कांग्रेस केन्द्रीय समिति कम्युनिस्टको भन्दा बढी समावेशी भन्ने पौडेलको दाबी गलत

सुजित मैनाली / बुधबार, साउन ३०, २०७५

तस्विर: कान्तिपुर टिभी/युट्युब

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री रामचन्द्र पौडेलले आदिवासी समुदायको एउटा संस्थाले साउन २४ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भनेः

‘नेपाली कांग्रेसको सदस्यको हैसियतले म के भन्न चाहन्छु भने कम्युनिस्ट पार्टीहरूले चर्को नारा लगाएका छन्, हामीले काम गरेका छौं…हाम्रो पार्टीको केन्द्रीय समिति कम्युनिस्ट पार्टीको भन्दा बढी समावेशी छ ।’

साउथ एशिया चेकले नेता पौडेलको यो भनाई सही छ/छैन भनि जाँचेको छ ।

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा–एमाले र एकीकृत माओवादी [जसको नाम पछि गएर नेकपा (माओवादी केन्द्र) राखियो]बीच गत जेठमा एकीकरण भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो ।

नवगठित पार्टीको महाधिवेशन भइनसकेकाले नेपाली कांग्रेस र नेकपाको केन्द्रीय समितिबीच तुलना गर्न सकिएन ।

तसर्थ, साउथ एशिया चेकले नेपाली कांग्रेसको केन्द्रीय समितिसँग पूर्व नेकपा–एमाले र पूर्व एकीकृत माओवादीको केन्द्रीय समितिको तुलना गरेको छ ।

मधेसीहरूको प्रतिनिधित्व कांग्रेसको केन्द्रीय समितिमा भन्दा पूर्व एकीकृत माओवादीको केन्द्रीय समितिमा बढ्ता थियो । त्यस्तै पहाड/हिमालका जनजाति र तराईका जनजातिको प्रतिनिधित्व पनि नेकपा–एमाले र एकीकृत माओवादीमै बढी थियो । पहाडका दलितहरू चाहिँ नेपाली कांग्रेसको केन्द्रीय समितिमा बढ्ता थिए तर तराई दलितको प्रतिनिधित्व नेकपा–एमाले र एकीकृत माओवादीमै बढी थियो ।

तसर्थ, पौडेलको यो दाबी गलत छ ।

 

 

 

नेपाली कांग्रेस

(प्रतिशतमा)

नेकपा-एमाले

(प्रतिशतमा)

एकीकृत मओवादी

(प्रतिशतमा)

बाहुन ३८.७५ ४० ३७.७४
क्षेत्री/ठकुरी २३.७५ १४.७८ १८.५४
मधेसी १० ५.२१ ११.२५
नेवार ६.२५ ६.०८ ५.२९
पहाडी/हिमाली जनजाति ८.७५ १८.२६ २०.५२
तराई जनजाति १.२५ ४.३४ ३.३१
पाहडी दलित ६.२५ ५.२१ १.९८
तराई दलित ०.८६ ०.६६
मुस्लिम २.५ २.६० ०.६६

स्रोत: नेपाली कांग्रेस; मुलुकको अनुहार  (२०१७)  

नोटः नेपाली कांग्रेसको हालको केन्द्रीय समितिसम्बन्धी विवरण नेपाली कांग्रेसको आधिकारीक वेवसाइटबाट लिइएको हो भने बाँकी विवरण ध्रव सिम्खडाको किताबबाट लिइएको हो ।

सन्दर्भ–सामाग्रीः

सिम्खडा, ध्रुव । २०१७ । मुलुकको अनुहार । काठमाडौंः हिमाल बुक्स ।

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री