम्बरका ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको भनी नेपाली सञ्चारमाध्यमले दावी गरेको तालभन्दा अग्ला ठाउँमा छन् । माथिको नक्शामा ५ नम्बरमा रहेको तालबाहेक अरु सबै ताल अहिले भेटिएको भनिएको “संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको” तालभन्दा अग्ला ठाउँमा छन् ।

इसिमोडले तयार पारेको नेपालका जोखिमयुक्त हिमतालको सुचीका आधारमा हामीले तिलिचोभन्दा उच्च ठाउँमा भएका हिमतालको तालिका बनाएका छौँ । हो, तिलिचो र अहिले भेटिएको भनिएको तालभन्दा अग्ला ठाउँमा रहेका ताललाई छाड्ने हो भने चाहिँ यी ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेका ताल हुन् ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री