अक्सिटोसिन जाँच्ने प्रविधि छैन्

इन्जिना पन्थी / मंगलबार, बैशाख १७, २०७६

कालिमाटी तरकारी बजार ।                                                            तस्वीर: इन्जिना पन्थी

बजारमा पाइने तरकारी र फलफूलमा अक्सिटोसिन हर्मोन प्रयोग भएका छन् भन्ने कुरा बेलाबेलामा सामाजिक संजालमा आइरहेका हुन्छन् । त्यस्ता कुरा भाइरल हुन्छन् ।

साउथ एसिया चेकले तरकारी र फलफूलमा यो हर्मोन प्रयोगसम्बन्धी जानकारी खोज्ने प्रयास गरेको छ ।

प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार नेपाली किसानहरुले अक्सिटोसिन  तरकारी र फलफूलमा हालेको छ कि छैन भनी परीक्षण गर्ने विधि नेपालमा छैन् । सुवेदीका अनुसार हर्मोन हाल्दा किसानलाई फाइदा हुँदैन किनभने एउटा भायलको रु. १०० देखि १५० पर्छ । हरेक बोटमा हर्मोन हाल्न झन्झटिलो पनि हुन्छ ।

तथ्यजाँच गर्ने संस्था स्नोपसले २६ जनवरी २०१८ मा यस विषयमा एउटा रिपोर्ट प्रकाशन गरेको थियो । सो रिपोर्टका अनुसार भारतीय किसानले तरकारी र फलफूलको आकार बढाउन अक्सिटोसिन प्रयोग गर्छन् भनी बेलाबेलामा सञ्चारमाध्यममा खबर आउने गरेका छन् । तर यो कति व्यापक रुपमा प्रयोग हुन्छ भन्ने कुरा अस्पष्ट छ ।

सो रिपोर्टका अनुसार किसानले फलफूल र तरकारीमा अक्सिटोसिन हाल्छन् भनी आएका सबैजसो रिपोर्ट भारत सरकारले कृषिमा हुने गैरकानुनी काम विरुद्ध कारवाही गर्ने भनी गरेको निर्णयसँग सम्बन्धित थिए । भारत सरकारको कारवाही दूध र दूधबाट बनेका सामानमा केन्द्रित थिए । तरकारी र फलफूलमा यसको प्रयोगसम्बन्धमा त्यति ध्यान दिइएको थिएन ।

सो रिपोर्टका अनुसार, तरकारी र फलफूलमा अक्सिटोसिन हाल्ने काम भारत र अन्य ठाउँमा कति ब्यापक छ भन्ने विषयमा वैज्ञानिक अध्ययन भएको छैन् ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री