शहीद परिवारलाई ५० लाख दिने घोषणाबारे उपेन्द्र यादवको गलत दाबी

सुजित मैनाली / मंगलबार, फाल्गुण १५, २०७४

तस्विर: हिमालय टिभी/युट्युब

हिमालय टिभीबाट फागुन १३ गते प्रसार भएको अन्तर्वार्तामा अन्तर्वार्ताकार ऋषि धमलाले संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पछिल्लो मधेस आन्दोलनका क्रममा मृत्यु हुने व्यक्तिका परिवारलाई आन्दोलनपछि बन्ने सरकारले ५० लाख रूपैयाँ दिनेबारे आन्दोलनरत दलहरूले गरेको घोषणाबारे सोधे ।

जवाफमा यादवले भने, ‘तपाईंलाई सही कुरा भन्न आउँछ कि आउँदैन ? कम्तीमा सही कुरा भन्ने त गर्नुस् ।’

अन्तर्वार्ताकारले आफूले सही कुरा भनेको दाबी गरेपछि यादवले फेरि भने,  ‘एकदम गलत भनिरहनुभएको छ । त्यो बेला के भनिएको थियो भने १० लाख सरकारले घोषणा गरेको छ…मधेसका नेताले हामीले दिन्छौं भनेको होइन, राज्यले त्यति [५० लाख रुपैयाँ] दिनुपर्छ भनेको हो ।’

यादवको यो कुरा सही छ/छैन भनि साउथ एशिया चेकले जाँचेको छ ।

पछिल्लो मधेस आन्दोलनका क्रममा विसं २०७२ भदौ २ गते संघीय समाजवादी फोरम, नेपालसमेत आवद्ध रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले चार बुँदे निर्णय गरेको थियो । मोर्चाले बैठकका निर्णय त्यतिबेलै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो ।

बुँदा नं ४ मा अन्तर्वार्ताकार र यादवबीच भएको कुराकानीको विषय छ । सो बुँदामा भनिएको छ, ‘थरुहट/मधेसलगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरूको आह्वानमा आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारहरूलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले शहीद परिवारलाई रु. ५,००,००० (पचास लाख) आर्थिक सहयोग उपलबध गराउनका साथै शहीद परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले बहन गर्ने छ भन्ने प्रतिवद्धतासहितको निर्णय गरिएको छ ।’

प्रेस विज्ञप्तीमा यादवसमेतको हस्तक्षर छ । मोर्चाको त्यस्तो घोषणाको त्यतिबेला सर्वत्र विरोध भएको थियो ।

तसर्थ, आन्दोलनमा मृत्यु हुने व्यक्तिका परिवारलाई ५० लाख रूपैयाँ दिने घोषणा आफूहरूले गरेको छैन भन्ने अध्यक्ष यादवको भनाई गलत छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री