विदेश जाने नेपाली कामदारको संख्याबारे कमल थापा गलत

सुजित मैनाली / बुधबार, आषाढ ७, २०७४


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सगरमाथा टिभीबाट जेठ ११ गते प्रसार भएको अन्तर्वार्तामा भनेः

‘२०६२/६३ को परिवर्तनका सम्वाहकहरूको…नीति र विचारबाट देशलाई अघि बढाउँदाखेरि आज हामी कहाँ आइपुगेका छौं?…मुलुकमा आर्थिक विकास नभएको कारणले गर्दाखेरि ४० लाखभन्दा बढी नेपाली युवाहरू विदेश पलायन भएका छन्। २०६२/६३ मा आन्दोलन सुरु गर्दाखेरि करिब वर्षमा एक लाख नेपाली युवाहरू विदेश जान्थे भने अहिले १० वर्षपछि आएर हेर्दा झण्डै साढे पाँच लाख नेपाली प्रत्येक वर्ष विदेश जानुपर्ने अवस्था सिर्जना भएको छ।’

साउथ एशिया चेकले अध्यक्ष थापाका यी दुई भनाइ सही छन्/छैनन् भनि जाँचेको छ।

पहिलो भनाईः २०६२/६३ ताका हरेक वर्ष एक लाख नेपाली युवा वैदेशिक रोजगारीमा जाने गर्थे।
दोस्रो भनाईः अहिले प्रतिवर्ष साढे पाँच लाख नेपाली युवा वैदेशिक रोजगारीमा जान्छन्।

पहिलो भनाईः २०६२/६३ ताका हरेक वर्ष एक लाख नेपाली युवा वैदेशिक रोजगारीमा जाने गर्थे।
वैदेशिक रोजगार विभागका अनुसार दोस्रो जनआन्दोलन भएको वर्ष (अर्थात् २००६/०७) २,०४,५५३ जना नेपाली कामका लागि विदेश गएका थिए (गभर्निङ लेबर माइग्रेसन इन नेपाल, बन्दिता सिजापती र अम्रिता लिम्बु, पृ १५, हिमाल बुक्स, काठमाडौं)
भारत जाने नेपाली कामदारको लगत सरकारले नराख्ने भएकाले यसमा काम गर्न भारत जानेहरूको गणना छैन।

तसर्थ, थापाको यो भनाई गलत छ।

दोस्रो भनाईः अहिले प्रतिवर्ष साढे पाँच लाख नेपाली युवा वैदेशिक रोजगारीमा जान्छन्।
श्रम तथा रोजगार मन्त्रालयले २०१४/१५ मा जारी गरेको प्रतिवेदनअनुसार २०१४/१५ मा ४,९९,६२० जना नेपाली कामका लागि विदेश गएका थिए (लेबर माइग्रेसन फर इम्प्लोयमेन्ट–अ स्ट्याटस रिपोर्ट फर नेपालः २०१४/२०१५, पृ ७, श्रम तथा रोजगार मन्त्रालय)

श्रम तथा रोजगार विभागका अनुसार २०१५/१६ मा ४,१८,७१३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए (श्रम तथा रोजगार बुलेटिन, सम्पादकिय, अंक १२)। सो वर्ष नेपालमा भुकम्प गएकाले वैदेशिक रोजगारीमा जानेहरूको संख्या घटेको हो। त्यसपछिको आर्थिक वर्ष सकिन बाँकी नै रहेकाले वैदेशिक रोजगारीमा जानेको तथ्यांक आउन बाँकी नै छ।

पछिल्ला दुई वर्ष वेदेशिक रोजगारीमा जाने नेपालीको संख्या पाँच लाखभन्दा कम छ।

तसर्थ, अध्यक्ष थापाको यो भनाई बढाइचढाइ हो।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री