माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रचण्डको सहयोग थिएन

साउथ एशिया चेक / बुधबार, जेठ ८, २०७६

तस्वीर : उज्यालो अनलाइनको फेसबुक पेजमा रहेको भिडीयोबाट

युवा संघ नेपालले २०७६ जेठ १ गते आयोजना गरेको कार्यक्रममा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमालेका नेताहरूलाई पालैपालो प्रधानमन्त्री बन्न आफूले सघाएको दाबी गरे । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले भने, ‘तपाईँहरूले मलाई के भन्नुहुन्छ ? तपाईँहरुले मलाई अस्थिर खालको मान्छे भन्नुहुन्छ कि, क्या गजबको मान्छे रछ– भएभरका एमालेका नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाउने ।’

सम्बोधनकै क्रममा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले गरेको सहयोग बारे प्रचण्डले भने, ‘कमरेड झलनाथ खनाल, उहाँ अर्को पार्टीको अध्यक्ष हुनुहुन्थ्यो । तर सबभन्दा ठूलो पार्टीको म नेता थिएँ । तर मैले के सोँचे भने आजको आवश्यकता भनेको नेकपा एमालेको झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा यो राष्ट्रको हित, राष्ट्रको पहिचान, राष्ट्रको स्वाधिनताको पक्षमा हुन्छ भन्ने मलाई लाग्यो ।’

साउथ एसिया चेकले प्रचण्डको यो भनाइ सही छ कि छैन जाँच गर्ने प्रयास गरेको छ ।

प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि माधवकुमार नेपाल संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए । यस चुनावलाई माओवादीले बहिष्कार गरेको थियो । नेपाल प्रधानमन्त्री निवार्चित हुनुभन्दा एक दिन अघि संसदमा गरेको सम्बोधनमा प्रचण्डले भनेका थिए, ‘हाम्रो पार्टीले सरकार गठनको यो नौटङ्कीको भत्सर्ना गर्दै राष्ट्रपतिको असंवैधानिक आदेश फिर्ता गरेर नागरिक सर्वोच्चता स्थापित नहुँदासम्म सदन र सडक दुबै क्षेत्रबाट शान्तिपूर्ण प्रतिवाद गरिरहनेछ ।’

प्रचण्डको यो सम्बोधनको पूर्णपाठ २०६६ जेठ ९ गतेको गोरखापत्रमा छापिएको छ ।

माधवकुमार नेपाल प्रधानमन्त्री भईसकेपछि पनि उनको सरकारप्रति प्रचण्डले असन्तुष्टि पोखेका थिए । २०६६ जेठ ११ गतेको गोरखापत्रमा ‘अमृत फलाउन खोजेको थिएँ, विषवृक्ष रोपेजस्तो भयो’ शीर्षकको समाचारमा प्रचण्डको भनाइ उद्धृत गर्दै लेखिएको छ, ‘उहाँबाट मैले अमृत फलाउन खोजेको थिएँ, तर उहाँलाई संविधानसभा सदस्य बनाउनु माओवादीलाई विषवृक्ष रोपेजस्तै भयो ।’

यसकारण प्रचण्डले एमालेका नेताहरूलाई पालैपालो प्रधानमन्त्री बन्न सहयोग गरेको दाबी माधवकुमार नेपालका हकमा गलत छ ।

२०६७ असार १६ गते माधवकुमार नेपालले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेसबाट रामचन्द्र पौडेलसँगै तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड पनि चुनावी मैदानमा उत्रिएका थिए ।

२०६७ साउन ५ गते भएको पहिलो चुनावमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा झलनाथ खनालले उम्मेदवारी फिर्ता लिएका थिए । तत्कालीन एमालेले चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो । त्यसपछि सातौँ चुनावसम्म पनि प्रचण्डले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएका थिए । बहुमतका आधारमा कुनै उम्मेदवारले आवश्यक मत ल्याउन नसक्दा २०६७ असोज १० गते आठौँ पटकको चुनावमा बल्ल प्रचण्डले उम्मेदवारी फिर्ता लिएर माओवादी पनि तटस्थ बस्ने निर्णय लिएको थियो । प्रधानमन्त्री चयनका लागि यो चुनाव १८औँ पटकसम्म चलेको थियो । अठारौँ पटकको चुनावमा कोही पनि अनुपस्थित हुन र तटस्थ बस्न नपाइने भएपछि पनि प्रचण्डले माओवादी नेतृत्वको राष्ट्रिय सरकार बनाउने पर्ने अडान राखेका थिए ।

२०६७ माघ १२ गते ‘माओवादी नेतृत्वमा मात्र सहमतिको सरकार’ शीर्षकको समाचारमा कान्तिपुर दैनिकले लेखेको छ– माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टिको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव भएको बताएका छन् । त्यसो नभए राष्ट्रिय स्वाधिनता पक्षधर नेता वा स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् ।
‘माओवादीको नेतृत्वमा मात्र सहमतिको सरकार बन्न सक्छ’, उनले मंगलबार नयाँबजार निवासमा संवाददाताहरूसँग भने, ‘संविधान सभाको ठूलो पार्टी, शान्ति प्रक्रियाको अर्को पाटो र संविधानसभालगायत एजेन्डा बोकेको हुनाले माओवादीको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव छ ।’

तर माघ २० गते भएको अठारौँ पटकको चुनावमा प्रचण्डले आफ्नो उम्मेदवारी फिर्ता लिएर झलनाथ खनाललाई सघाएका थिए ।
त्यसैले खनाललाई आफैँले प्रधानमन्त्री बनाएको दावी गर्नु सही भए पनि खनाललाई शुरुमै समर्थन गरेर प्रधानमन्त्री बनाएको भन्ने भान पर्ने दावी गर्नु चाहिँ सही छैन ।

तसर्थ एमालेका नेताहरुलाई लाईन लगाएर प्रधानमन्त्री बनाएको प्रचण्डको दाबी आंशिक रुपमा मात्र सही छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री