नेपाल-भारत संयुक्त वक्तव्यहरूमा भएको कोशी उच्च बाँधको उल्लेखबारे परराष्ट्रमन्त्री ज्ञवाली गलत

सुजित मैनाली / बुधबार, साउन २, २०७५

प्रदिप ज्ञवाली । तस्विर: सगरमाथा टिभी\युट्युब

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ ३१ गते सगरमाथा टिभीबाट प्रसार भएको कार्यक्रम ‘एसटिभी च्याट’मा प्रस्तावित नेपाल–भारत जलमार्गसँग कोशी उच्च बाँध सम्बन्धित छ भनी चलेको हल्लाको खण्डन गरे ।

उनले भने–

‘(कोशी उच्च बाँधले पुर्‍याउन सक्ने क्षतिबारे) मनन गरेरै हामीले सँयुक्त वक्तव्यबाट (कोशी उच्च बाँधको प्रसंग) हटाएका हौँ । गएका १०–१५ वर्षयताका प्रत्येक ज्वाइन्ट स्टेटमेन्ट हेर्नुस्, कुनैमा यो कुरा छुटेको छैन । कपी, पेस्ट मात्र गरिएको छ । हामीले पहिलोपटक यी सबै कुरालाई छोडेर नेपाल र भारत दुवै पक्ष जे कुरामा कन्भिन्स छौँ, ती कुरा मात्र (सँयुक्त वक्तव्यमा पारेका छौँ ।’

साउथ एशिया चेकले परराष्ट्रमन्त्री ज्ञवालीको यो भनाई सही छ/छैन भनी जाँचेको छ ।

यसका लागि वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल र भारतबीच प्रधानमन्त्री तहमा जारी भएका संयुक्त वक्तव्यहरूको अध्ययन गर्‍यौँ ।

नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनका भारतीय समकक्षी पि.भी. नरसिंह रावले डिसेम्बर ६, १९९१ मा जारी गरेको सँयुक्त वक्तव्यमा कोशी उच्च बाँधको प्रसंग पहिलोपटक परेको थियो । वक्तव्यमा दुवै देशको सहकार्यमा सञ्चालन हुने परियोजनाको सूचीमा सप्तकोशी जलविद्युत/बहुद्देश्यीय परियोजनालाई पनि राखिएको थियो ।

सो वक्तव्यको व्याख्या गर्दै नेपालको जलस्रोत मन्त्रालयका प्रवक्ताले वक्तव्यमा उल्लेख भएको सप्तकोशी जलविद्युत/बहुदेश्यीय परियोजना र सप्तकोशी उच्च बाँध बहुदेश्यीय परियोजना एउटै रहेको जानकारी दिए । प्रवक्ताले भने, ‘सप्तकोशी उच्च बाँध बहुदेश्यीय परियोजनाका सन्दर्भमा भन्नुपर्दा सप्तकोशी उच्च बाँध बहुदेश्यीय परियोजनाको सीमा तय गर्न आवश्यक पर्ने सँयुक्त अध्ययन र अनुसन्धान द्रुत गतिमा अघि बढाइनेछ ।’

त्यसयता दुई देशका प्रधानमन्त्रीले मिलेर १५ वटा संयुक्त वक्तव्य जारी गरेका छन् । तिमध्ये सात वटामा मात्र सप्तकोशी उच्च बाँधबारे उल्लेख छ ।

तसर्थ, परराष्ट्रमन्त्री ज्ञवालीको भनाई गलत छ ।

 

संयुक्त वक्तव्य जारी भएको मिति प्रधानमन्त्री कोशी उच्च बाँध
डिसेम्बर ६, १९९१ गिरिजाप्रसाद कोइराला उल्लेख
अक्टोबर २१, १९९२ गिरिजाप्रसाद कोइराला उल्लेख
अप्रिल १२, १९९५ मनमोहन अधिकारी उल्लेख छैन
फेब्रुअरी १७, १९९६ शेरबहादुर देउवा उल्लेख
जुन ७, १९९७ लोकेन्द्रबहादुर चन्द उल्लेख छैन
अगस्ट ३, २००० गिरिजाप्रसाद कोइराला उल्लेख
मार्च २३, २००२ शेरबहादुर देउवा उल्लेख
सेप्टेम्बर १२, २००४ शेरबहादुर देउवा उल्लेख
जुन ९, २००६ गिरिजाप्रसाद कोइराला उल्लेख छैन
सेप्टेम्बर १७, २००८ पुष्पकमल दाहाल उल्लेख छैन
अगस्ट २२, २००९ माधवकुमार नेपाल उल्लेख
अक्टोबर २३, २०११ डा. बाबुराम भट्टराई उल्लेख छैन
अगस्ट ४, २०१४ सुशील कोइराला उल्लेख छैन
सेप्टेम्बर १६, २०१६ पुष्पकमल दाहाल उल्लेख छैन
अगस्ट २४, २०१७ शेरबहादुर देउवा उल्लेख
अप्रिल ७, २०१८ केपी ‌ओली उल्लेख छैन

                                                                                                                  

सन्दर्भ–सामाग्री

अवतार सिंह भासिन, सं । २००५ । नेपाल–इन्डिया, नेपाल–चाइना रिलेसन्सः डकुमेन्ट्स, १९४७–जुन २००५, भाग–१ । नयाँ दिल्ली : गीतिका पब्लिसर्स ।

परराष्ट्र मन्त्रालय, नेपाल

विदेश मन्त्रालय, भारत

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री