२०५४ सालको चुनावी नतिजाबारे झलनाथ खनाल गलत
इन्जिना पन्थी / बुधबार, चैत्र २८, २०७४

नेकपा-एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तस्विर: न्युज२४/युट्युब
नेकपा–एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले चैत २३ गते सगरमाथा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भने :
“स्थानीय निर्वाचनमा हामी लार्जेस्ट पार्टी त भयौं तर ४५ प्रतिशत मात्रै ल्यायौं, जबकि २०५४ सालमा एमालेले एक्लै लड्दा ६४ प्रतिशत ल्याएको थियो ।”
साउथ एसिया चेकले झलनाथ खनालको भनाई सही छ कि छैन भनी जाँचेको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तक अनुसार नेकपा एमालेले २०५४ को स्थानीय निकायको चुनावमा ५२.१८ प्रतिशत मत ल्याएको थियो । तर आयोगको प्रकाशनमा भएको यो आँकडा तथ्यांक होइन मिथ्यांक हो । निर्वाचन आयोगले यो आँकडा अफ्नै रेकर्डबाट नभइ २०५४ जेठ २७ गतेको गोरखापत्र दैनिकबाट लिएको हो । गोरखापत्र दैनिकले यो आँकडा दिँदा २४ हजार स्थानको मत परिणाम आउन बाँकी रहेको जनाएको थियो । निर्वाचन आयोगको प्रकाशनले चाहिँ अन्तिम परिणाम आएपछिको हो झैँ गरेर सोही मत परिणाम उद्धरण गरेको छ ।
गोरखापत्र दैनिकमा २०५४ असार १ गते प्रकाशित समाचार अनुसार २०५४ साल जेठ ३२ गते सम्म १ लाख ७८ हजार ७१३ मत गणना भइसक्दा एमालेले ५१.२२ प्रतिशत, नेपाली कांग्रेसले २९.९५ प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२.५४ प्रतिशत, सद्भावना पार्टीले १.२५ तथा स्वतन्त्र र अन्यले ५.०४ प्रतिशत स्थानमा विजय हासिल गरेका थिए ।
त्यस्तै कान्तिपुर दैनिकमा असार ४ गते प्रकाशित समाचार अनुसार १ लाख ८३ हजार ५८० स्थानको मत परिणाम आइसक्दा नेकपा एमालेले ५१.१० प्रतिशत, नेपाली कांग्रेसले ३०.०७ प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२.५१ प्रतिशत, नेपाल सद्भावना पार्टीले १.२४ प्रतिशत तथा स्वतन्त्र र अन्यले ५.०७ स्थान हासिल गरेका थिए ।
मत गणना गर्न बाँकी सबै स्थानमा एमालेले जित्दा पनि ५३ प्रतिशत कटदैन् ।
त्यस्तै २०५४ असार १ गते आयोजित पत्रकार भेटघाटमा नेकपा (एमाले) का स्थायी समितिका सदस्य केपी ओलीले स्थानीय निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढि मत पाउने आश गरेकोमा ५२ प्रतिशत मात्रै ल्याएको उल्लेख गरेका थिए । (स्रोतः कान्तिपुर दैनिक, २०५४ असार २)
त्यसैले झलनाथ खनालको दाबी गलत छ ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- साझा सरोकार उहिले निर्यात, अहिले आयात
- तथ्य जाँच २०५४ सालको चुनावी नतिजाबारे झलनाथ खनाल गलत
- तथ्य जाँच डाबर र युनिलिभरबारे कमल थापा गलत
- सञ्चार माध्यम समाचारमा नाम नखुलेका स्रोतको अनावश्यक उपयोग
- साझा सरोकार आरक्षणविनै विधायिकामा पुग्न सक्षम समुदाय
- तथ्य जाँच बाढीका कारण तराईमा खेतियोग्य जमिन घट्दो
साझा सरोकार

- आरक्षणविनै विधायिकामा पुग्न सक्षम समुदाय
- जन्म मिति फरक पर्ने अवस्था अझै छ
- संसदमा प्रत्यक्ष निर्वाचित महिलाको संख्या न्यून
- प्रतिनिधिसभामा अहिलेसम्म पाँच महिला विजयी
- चुनावी प्रतिवद्धता