पहिलो मुलुकी ऐनले लादेको छुवाछूत

सुजित मैनाली / मंगलबार, भाद्र १, २०७२

IMG_7089

बीबीसी नेपाली सेवा अन्तर्गतको ‘नयाँ नेपाल’ रेडियो कार्यक्रमसँग ३० जुलाई, २०१५ मा कुराकानी गर्ने क्रममा नेकपा एमालेका सभासद् जीतबहादुर (दर्जी) गौतमले भनेः वि.स. १९१० को मुलुकी ऐन नेपालको पहिलो कानुनका रूपमा हामी सबैले बुझ्दछौं…त्यही कानुनले जातिप्रथा (छुवाछूत) लाई प्रोत्साहित गर्ने गरी…(दलितहरूलाई) राज्यको कुनै पनि क्षेत्रमा प्रवेश निषेध (गर्‍यो), बाटोमा हिँड्न नदिने, खान राम्रो नदिने… (गर्‍यो) ।

अन्तर्वार्ता सुन्न यहाँ क्लिक गर्नुहोला ।

 यस भनाइबाट केही प्रश्न उठेका छन् ।

१. मुलुकी ऐन नेपालको पहिलो कानुन हो ?

मुलुकी ऐन नेपालको पहिलो कानुन नभई अहिलेसम्म उपलब्धमध्ये नेपालको पहिलो लिखित कानुन हो ।

२. मुलुकी ऐनले जातिप्रथा (छुवाछूत) लाई प्रोत्साहित गर्‍यो ?

जातपातमा आधारित छुवाछूतप्रथा मुलुकी ऐन–१९१० लागू हुनुअघि पनि नेपाली समाजमा थियो । सो ऐनले त्यसलाई कानुनी मान्यता दियो । यसले तागाधारी (ब्राह्मण, राजपूत, क्षत्री), मासिने मतुवाली, नमासिने मतुवाली, पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने, पानी नचल्ने छोइछिटो हाल्नुपर्ने आदि गरी कानुनी रूपमै जातका आधारमा समाजिक तह निर्धारण  गर्‍यो । एउटै अपराधका लागि भिन्न जातका मानिसलाई भिन्न दण्डको व्यवस्था पनि यसले गर्‍यो । यस अर्थमा यो ऐनले जातिप्रथा (छुवाछूत) लाई प्रोत्साहन गर्‍यो भन्ने दाबी सही हो ।

मुलुकी ऐन१९१० दलितप्रति अनुदार थियो र यसले छुवाछूतलाई कसरी प्रोत्साहन गर्‍यो भन्ने कुराका केही उदाहरणः  उपाध्याय ब्राह्मणले अर्काकी श्रीमतीको मुखमा वीर्यपात गरायो अथवा झरेको वीर्य खुवायो भने मुलुकी ऐन–१९१० ले पीडितको जात अनुसार फरक-फरक सजायको व्यवस्था गरेको थियो ।

पीडितको जात दण्ड जरिवाना
उपाध्याय ब्राह्मणी रु. ५००
राजपूत, जैसी रु. ४५०
तागाधारी क्षत्री  रु. ४००
नमासिने मतवाली रु. २५०
मासिने मतवाली रु. २००
पानी नचल्ने रु. १५०
छोइछिटो हाल्नुपर्ने रु. १००

तर, छिटो हाल्नुपर्ने जातले तागाधारी लगायत पानी नचल्ने छिटो हाल्नु नपर्नेसम्मका जातका मानिसका श्रीमतीको मुखमा वीर्यपात गरायो अथवा झरेको वीर्य ख्वायो भने मासिदिनू (दास बनाउनू) भनि ऐनले भनेको छ । छिटो हाल्नुपर्ने जातका मानिसले आफ्नै जातका मानिसकी श्रीमतीमाथि यस्तो काम गर्‍यो भने सय रुपैयाँ जरिवाना तिराउनू भनेको छ  (पेज २६२)। 

अरूको मुखभित्र पर्ने गरी थुक्दा हुने सजाय

ब्राह्मण जातको मानिसले राजपूत तागाधारी जातका मानिसको मुखभित्र पर्ने गरी थुक्यो भने पाँच रुपैयाँ, नमासिने मतवाली जातका मानिसलाई थुक्यो भने दुई रुपैयाँ, मासिने जातकालाई थुक्यो भने एक रुपैयाँ जरिवाना गराउनू, पानी नचल्ने जातकालाई थुक्यो भने दण्ड गर्नू (जरिवाना रकम उल्लेख छैन) । राजपूत तागाधारीले आफूभन्दा ठूला जातका मानिसको मुखभित्र पर्ने गरी थुक्यो भने सात रुपैयाँ जरिवाना तिराउनू । आफ्नै जातभित्रका मानिसको मुखमा पर्ने गरी कसैले थुकेमा पाँच रुपैयाँ जरिवाना तिराउनू। पानी नचल्ने जातले ठूला जातका मानिसको मुखभित्र पर्नेगरी थुकेमा २० रुपैयाँ जरिवाना तिराउनू  (पेज २६४)।

नियतपूर्वक ज्यान मार्नेलाई हुने सजाय

उपाध्याय ब्राह्मण, जैसी ब्राह्मण र तिरहुतका भट्ट देसी ब्राह्मण कसैले मानिस मार्‍यो भने ऐन बमोजिम अंश सर्वस्व गरी दामल गर्नू (बहत् नेपाली शब्दकोशका अनुसार दामलको अर्थ यस्तो छः राणाकालमा प्रचलित, कुनै ठूलो अपराधी वा विद्रोहीलाई शरीरमा ‘दामल’ तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय) । राजपूत, तागाधारी, क्षत्री, मतवाली, शूद्र जातकाले मानिस मार्‍यो भने ज्यानको बदलामा ज्यान लिनू (पेज २६७)।

छुवाछूत सम्बन्धी प्रावधान

क्रिश्चियन, मुसलमान, कामी, सार्की, दमाईं, पानी नचल्ने र छोइछिटो समेत हाल्नुपर्ने जातका मानिसले छोएको अन्न उसिनेको र भुटेको छैन र यदि यसरी छोएका सामान कुटेको, पिसेको, छोड्याको अन्न हो भने बिटुलो हुँदैन । पानी नपरेको काँचो माछामासु, तमाखु, अत्तरफुलेल गुलाफपानी, मसला, सुगन्ध आउने फलफूल क्रिश्चियन, मुसलमान, कामी, सार्की, दमाईं, पानी नचल्ने र छोइछिटो समेत हाल्नुपर्ने जातका मानिसले छोए भने पनि बिटुलो हुँदैन । यिनीहरूले छोएका यस्ता कुरा यिनीहरूलाई नछोईकन अलग बसी खाँदा हुन्छ । पानी नचल्ने र छोइछिटोसमेत हाल्नुपर्ने जातले छोएको माटाका भाँडामा पानी छ भने भाँडो बिटुलो हुन्छ । पानी नपरेको माटाको भाँडा बिटुलो हुँदैन । यदि उनीहरूले काठका भाँडा, चिनियाँ भाँडा, बोतल, सिसी छोएका छन् भने धोइपखाली सुकाएपछि चोखो हुन्छ (पेज ३५२)।

कसैले पानी र पानी परेको वस्तु पानी नचल्ने र छोइछिटोसमेत हाल्नुपर्ने जातका मानिस अथवा सुँगुरले छोएको देख्यो, तर कसैलाई भनेन र त्यसलाई तागाधारी जातले खाएपछि मात्र जाहेर गर्‍यो भने थाहा पाएर पनि नभन्नेलाई १० रुपैयाँ दण्ड गर्नु र खानेबाट गोदान लिई प्रायश्चित गराइदिनू, शुद्ध हुन्छ (पेज ३५२)।

३. मुलुकी ऐन१९१० ले दलितहरूलाई राज्यको कुनै पनि क्षेत्रमा प्रवेश निषेध गरेको थियो ?

मुलुकी ऐनमा दलितलाई राज्यका कुनै पनि क्षेत्रमा प्रवेश निषेध गरिन्छ भनेर लेखिएको छैन ।

४.मुलुकी ऐन१९१० ले दलितहरूलाई बाटोमा हिँड्न नदिनेराम्रो खान नदिने व्यवस्था गरेको थियो ?

दलितहरूलाई बाटोमा हिँड्न नदिने, खान राम्रो नदिने कुरा पनि ऐनमा उल्लेख थिएन । बरु उपाध्याय ब्राह्मण, राजपूत, जैसी र क्षत्री तागाधारीले जाँडरक्सी तथा दालचिनी, सुन्तला, अम्बा, आँप, कटहरलगायत फलफूल र जडीबुटी आदिको अरख (रक्सी) खान नपाउने व्यवस्था गरेको थियो (पेज ३५७)। साथै, ऐनले उपाध्याय ब्राह्मणलाई हाँसको मासु खान रोक लगाएको थियो (पेज ३९२)।

सन्दर्भ सामग्री

नेपाल ल कमिसनको वेबसाइटमा केही पहिलेसम्म उपलब्ध मुलुकी ऐन–१९१० लाई यहाँ मुख्य सन्दर्भ सामग्री बनाइएको छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री