सबैभन्दा पिछडिएको जिल्ला सप्तरी होइन, बाजुरा हो

सुजित मैनाली / बिहीबार, मंसिर २८, २०७४

तस्विर: हिमालय टिभी/युट्युब

सप्तरीबाट संसद्मा निर्वाचित भएपछि एभिन्युज टेलिभिजन च्यानललाई मंसिर २७ गते दिएको अन्तर्वार्तामा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेः

नेपालको सबैभन्दा पिछडिएको जिल्ला, विकास निर्माणले अत्यन्तै पछाडि परेको जिल्लासप्तरी हो

साउथ एशिया चेकले अध्यक्ष यादवको यो भनाई सही छ/छैन भनि जाँचेको छ ।

कुन ठाउँ कति पिछडिएको छ भन्ने जाँच्न मानव विकास सूचकांकलाई आधार बनाउने गरिन्छ । मानव विकास सूचकांकले मानिसको औसत आयु, शिक्षा र प्रतिव्यक्ति आयका आधारमा कुनै पनि क्षेत्रको अवस्था कस्तो छ भन्ने देखाउँछ ।

राष्ट्रिय योजना आयोग र युएनडिपीले संयुक्त रूपमा तयार पारेको ‘नेपाल मानव विकास सूचकांक प्रतिवेदन, २०१४’अनुसार मानव विकास सूचकांक सबैभन्दा कम भएको जिल्ला बाजुरा हो । बाजुराको मानव विकास सूचकांक ०.३६४ छ ।

मानव विकास सूचकांक सबैभन्दा कम (अर्थात ०.४०० भन्दा न्युन) भएका नेपालका १० जिल्लामा प्रदेश नं २ का दुई जिल्ला रौतहट र महोत्तरी पनि पर्छन् । बाँकीमा बाजुरा, बझाङ, कालिकोट, हुम्ला, अछाम, जाजरकोट, रोल्पा र मुगु पर्छन् ।

सप्तरीको मानव विकास सूचकांक ०.४३७ छ । मानव विकास सूचकांक सप्तरीको भन्दा कम भएका जिल्ला नेपालमा २२ वटा छन् ।

तसर्थ, सप्तरी नेपालको सबैभन्दा पछाडिएको जिल्लामा पर्छ भन्ने अध्यक्ष यादवको भनाई गलत छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री